मेरो भाइ १० कठ्ठा जमिनमा हलो जोत्छ, राजदूत छैन: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नातावादको पक्षपोषक नभएको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो भाइलाई राजदूत वा सांसद बनाउने कुनै मनसाय नरहेको बताएका हुन्।

‘मेरो भाइ राजदूत हुन खोज्यो, फलानो कमिटीमा जान खोज्यो भन्ने सुन्नुभएको छ। मेरो भाइ १० कठ्ठा जमिन लिएर हलो जोतेर बसेको छ,’ उनले भने।

आफूले भाइ, बहिनी श्रीमती वा सालोप्रति कुनै पदका निम्ति मरिहत्ते नगरेको उनले बताए। एमालेभित्र टिकट वितरणमा कुनै विभेद नहुने ओलीले प्रतिवद्धता जनाएका छन्।

‘एमालेभित्र टिकट वितरण क्षमतावानलाई हुनेछ। योग्यता पुगेकाहरूले टिकट पाउनेछन्। कसैप्रति भेदभाव हुनेछैन,’ उनले भने।

एमाले सन्तुलित र दीगो विकासका एजेन्डा लिएर चुनावमा अघि बढ्ने ओलीको भनाइ छ।

ओलीले बिरामी भइहाले उपचार गराउने पैसा आफूसँग नभएको पनि बताएका छन्।

आफूले व्यक्तिगत सम्पत्ति राज्यलाई दिएको उनले बताए।

‘मैले आफ्नो व्यक्तिगत सम्पत्ति राज्यको सम्पत्ति भनेर पास गरिदिएको छु,’ ओलीले भने, ‘म देशका लागि समर्पित छु।’

उनले आफू र श्रीमती बाँचुन्जेल घरमा बस्न पाउने बताए। ओलीको घर भक्तपुरस्थित बालकोटमा छ।

‘अहिले पनि त्यो घर म बेच्न पाउँदिनँ,’ उनले भने, ‘बन्धकी राख्न पाउँदिनँ। बेचेर खर्च चलाउन सक्दिनँ। बिरामी भएँ भने तपाईंहरूले उपचार गराउनुभयो भने कुन्नी, नत्र मसँग पैसा छैन।’

उनले सांसद भएकोले केही पैसा भने आउने बताए।

‘घर बेचेर उपचार गर्छु भन्ने पनि छैन, घर दान गरिसक्या छ। दान गर्‍या बेच्न मिल्दैन,’ ओलीले भने।

उनले आफू युवाहरू जत्तिकै सक्रिय रहेको पनि बताए।

‘म युवाभन्दा कम सक्रिय छैन। मसँग बसेर काम गर्ने युवा मेरो साथमा रहँदा थाक्छन् म थाकेको छैन,’ ओलीले भने ।