सांसदले भनेः हामी घेराबन्दीमा परेका छौं हामीलाई बचाइयोस् गुहार..गुहार..

प्रदेश १ को नामाकरण जनमतसंग्रहबाट गर्न सांसदहरूले माग गरेका छन्। आइतबारको प्रदेसभा बैठकको शून्य समयमा बोल्दै सांसद सर्वध्वज साँवाले प्रदेशको नामाकरणको विषयले सांसदहरूको राजनीतिक जीवन नै धरापमा पर्ने अवस्था आएका कारण जनमत संग्रहबाट नाम टुंगो लगाउन माग गरे।

साँवाले एउटा पक्षले प्रदेशको नाम कोसी नराखे आगामी निर्वाचनमा हराउने धम्की दिइरहेको र अर्को पक्षले किराँत–लिम्बुवान नाम नराखे चुनावमा कोसीमै डुब्छौं भनेर धम्की दिइरहेको बताए। ‘एउटा पक्षले कोसी नाम राख नभए आगामि चुनावमा हराईदिन्छौं भनेर धम्की दिइरहेको छ’ उनले भने‘ अर्को पक्षले किराँत–लिम्बुवान नराखे चुनावमा कोसीमै डुब्छौं भन्दै धम्की दिइरहेको छ।’ साँवाले प्रदेशसभामा नामका विषयमा मत विभाजन हुँदा गोप्य नहुने भएकाले प्रदेशसभा नियमावली संसोधन गरेर गोप्य मतदानको व्यवस्था गर्न वा जनमत संग्रहबाट नामाकरणको विषय टुंगो लगाउन माग गरे।

साँवाले प्रदेशको नामाकरणका कारण आफूहरू घेरावन्दीमा परेको गुनासो गरे। उनले भने‘नामाकरणका कारण विभिन्न पक्षबाट हामी घेराबन्दीमा परेका छौं हामीलाई बचाइयोस् गुहार… गुहार….।’ प्रदेशसभाको शुन्य समयमा बोल्दै सांसद राजकुमार ओझाले स्वास्थ्य विमाको क्षेत्र खुम्च्याएर जनतालाई स्वास्थ्य सेवाबाट बञ्चीन गर्न खोजिएको गुनासो गरे।

उनले सरकारी अस्पतालबाट मात्रै स्वास्थ्य विमागरेका विरामीहरूको उपचार सम्भव नभएकाले जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य उपचारको सेवा उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारको ध्यानकर्षण गरे। सांसद जसमाया गजमेरले जनता महँगीको मारमा परेका वेला सार्वजनिक सवारीसाधनहरूले मनोमानि रुपमा चर्को भाडा असुल गरिरहेको बताइन्।

उनले सार्वजनिक सवारीको भाडा अनुगमन गर्न माग गरिन्। सांसद इन्द्रमणी पराजुलीले करार र अस्थायी कर्मचारी निकालेर स्थानिय तहहरूले अत्याचार गरिरहेको गुनासो गरे। उनले अस्थायी र करार सेवाका कर्मचारीलाई विनाकारण हटाउनु खेदजनक रहेको बताए।