एसईई नतिजा छानबिन हुनुपर्छ : सांसद पन्थ

‘विद्यालयले मूल्यांकन गर्दा जीपीए ४ ल्याउने ९ हजारभन्दा बढी थिए । बोर्डले परीक्षा लिँदा ४२ जना मात्रै भए । किन यस्तो भयो ?’
काठमाडौँ — राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले एसईईको नतिजा छानबिन गर्नुपर्ने बताएका छन् । बिहीबार राष्ट्रिय सभा बैठकको शून्य समयमा पन्थले विद्यालयले मूल्यांकन गर्दा ४ जीपीए ल्याउने ९ हजार जनाभन्दा बढी र परीक्षा बोर्डले मूल्यांकन गर्दा ४२ जना मात्रै हुनुले पनि नतिजा विश्वसनीय नभएको बताएका हुन् । बोर्डको नतिजा ठीक कि विद्यालयको नतिजा ठीक भन्ने प्रश्न उठेको उनले बताए ।

उनले परीक्षामा कमजोर ग्रेड ल्याउनेहरूलाई सरकारले अध्ययनबाहेक के अवसर दिन्छ भनेर प्रश्न गरे । ‘विद्यालयले मूल्यांकन गर्न जीपीए ४ ल्याउने ९ हजार बढी थिए । बोर्डले परीक्षा लिँदा ४२ जना मात्रै भए । किन यस्तो भयो ? कहाँ, किन र कसरी यो फरक परेको हो ? ४२ जनाले ल्याउने ठिक हो कि ९ हजार बढीले ल्याउने ठीक हो कि, विद्यालय ठीक हो कि, बोर्ड ठीक हो भन्ने कुराको छानबिन अनुसन्धान पनि होस्,’ उनले भने ।
कमजोर ग्रेड ल्याउनेहरूलाई सरकारले कस्ता अवसर दिन्छ भन्दै प्रश्न गरे । उनले भने, ‘बेरोजगार बढाउने हो कि ? पासपोर्ट थमाउने हो कि ? सीप, तालिम, प्रविधि के छ ? शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

यसपालिको एसईईको नतिजा विगत पाँच वर्षयताकै कमजोर देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजाअनुसार ४ लाख ९५ हजार ७ सय ५१ परीक्षार्थीमध्ये ४२ जनाले मात्रै जीपीए ४ मा ४ ल्याएका छन्, जुन संख्या कोरोना महामारीअघि (२०७४ र २०७५) को भन्दा पनि कम हो । समान परीक्षा किसिम र मूल्यांकनको ग्रेडिङ पद्धति हुँदा २०७४ मा ७४ जना र २०७५ मा १ सय ६ जनाले जीपीए ४ ल्याएका थिए ।

कोरोना महामारीका बेला विद्यालयले नै मूल्यांकन गरेकाले एसईईमा जीपीए ४ प्राप्त गर्ने विद्यार्थीको संख्या अस्वाभाविक रूपमा धेरै थियो । २०७७ मा ८ हजार ४ सय ४४ जना र २०७६ मा ९ हजार ३ सय १९ जनाले जीपीए ४ ल्याएका थिए ।