छानबिनको सर्वसम्मत प्रतिवेदन नआउने

काठमाडौं : तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेटमा बाहिरियालाई प्रवेश दिएको विषयमा गठित छानबिन समितिले प्रतिवेदन लेखन सकेको छ। समितिमा रहेका एमाले सदस्यहरूका अनुसार उनीहरूले फरक मत राख्ने भएका छन्।

पूर्वअर्थमन्त्री शर्मालाई चोख्याउने सत्तापक्षीय सांसदहरूको प्रस्ताव देखिएकाले आफूहरू त्यसमा सहमत हुन असमर्थ रहेको उनीहरूले बताए। रिकभर भएको भनिएको सीसीटीभी फुटेजमा कुनै दृश्य प्रस्ट थिएन। त्यो र बयान दिनेका कुरालाई आधार मानेर समितिको बहुमतले ‘प्रमाण नभेटिएको’ प्रतिवेदन तयार गरेको छ।

समितिका सभापति लक्ष्मणलाल कर्णले अहिलेसम्म जुटेको प्रमाणलाई नै पुगेको आधार मानेर प्रतिवेदन बनाइएको बताए। ‘सबै अर्थ मन्त्रालयका मान्छेलाई बुझेका छौं। खाली सीसीटीभी फुटेज मात्रै आधार मानेनौं। चिठी पत्राचार भएकै छ। अर्थ मन्त्रालयका कर्मचारीको बयान, पूर्वअर्थमन्त्री शर्माको बयान लियौं। करिब २२ जनाबाट सोधपुछ तथा बयान लिएपछि प्रतिवेदन लेखिएको हो,’ सभापति कर्णले भने, ‘बैठक समाप्त भयो । प्रतिवेदन लेखन पनि सम्पन्न भयो। अब शुक्रबार सभामुखले दिएको समयमा प्रतिवेदन बुझाउँछौं।’

उनले प्रतिपक्षबाट नोट अफ डिसेन्ट आउँछ भने त्यो पनि राखेर प्रतिवेदन बुझाउने बताए।

प्रमाणै नखोजी प्रमाण नभेटिएको प्रतिवेदन समितिले बनाएको छ। एमालेले अहिलेसम्म भएका छानबिन अधुरो र अपुरो भएको भन्दै थप छानबिन हुनुपर्ने माग राखेको थियो। कल डिटेल, लोकेसन ट्र्याक, आरोपीसँग बयान, प्रधानमन्त्रीसँग सोधपुछ, सीसीटीभीमा देखिएको गाडीको विषयमा अनुसन्धान गर्नुपर्ने एमालेको माग थियो।

समिति सदस्य प्रदीप ज्ञवालीले औपचारिक रूपमा छानबिन टुंगिएको बताए। ‘औपचारिक रूपमा छानबिन सकियो, तर सर्वसम्मतिको स्थिति भएन,’ उनले भने।