माधव नेपालको आशंका- हाम्रो बुई चढेर पहिलो बनेको कांग्रेसले हामीमाथि नै बुर्कुसी मार्ने डर भो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुईतिहाइको फुर्ती देखाउनेलाई सडकमा फालेर आफूहरुले इतिहासमा कीर्तिमान बनाएको दाबी गरेका छन् ।

नेकपा एस निकट नेपाल तामाङ संघ समाजवादीको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले दम्भी र अहंकारीलाई सडकमा फालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपरेको बताए ।

नेपालले भने, ‘इतिहासमा हामीले कीर्तिमान बनायौं । दुईतिहाइको फुर्ती देखाएकालाई सडकमा फालिएको पनि देख्यौं । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनायौं । निर्वाचन भयो । निर्वाचनमा कम्युनिष्टभन्दा कांग्रेस माथि पुग्यो । चुनाव जितेपछि त्यसले पनि अहंकार देखाउन थाल्यो । अर्को दुःख थपिने हो कि भन्ने चिन्ता छ । हाम्रो बुई चढेर ठूलो पार्टी बन्ने अनि हामीलाई नै बुर्कुसी मार्ने हो कि भन्ने डर छ ।’

अध्यक्ष नेपालले आफूहरुले एमालेविरुद्ध कांग्रेसलाई साथ दिनुको कारण प्रष्ट्याउने क्रममा सोभियतकालीन रुस र चीनको सम्बन्धको उदाहरण दिए । रुस र चीन दुवै कम्युनिष्ट मुलुक भए पनि रुसलाई पछार्नुपर्ने अवस्थामा चीनले अमेरिकालाई साथ दिएको नेपालले बताए ।