रन्जु दर्शनाको यस्तो कदमले मच्चियो राजनीतिमा हलचल !

२०७४ को स्थानीय तह निर्वाचनमा निकै चर्चामा रहेकी पात्र हुन्, रञ्जु दर्शना । नेपालका परम्परागत दलीय एकाधिकारलाई भत्काइ राजनीतिमा नयाँ वैकल्पिक शक्ति स्थापित गर्न २०७० मा विवेकशील नेपालीबाट राजनीतिमा आएकी थिइन् ।

०७४ को स्थानीय तहमा विवेकशीलबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएपछि दर्शना निकै चर्चामा आएकी थिइन् । त्यतिबेला युवामाझ निकै लोकप्रिय रहेकी दर्शनाले मेयर पदमा परम्परागत पार्टी एमाले र कांग्रेस उम्मेदवारसँग दरिलो प्रतिस्पर्धा गरिन् ।

उनले २३ हजार ४३९ मत पाएकी थिइन् । तर राजनीतिक दृष्टिकोलाई लिएर पार्टीभित्र अध्यक्ष रविन्द्र मिश्र र संयोजक मिलन पाण्डेबीच अन्तर्विरोध उत्कर्षमा पुगेपछि गत पुसमा उनले पार्टीबाट राजीनामा दिएकी थिइन् । त्यसयता स्वतन्त्र भूमिकामा रहेकी दर्शना आगामी मंसिरमा हुने संघीय निर्वाचनमा काठमाडौं ५ बाट निर्वाचन लड्ने तयारी गरेकी छन् ।

सोमबार नेपालवाचसँग कुराकानी गर्दै दर्शनाले भनिन्– ‘अहिलेसम्म पार्टीमा फर्किने मेरो कुनै योजना छैन । अन्य पार्टीमा जाने मानकिसकता बनाएको पनि छैन । म स्वतन्त्र भूमिकामा छु । स्वतन्त्र रूपमा क्षेत्र नम्बर ५ बाट आफ्नो उम्मेदवारी दिने विषयमा तयारी गरिरहेको छु ।’

काठमाडौंका स्थायी बासिन्दा रहेकी उनी आफूले जित्ने अठोटकासाथ निर्वाचनमा भाग लिने तयारी गरिरहेको बताइन् ।

‘क्षेत्र नम्बर ५ मेरो घरेलु क्षेत्र हो । मेरो मतदाता नामावली पनि यही छ । आगामी निर्वाचनमा यसै क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गर्ने मेरो तयारी छ’, उनले भनिन्, ‘मेरो अहिलेसम्मको चिनेजानेको सबै जना यही क्षेत्रको हुनुहुन्छ । हार्छु भनेर कोही पनि चुनाव लड्दैन । बाँकी आम मतदाताको छनोटको विषय हो ।’

स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारले सानदार विजय हाँसिल गर्नु राम्रो सन्देश भएको उनले टिप्पणी गरिन् ।

‘दलहरूबाट जनता आजित भएका छन् । दलका नेताले राम्रा उम्मेदवार छनोट गरेनन् । हाम्रोलाई मात्र प्राथमिकता दिए । हामी आफैं सक्षम उम्मेदवार छान्छौं । दलको ज्यादती धेरै सहन्नौं भन्ने ठूलो सन्देश दिएको छ’ उनले भनिन् ।

उनले दलहरूले आफ्नो लोकप्रियता घट्ने डरले प्रणाली बलियो बनाउन नखोजेकोसमेत आरोप लगाइन् । ‘माथिको ‘सिस्टम’ नै कमजोर बनायो भने आफ्ना मतदाता स्थानीय जनता नेतालाई गुहार्न बाध्य हुन्छन् । त्यसो भएपछि उनीहरूको भोट सुरक्षित रहन्छ । जानाजान नेताहरूले कमजोर ‘सिस्टम’लाई बलियो बनाउन नखेजेका हुन्’, उनले भनिन्, ‘समाजमा आफ्नो एक खालको प्रभुत्व कायमै रहोस् भनेर नेताहरूले कमजोर मेकानिजमलाई कायमै राख्न खोज्छन् । यसलाई तोड्नुपर्छ ।’

दर्शनाले पार्टी नेतृत्वले आफ्ना सुझाव मनन नगरी एकलौटी ढंगले अगाडि बढ्न खोजेपछि आजित भएर पार्टीबाट राजीनामा दिएको बताइन् । आगामी चुनावी एजेण्डा र पार्टीको विषयमा विस्तृत योजना बनाएर पछि प्रेसमिट गर्ने बताइन् ।

अध्यक्ष मिश्रले पाण्डे समूहमाथि अनुशासनहीन गतिविधि गरेको आरोप लगाउँदै पार्टीबाट निष्कासन गरेका थिए । अध्यक्ष मिश्र जनआन्दोलनपछि प्राप्त उपलब्धिलाई समाप्त पार्नेगरी पार्टीलाई एकलौटी ढंगले सञ्चालन गरेको आरोप पाण्डे समूहको छ ।

नीति र नेतृत्वबीच गुट र उपगुटका कारण छिन्नभिन्न भएको विवेकशील साझाले स्थानीय तह निर्वाचनमा नमिठो हार व्यहोरेपछि नैतिकताको आधारमा मिश्रले पदबाट राजीनामा दिएका थिए ।

यस्तो थियो दर्शनाले सात महिना अघि अध्यक्ष मिश्रलाई लेखेको पत्र

आदरणीय अध्यक्ष रवीन्द्रजी, सम्पूर्ण जिम्मेवार सदस्य साथीहरू,

वि।सं। २०७० बाट सुरू भएको राजनीतिक यात्रामा कैयौं उताव–चढावहरू आए जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको छ । तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा मैले अधिकतम ढोंग पाएँ ।

संघीय गणतान्त्रिक लोकतन्त्र देश नेपालमा वैकल्पिक राजनीतिको मूल चारित्र नै दुर्ग न्धित बनाएर भैरहेका सम्पूर्ण कदम , व्यवहारले आगामी दिनका नयाँ पुस्तालाईसमेत नविनतम सोच बोकेर नेपाली राजनीतिमा आउन बाधा एवम् विश्वासको खडेरी खडा गर्ने अवस्थाको सिर्जना भएको छ ।

मेरो लागि यो भन्दा दुःख लाग्ने कुरा अन्य छैन । म राजनीतिमा सके सफा गर्छु नसके फोहोर गर्दिनँ भन्ने अठोटका साथ आएको व्यक्ति हुँ । वैकल्पिक राजनीतिक पार्टीको खोल मात्र ओढेको विवेकशील साझा पार्टीमा म आफ्नो समय, ऊर्जा, विद्धता, भावना, आर्थिक केही पनि कुरा प्रदान गर्न असमर्थ छु ।

तसर्थ यसै इमेल र पत्रमार्फत् सदाका लागि यस पार्टीसँगको यात्रामा पूर्णविराम लगाउने निर्णयमा पुगेको छु ।

तपाईं सबैको मनमा शान्ति, मुहारमा कान्ति छाइराखोस् ।