केपी सिमेन्ट गुणस्तरहीन भएपछि सेनाले निर्माणाधीन भवन नै भत्कायो

काठमाडौं । ‘नेपाली चुनढुंगा, नेपाली हात, केपी सिमेन्टले दिन्छ पुस्तौं साथ’ भन्ने नारा बोकेर बजारमा आएको केपी सिमेन्टलाई अहिले सोही नाराले गिज्याइरहेको छ । केपी सिमेन्टको गुणस्तरमा प्रश्न उठेपछि सो नाराले उसलाई गिज्याएको हो ।

पछिल्लोपटक नेपाली सेनाको आवासीय भवन निर्माण गर्ने क्रममा उक्त सिमेन्टको गुणस्तरमा प्रश्न उठेपछि सेनाले आफ्नो निर्माणाधीन भवन नै भत्काएको छ । काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुण्डेस्थित नेपाली सेनाको २६ नम्बर वाहिनीको आवासीय भवन निर्माण गर्ने क्रममा केपी सिमेन्ट गुणस्तरहीन रहेको तथ्य फेला परेको छ ।

नेपाली सेनाको उक्त भवन निर्माण गर्न ब्राइट डायना जेभीले ठेक्का पाएको थियो । ठेकेदार कम्पनीले भवन निर्माण गर्न प्रयोग गरेको केपी सिमेन्ट गुणस्तरहीन भएपछि निर्माणाधीन उक्त भवन सेनाले भत्काएको छ ।

सैनिक भवन निर्माण गर्न प्रयोग भएको केपी सिमेन्टका कुनै बोरामा ३३ ग्रेड, कुनैमा ग्रेड मेटिएको र कुनैमा ग्रेड नै उल्लेख नभएका बोरा फेला परेका थिए ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।