शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई कारवाही, आखिर किन ?

काठमाडौं ३० असार । नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पार्टीलाई एकतावद्ध भएर लैजान सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् । पार्टीको जारी केन्द्रिय समितिको बैठकमा आ-आफ्नो धारणा राख्ने क्रममा नेता केसीले यस्तो सुझाव दिएका हुन् ।

गठबन्धन गर्ने, नगर्ने भनेर विभाजित हुन नहुने बताएका कांग्रेस एक हुनुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री समेत रहेका सभापति देउवाले पार्टी मिलाएर लैजान आग्रह गरेका उनले भने, गठबन्धन गर्ने, नगर्ने भनेर विभाजित नहौं । कांग्रेस एक हुनुपर्छ । सभापतिजीले पार्टी मिलाएर लैजानुस् ।

गठबन्धन भएका ठाउँमा स्वतन्त्र उठेका र असहयोग गरेकालाई कारबाही गर्ने हो भने सबैभन्दा पहिला शेरबहादुरजी र रामचन्द्रजीलाई गर्नुपर्ने केसीले बताएका छन् ।

उनले भने ‘जहाँसम्म चुनावमा असहयोग गरेकालाई कारबाही गर्ने कुरा पनि उठेको छ । गठबन्धन भएका ठाउँमा स्वतन्त्र उठेका र असहयोग गरेकालाई कारबाही गर्ने हो भने सबैभन्दा पहिला शेरबहादुरजी र रामचन्द्रजीलाई गर्नुपर्छ । किनभने उहाँहरूले नै हामीलाई अन्त भोट हाल्न सिकाएको हो ।’