आज सुनको भाऊ ह्वात्तै बढ्यो !

काठमाडौं, साउन १२ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको छ। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ८ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ पनि ९४ हजार ३ सय रुपैयाँमा पुगेको छ। चाँदीको भाउ पनि बिहीबार प्रतितोला ३० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११८५ रुपैयाँमा कारोबार भइरहेको छ।

बुढ्यौलीमा एसइई उत्तीर्ण
म्याग्दी, १२ साउन । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ । विसं २०७८ को एसइईउत्तीर्ण गरेका बेनीको उज्यालो वैकल्पिक विद्यालयमा अध्ययन गरेका तीन जना प्रौढहरूले इच्छाशक्ति भएमा शिक्षा हासिल गर्न उमेर बाधक नहुने सन्देश दिनुभएको हो। बैसठ्ठी वर्षीया रेणुदवी मल्लले १.८६, ५१ वर्षीया योगमाया गौतमले १.५५ र ४३ वर्षीया दिलशोभा पुनले २.१० जिपिए ल्याएर यसपालिको एसइई उत्तीर्ण हुनुभएको विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो ।

जलजला गाउँपालिका–३ वारीबेनीका मल्लले कक्षा ५ पढ्दा आमाको निधन भएपछि विद्यालय छाड्नुभएको थियो । “आमाको निधन भएपछि भाइबहिनी साना भएकाले पढ्न पाएको थिइनँ”, उहाँले भन्नुभयो, “सामाजिक सङ्घसंस्थामा काम गर्दा पढाइको आवश्यकता महसुस गरेर उज्यालो विद्यालयमा पढेर एसइईमा सहभागी भएको थिए । सफल भएँ खुसी लागेको छ ।”वारीबेनीको आमा समूह र विभिन्न उपभोक्ता समितिमा रहेर काम गर्नुभएकी मल्लले साथी भएमा माथिल्लो कक्षाको अध्ययनलाई निरन्तरता दिने बताउनुभयो । उज्यालो वैकल्पिक विद्यालयबाट दोस्रो समूहमा पाँच जनाले फारम भरेकामा तीन जना सहभागी भएका थिए ।

विभिन्न कारणले बीचैमा पढाइ छाडेका औपचारिक शिक्षाबाट बञ्चित प्रौढहरूलाई १० कक्षासम्मको शिक्षाको अवसर दिलाउन विसं २०७३ देखि वैकल्पिक विद्यालय सञ्चालन भएको थियो । गत वर्ष सो विद्यालयबाट नौ जना प्रौढ महिलाले एसइई उत्तीर्ण भएका थिए ।

विद्यालयमा अध्ययनरत आमाहरूले अङ्क अक्षर चिन्न, लेख्न पढ्न नसक्दा मोबाइल चलाउन, कतै जाँदा ठाउँ चिन्न र भेला बैठकमा सहभागी हुँदा हस्ताक्षर गर्न ल्याप्चे लगाउनुपर्ने समस्याबाट मुक्ति मिलेको बताएका छन् । हाल ४० जना अध्ययनरत विद्यालयमा सात जना सहजकर्ता छन् । मासिक रु ७५ हजार खर्च हुने विद्यालय सञ्चालनका लागि बेनी नगरपालिकाले सघाएको छ । नगरपालिकाको सहयोगका अतिरिक्त दाताले पनि सहयोग गर्दै आएका छन् ।

गत वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको एसइईमा जिल्लाबाट दुई हजार २४५ सहभागी भएका थिए । बेनी –९ गलेश्वरको जडभरत शालग्राम गण्डकी संस्कृत माविबाट नौ जनाले जिल्लामै पहिलोपटक संस्कृति विषयबाट एसइईमा सहभागिता जनाएका थिए । उनीहरूले २.२५ देखि ३.० जिपिए ल्याएका छन् ।