हाम्रो पार्टीमा पनि व्यक्तिवादी महारोग सर्‍याे : नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबै दलभित्र व्यक्तिवाद महारोगको रूपमा रहेको बताएका छन् । आफ्नो पार्टीमा पनि पद र पैसाका निम्ति व्यक्तिवादी महारोग सरिसकेको नेपालको भनाइ छ ।

पार्टी केन्द्रीय कार्यालयमा बिहीबार स्कुल विभागले गरेको कार्यक्रममा उनले भने, ‘व्यक्तिवादको महारोग हाम्रो पार्टीमा, नेपाली समाजमा, नेपालको कम्युनिस्ट आन्दोलनमा र समग्र नेपालको राजनीतिमा व्याप्त छ ।’

उनले व्यक्तिवादमा फसेको व्यक्तिले पद र पैसाका निम्ति गुटबन्दी गर्ने, स्वार्थको परिपूर्तिका निम्ति बार्गेनिङ सुरु गर्ने भन्दै उनले यसबाट छुटकारा पाएर भिन्दै मान्छे बनाउन जरुरी रहेको जिकिर गरे । ‘मबाट सुरु हुने व्यक्तिवाद व्याप्त छ । यसले पाउनका लागि जस्तोसुकै कुकर्म गर्न थाल्दछ,’ उनले भने, ‘सिद्धान्त र आदर्शप्रति समर्पित हुने भावना राख्नुपर्दछ । सबै तहका समस्याका खोजी गर्नुपर्दछ ।