महँगो शुल्क लिने विद्यालयविरुद्ध झनै कठोर बनेर निस्किए हर्क साम्पाङ, उत्रिए एक्सनमा !

धरान – धरानका निजी विद्यालयहरूले महँगो शुल्क लिएको जनगुनासो आएपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ एक्सनमा उत्रिएका छन् । साम्पाङले जनताको गुनासो सुनुवाई गर्दै धरानका केही निजी विद्यालयहरूको अनुगमन गरेका छन् । धरान–१५ मा रहेको के के इन्टरनेश्नल स्कुल, विष्णु मेमोरियल स्कुलमा धरान उपमहानगरपालिकाको शिक्षा महाशाखा, अभिभावक सङ्घ र सञ्चारकर्मीहरूसहित मेयर अनुगमनका लागि पुगेका थिए ।

पछिल्लो समय धरानका केही निजी विद्यालयहरूले अभिभावकको ढाड सेकिने गरी शुल्क लिएको भन्ने जनगुनासो आएपछि आफू विद्यालय अनुगमनमा निस्किएको मेयर साम्पाङले बताए । के के इन्टरनेश्नल स्कुल बिदा भएकोले त्यहाँ विद्यालयका केही कर्मचारी र पदाधिकारीहरुसँग भेटेर विद्यालयको अवस्थामा बुझेका थिए ।विद्यालयका पदाधिकारी र कर्मचारीहरूसँग छोटो छलफल पछि मेयर साम्पाङ धरान ९ मा रहेको विष्णु मेमोरियल स्कुल पुगेका थिए । स्कुलमा पुग्दा विद्यार्थीले मेयर आफ्नो स्कुलमा आएको देखेर एकाएक खुसीले कराएका थिए ।

विष्णु मेमोरियल बोर्डिङ स्कुलमा भने कक्षा सञ्चालन भइरहेकोले विभिन्न कक्षाहरूको अवलोकन गरिएको थियो भने कम्प्युटर ल्याबको समेत अवलोकन गरेका थिए । विद्यालयका पदाधिकारीहरुसंग विद्यालयले महँगो शुल्क लिएको जनगुनासो आएकोले आफू विद्यालयमा अनुगमनमा निस्किएको मेयर साम्पाङले बताए । यसैगरी लक्ष्मी सडकमा रहेको युरेका स्कुलको पनि मेयर अनुगमनमा पुगेका थिए । त्यहाँ पनि विद्यालयमा परीक्षाको लागि बिदा भएकोले विद्यार्थी भने भेटिएनन् । विद्यालयका केही पदाधिकारीहरूले मेयरलाई विद्यालयको बारेमा जानकारी दिएका थिए ।

निजी विद्यालयको अनुगमन पछि संचारकर्मीहरुसँग मेयर साम्पाङले प्रतिक्रिया दिँदै भने, ‘अव देखि नियमित धरानका सबै विद्यालयहरूको अनुगमन हुनेछ । यहाँ निजी विद्यालयहरूले महँगो शुल्क लिएको, विद्यालय र पसले बिच कमिसनमा विद्यालयले तोकेको पसलमा मात्रै खरिद विक्री गर्नुपर्ने जस्ता सिण्डकेट लागु गरिएको र स्कुल बसमा विद्यार्थीलाई क्षमता भन्दा बढी कोचेर विद्यार्थी बोक्ने गरेको लगायतको जनगुनासो आएपछि स्थानीय सरकारको हैसियतमा विद्यालय अनुगमन गरिएको हो ।’

धरानका निजी विद्यालयहरू मात्रै होइन अव सरकारी विद्यालयहरूमा पनि नियमित अनुगमन गर्ने मेयर साम्पाङको भनाई थियो । निजी विद्यालयहरूको बारेमा व्यापक जनगुनासो आएपछि धरान उपमहानगरपालिकाले आउने आइतबार धरान उपमहानगरपालिका, निजी विद्यालयका सञ्चालकहरू र प्याव्सन, एन प्याव्सनका पदाधिकारीहरू बिच छलफल गरेर अघि बढ्ने बताइएको छ ।