देउवालाई राष्ट्रपति बनाएर आरजु र आफू प्रधानमन्त्री हुने हल्लाबारे प्रचण्डले जनकपुरबाट खोले मुख !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूविरुद्ध गलत हल्ला फैलाइरहेको बताएका छन् । केही दिनअघि भारत भ्रमणमा जाँदा दिल्लीमा आरजु देउवा र आफूबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको भनेर अफवाह फैलाइएको उनले बताए ।

शनिबार जनकपुरमा सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिँदै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् । आगामी संसदीय निर्वाचनपछि प्रचण्ड र आरजु आलोपालो प्रधानमन्त्री बन्ने र शेरबहादुर देउवालाई राष्ट्रपति बनाउने भन्ने सहमति भएको भन्दै फैलाएको हल्लामा सत्यता नरहेको उनको भनाइ थियो ।

उक्त कुरा आफूविरुद्ध भ्रम फैलाउन कुनै न कुनै गिरोहले गरेको अपराधिक हल्ला मात्र रहेको भन्दै उनले त्यस्ता अमूर्त कुरामा कुनै सत्यता नरहेको बताए ।

आफूसँग आरजूको भेट भएकोबारे प्रष्टीकरण दिँदै उनले आरजु उपचारका क्रममा दिल्लीमै भएकोले नेपाली राजदूत शंकर शर्माद्वारा आयोजित ब्रेकफास्ट मिटिङमा भेट भएको बताए । कुप्रचार गरिएजस्तो कुनै सहमति नभएले त्यस्ता वाहियात हल्लादेखि सर्तक रहन समेत प्रचण्डले आग्रह गरे ।

उनले अहिलेको सत्ता गठबन्धनभित्रका वामपन्थी दलहरू एकै ठाउँ रहनुपर्ने र एकताको प्रयास भइरहेको समेत बताए । ‘सबैबीचमा राम्रो समझदारी बनाउनुपर्छ, सकेसम्म चुनावी तालमेल नै गर्नुपर्छ । भोलि पार्टी एकताका लागि संयोजन समिति पनि बन्न सक्छ, यसबारे छलफल चलिरहेको छ,’ उनले भने ।

प्रचण्ड र नारायणकाजी सर्लाही जाँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सर्लाही जाँदै छन् । आज शनिबार सर्लाहीमा हुने पार्टी प्रवेश कार्यक्रमका लागि र कार्यकर्ता भेलालाई सम्बोधन गर्न शीर्ष नेतृत्व नै सर्लाही जान लागेको हो ।

दिउँसो बागमती नगरपालिका– ८ सोल्टीबजारमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा कांग्रेसका क्षेत्रीय सभापतिसहितका कार्यकर्ताहरु माओवादीमा प्रवेश गर्ने जनाइएको छ ।

कांग्रेसका क्षेत्रीय सभापति जबाहर कुशवाहा तथा एमालेका बागमती नगर कमिटी सचिव हरिभक्त खड्का र अन्य हजारभन्दा बढी नेता–कार्यकर्ता माओवादीमा भित्रिन लागेको बताइएको छ । उनीहरुलाई प्रचण्ड र श्रेष्ठले पार्टी प्रवेश गराउनेछन् ।

आगामी संसदीय निर्वाचनलाई लक्ष्ति गरी माओवादीले पार्टी प्रवेश कार्यक्रमहरु गरिरहेको बताइन्छ । बागमती, हरिवन र बरहथवा नगरपालिका तथा चक्रघट्ट गाउँपालिका रहेको सर्लाहीको क्षेत्र नं ३ माओवादी केन्द्रको आफ्नो बलियो आधारका रुपमा लिइन्छ ।