एकराजले दिउसै रात पारे, तनावमा पूर्वमन्त्री विमला !

काठमाडौँ – नेकपा माओवादी केन्द्र निकट वाइसियलका नेता एकराज बस्नेतले दिउसै रात पारेका छन् । लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व राज्यमन्त्री विमला कुमारी वली खत्रीलाई दिन पर्ने रकम नदिएर दिउसै रात पारेका हुन् ।

खत्रीले दाङका वाइसिएल नेता बस्नेतबाट आफूले पाउनुपर्ने रकम अझै फिर्ता नपाएको गुनासो गरेपछि बस्नेत झुट बोलेको पाइएको छ । सोही रकम उठाउन बस्नेतको घरमा जाँदा आफूमाथि कुटपिट तथा दुर्व्यवहारको आरोप लगाइएको उनको भनाइ छ ।

उनले सोही घटनापछि आफूले राज्यमन्त्रीबाट राजीनामा दिनुका साथै छानबिन समितिले प्रतिवेदन बुझाएको यतिका समय बितिसक्दासमेत रकम फिर्ता पाउन नसकेको बताइन् । पार्टीका नेताहरूलाई पनि पटकपटक फोन गरेर यस विषयमा जानकारी गराउँदा पार्टीले समेत बेवास्ता गरेको उनको आरोप छ ।

उनले भनिन्, ‘म राज्यमन्त्री भएको बेलामा बस्नेतले लगेको ६ लाख ५० हजार रुपैयाँ मैले फिर्ता पाउनु पर्ने प्रदेश सरकारले गठन गरेको छानबिन समितिको पनि निष्कर्ष छ तर त्यो रकम उठाउन कसैले सहयोग गरेका छैनन् ।’

उनले आफू अहिले आर्थिक समस्यामा रहेको पनि बताइन् । ‘मैले पाउनुपर्ने रकम दिलाइदिनुस् भनेर पार्टीका नेताहरूलाई पटकपटक सम्पर्क गरेर भनेकी छु तर नेताहरूले बेवास्ता गरे,’ उनले भनिन् । जेठ ३१ गते तत्कालीन स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री वली दाङको तुलसीपुरस्थित बस्नेतको घरमा पुगेपछि विवाद सतहमा आएको थियो ।

छानबिन समितिले प्रतिवेदन नबुझाउँदै राज्यमन्त्री पदबाट राजीनामा दिएकी वली हाल राजनीतिमा पनि त्यति सक्रिय देखिन्नन् । पार्टीले नै आफूलाई बेवास्ता गरेको भन्दै उनले कसैले सम्पर्क नगरेका कारण घरमै बसिरहेको बताइन् ।