यो सरकारको भर परे बालेन असफल र काठमाडौं बर्बाद हुन्छ: योगेश भट्टराई

नेकपा एमालेका सासंद योगेशकुमार भट्टराईले काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) शाह यो सरकारको भर परे असफल हुने र काठमाडौं बर्बाद हुने दावी गरेका छन्।

आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद भट्टराईले यो सरकारको फोहोर व्यवस्थापनमा हुति नभएको बताउँदै बालेनलाई यो सरकारको भर नपर्न सुझाव दिएका हुन्।

उनले नेकपा एमालेसँग फोहोर व्यवस्थापनको भिजन दृष्टिकोण भएको बताउँदै एमालेमा आए पुर्ण साथ र समर्थन हुने बताए।

‘काठमाडौंका मेयर बालेनलाई भन्छु, आउनुहोस् ठोस प्रस्तावसहित। नेकपा एमालेसँग त्यो भिजन छ, दृष्टिकोण छ। नेकपा एमाले पूर्ण क्षमताका साथ तपाईंलाई सहयोग गर्न तयार छ,’ सांसद भट्टराईले भने, ‘यदि तपाईं यो सरकारको भर पर्नुभयो भने तपाई‌ं असफल हुने निश्चित छ। काठमाडौंको बर्बादी हुने छ।’

भट्टराईले काठमाडौंको फोहोर १४ दिनसम्म नउठेको इतिहास भएको तर यो पटक ७१ दिन कटेको स्मरण गराउँदै काठमाडौंको फोहोरले झाडापखाला हैजा निम्त्याएको उल्लेख गरे। यो सरकारले कुनै पहल कदमी गर्न नसक्ने आरोप लगाउँदै भट्टराईले यो सरकारलाई ध्यानाकार्षण पनि नगर्ने बताए।