प्रदेशमन्त्रीलाई भेट्न कट्टु लगाएर मन्त्रालय!

काठमाडौँ – प्रदेश १ का कृषि तथा सहकारी मन्त्री झलकबहादुर मगरसँगको नेदरल्याण्डका एक ब्यक्तिको भेटघाटले चर्चा पाएको छ।

बुधबार मन्त्रालयमा भेटका लागि पुगेका नेदरल्याण्डका कृषि तथा पशु विज्ञ हाबेल क्लेंग्स्टा र मन्त्रालय पदाधिकारीको भेटले चर्चा पाएको हो।

विराटनगरमा कृषि सम्बन्धी काम गर्दै आएको एक निजी कृषि फर्ममा गाईपालनको विषयमा सेवा उपलब्ध गराउन आएका हाबेल मन्त्री मगरसँगको भेटमा अशोभनीय पहिरन(कट्टु) मा पुगेका थिए।

उनीसँगै मन्त्रालयका कर्मचारी समेत रहेका थिए। कृषि मन्त्री मगरले अनौपचारिक भेटका क्रममा उनी मन्त्रालय आएको जानकारी दिए। मन्त्री मगरले भने, ‘विराटनगरको एक निजी फर्ममा आउँदा मन्त्रालयसँग अनुभव साटासाटका लागि आउनु भएको हो। उहाँलाई मन्त्रालयमा देख्दा मलाई पनि संकोच लागेको थियो। तर, अतिथिलाई झट्ट भनिहाल्न पनि सकिएन। मन्त्रालयका कर्मचारी र उहाँ आउने विषयमा समन्वयन नभएको हो कि?’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मेयर भीम पराजुलीले जिम्मेवार ब्यक्तिको लज्जास्पद हर्कतले प्रदेश सरकारको बेइज्जत भएको बताए।

प्रदेश बलियो नभए खारेजी समेतको अभिब्यक्ति दिँदै आएका पराजुलीले विदेशी नागरिक कट्टुमा मन्त्रीसँग भेट गर्नुले निर्लज्जता प्रदर्शन गरेको बताए।

उनले भने, ‘आफनो स्तर बुझ्न नसक्नेहरुको कारण नै प्रदेशको खारेजीको माग गरेको हो। हाम्रो प्रदेशको मन्त्रीको भेट यसप्रकार हुन्छ भन्दा कस्तो सन्देश गएको छ। आफै बुझ्ने कुरा हो। मन्त्रालयले आफ्नो मर्यादा कायम राख्न नसकेको हो।’

यस विषयमा मुख्यमन्त्री मन्त्रालयका प्रवक्ता उद्धवप्रसाद रिजालले मन्त्रालयभित्र पहिरनको विषयमा समन्वय गर्दै सबैलाई जानकारी गराउने बताए। संघीय सरकारका मन्त्रालय प्रवेशका लागि मुलद्धारमा रोकिने गरिएको भएपनि ‘पहुँच र भेटि हालुँ न’ भन्ने प्रकृतिबाट सहजता खोजिँदा कमीकमजोरी हुने गरेको उनको भनाइ छ।

‘सार्वजनिक स्थानमा हुने भेटमा कसरी प्रस्तुत हुने सबै जानकारी नै हुनुपर्ने हो। तरपनि यसविषयमा मन्त्रालयमा पनि हामी कुरा गर्नेछौँ,’ प्रवक्ता रिजालले भने।

मन्त्रालयले यस भेटलाई अनुभव आदानप्रदानको रुपमा लिएको जनाएको छ। यद्धपी, विदेशी नागरिक मन्त्रालयमा पुग्दा कुन अवस्थामा पुग्ने र कस्तो अवस्थामा भेट गर्ने हेक्का समेत मन्त्रालयले राख्न नसकेको देखिएको छ।

मन्त्रालयमा हाबेलको पहिरनलाई लिएर आपत्ति नदेखिएको मन्त्रालयका एक कर्मचारीले बताएका छन्। उनले भने, ‘भेटघाट औपचारिक थियो। तर विदेशीले मन्त्रीलाई भेट्न आउँदा मर्यादा कायम राख्न नसकेको हो। र मन्त्रालय आफैँ पनि यसप्रकारको घटनामा जिम्मेवार रहन नसकेको हो। अशोभनीय पहिरनमा मन्त्रालयकै गरिमालाई असर पुराउने देखिन्छ।’ हाबेल नेदरल्याण्डको पुम नामक संस्थाबाट केहीसाता अघि नेपाल आएका हुन्।

कृषि तथा पशुको विषयमा अनुसन्धान र अनुमगनका लागि उनीसँगै तीनजना छन् जसमध्ये हावेल विराटनगर आएका हुन्।