प्रधानमन्त्रीलाई एकीकृत समाजवादीका नेताको प्रश्नः देशको सीमाना कति मिचियो भन्न सक्नुहुन्छ?

नेकपा (एकीकृत समाजवादी) का नेता जगन्नाथ खतिवडाले देशको सीमाना सुरक्षित छ वा छैन भन्ने कुरा प्रधानमन्त्रीले नै भन्न नसक्ने बताएका छन्।

बुधबार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेता खतिवडाले देशको चार किल्ला कहाँ छ भन्ने कुरा कुनैपनि नेतालाई थाहा नरहेको बताए। उनले मेची र महाकाली सीमाना भनिरहँदा त्यसबीचका कति भूभागमा अतिक्रमण भएको छ भन्ने बारेमा सबै अन्जान रहेको बताए।

उनले प्रधानमन्त्री, राजनीतिक दलका नेता र पार्टी अध्यक्षले देशको ठिक सीमाना भन्न सकेको दिन सच्चा देशभक्त ठहरिने बताए। उनले देशमा आफ्नै नागरिक शरणाथी बनेर बस्नुपर्दा समेत राज्यसत्ता मौन र निःशब्द रहेको बताए।

उनले भने, ‘केही समयअघि मैले एउटा पार्टीको अध्यक्षलाई सोधेको थिएँ, के तपाईलाई मेरो देशको चार किल्ला ठ्याक्कै यो ठाउँमा हो भन्ने थाहा छ ? भनेर सोधेको थिएँ। आज मैले फेरि हाम्रो चार किल्ला मेची र काली त भन्यौँ तर मेची र काली भित्रको भूभाग पक्का हाम्रो छ भन्ने ग्यारेन्टी छ ? देशका प्रधानमन्त्रीले त्यो भन्न सक्नुहुन् ? राजनीतिक दलका नेताहरुले, पार्टीका अध्यक्षहरुले त्यो भन्न सक्नुहुन्छ ? म पूर्ण विश्वस्त छु, सक्नुहुन्न। देशको यो भूभाग यहीँ छ भनेर देखाइदिए सबै नेताहरु त्यही दिन देशभक्त र क्रान्तिकारी ठहरिनेछन्। आफ्नै नागरिकहरु देशभित्र शरणार्थीको रुपमा बस्न बाध्य छन् तर राज्य सत्ता मौन छ। निःशब्द छ।’

उनले सीमानामा काँडेतार लगाउनुभन्दा पहिला देशका राजनेता र राजनीतिक दलहरुले मस्तिष्कमा काँडेतार लगाउनुपर्ने बताए।