खोलावारी घर छ, मन्त्री क्वार्टर ओगटेर रामकुमारी पुल्चोकमै

काठमाडौँ – निवर्तमान शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको आफ्नै घर शंखमूलमा छ । तर उनले पद छोडेको झण्डै एक साता बितिसक्दा पनि पुल्चोकस्थित सरकारी निवास छोडेकी छैनन् ।

झाँक्रीले क्वार्टर खाली नगरिदिँदा गत सोमबार शहरी विकास मन्त्रीका रूपमा शपथ लिएका मेटमणि चौधरी शंखमूलस्थित डेराबाटै सिंहदरबार आउजाउ गरिरहेका छन् । ‘भेटघाट गर्न, सवारी राख्न समस्या परेको छ’, चौधरीले भने ।

मन्त्री चौधरी आज दाङ पुगेका छन् । आफू भोलि काठमाडौं फर्किने भएकाले आजै बेलुकासम्म झाँक्रीले क्वार्टर खाली गरिदिने विश्वास उनले व्यक्त गरे । झाँक्रीको सचिवालयले भने घर मर्मत गर्नुपरेकाले सरकारी निवासबाट सर्न ढिलाई भएको बताएको छ ।

‘डेरामा बस्ने निवर्तमान मन्त्रीहरूलाई त झट्टै सर्न समस्यै होला तर उहाँको त घरै छ, ढिला नगरिदिएको भए हुन्थ्यो’, मन्त्री चाैधरीका एक सहयाेगीले भने ।

झाँक्री र चौधरी दुवै नेकपा एकीकृत समाजवादीका नेता हुन् । १२ असारमा मन्त्रिपरिषद् हेरफेर हुँदा झाँक्रीकाे ठाउँमा समाजवादीले चाैधरीलाई पठाएकाे हाे । मन्त्रालयमा आयाेजित बिदाइ कार्यक्रममा झाँक्रीले आँखाबाट आँसु झारेकी थिइन् ।