६० प्रतिशत विद्यार्थीमा भाइरलको प्रकोप देखिएपछि विद्यालय बन्द

सोलुखुम्बु । विद्यालयका ६० प्रतिशत विद्यार्थीमा भाइरलको प्रकोप देखिएको जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानीमा सञ्चालित ज्वालामाई आधारभूत विद्यालय बन्द गरिएको छ ।

केही दिनदेखि विद्यार्थीहरूमा ज्वरो र रुघाखोकीको प्रकोप अत्याधिक रूपमा फैलिएपछि विद्यालय व्यवस्थापन समितिको निर्णयमा दुई दिनका लागि विद्यालय बन्द गरिएको विद्यलायका प्रधानाध्यापक कृष्णबहादुर मगरले जानकारी दिनुभयो ।

भाइरल भएका विद्यार्थीमा ज्वरो, रुघाखोकी र वान्ताजस्ता लक्षण देखिएको प्रधानाध्यापक मगरले बताउनुभयो । उनीहरूको हेरचाह गर्न र विद्यार्थी निको भएपछि मात्रै विद्यालय पठाउन विद्यालय प्रशासनले आग्रह गरेको छ ।