थुक्क यो पनि चोर रहेछ भन्ने मौका दिन्नः लिङदेन

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी पंक्ति र जनताले गरेको विश्वासमा धोका नहुने बताएका छन् ।

काभ्रेको भकुण्डेवेशीमा मंगलबार आयोजित कार्यक्रममा उनले जनताले आफूमाथि गरेको विश्वास धोकामा परिणत हुन नदिने बाचा गरे । लिङदेनले आगामी ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनबाट ठूला भनिएका दलहरुलाई बिदा गर्नुपर्ने उल्लेख गरे ।

ती दलका कारण मुलुक पछिल्लो तीन दशकयता बन्धक बन्दै आएको उनको भनाइ थियो । उनले आगामी निर्वाचनमा आफ्नो दललाई जिताउन अपिल गरे । पटकपटक असफल भएका भ्रष्ट नेतालाई नभई यसपटक राप्रपाका उम्मेदवारलाई जिटाउन लिङदेनले आग्रह गरे ।

आफू सबै प्रकारका अग्नि परीक्षामा खरो उत्रिएर आएको भन्दै उनले निष्ठा र संस्कारको राजनीतिक संकल्पका साथ अघि बढेको दाबी गरे । लिङदेनले भ्रष्टाचार गरेर खानु आमाको रगत चुसेर खाए सरह हुने उल्लेख गरे ।

‘एक रूपैयाँ भ्रष्टाचार गरेको कसैले प्रमाणित गरे म उसको नोकर भएर बस्न तयार छु,’ उनले भने, ‘थुक्क राप्रपा, राजेन्द्र लिङ्देन यो पनि चोर रहेछ भन्ने मौका तपाईंहरूलाई दिने छैन ।’