बाबुरामले जुराए नयाँ पार्टीको नाम, चुनाव चिन्ह के ?

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ पार्टी गठन गर्ने भएका छन् । अध्यक्ष उपेन्द्र यादवसँग सहमतिमै विभाजित हुने निर्णय भएसँगै भट्टराईले नयाँ पार्टी खोल्ने भएका हुन् ।

भट्टराई निकट एक नेताका अनुसार डा. भट्टराईले बुधबार साँझ उपेन्द्र यादवलाई बोलाएर पार्टी फुटाउने प्रस्ताव राखेका थिए। उक्त प्रस्ताव यादवले स्वीकार गरेको र अब सहमतिमा छुट्न दुवै पक्ष तयार भएको ती नेताले जानकारी दिए ।

सिंहदबारमा भएको छलफलमा भट्टराईले वैकल्पिक शक्ति बनाउने उद्देश्यका साथ पार्टी एकता गरेको र त्यसलाई संगठनात्मक स्वरुप दिन नसकेकाले अब सहमतिमा छुट्नुपर्ने भन्दै प्रस्ताव गरेपछि यादवले छुट्न सहमत भएको एक नेताले जानकारी दिए ।

एक नेताका अनुसार जसपा पार्टी उपेन्द्र यादवसँग रहने भएको छ। जसपा पार्टी र चिन्ह नपाएपछि भट्टराईले नयाँ पार्टी खोल्ने भएका हुन् । पार्टी विभाजन हुने भएपछि कतिजना सांसद भट्टराईको पक्षमा उभिने र कति जना यादवको पक्षमा उभिने भन्ने निश्चित भएको छैन।

उपेन्द्र पक्षका एक नेताका अनुसार सांसदहरू महिन्द्र राय, राजकिशोर यादव र अमृता अग्रहरी बाबुरामसँग जान सक्ने अनुमान गरेको छ । बाबुराम भट्टराईले खोल्ने नयाँ पार्टीको नामसमेत जुराईएको भट्टराई निकट एक नेताले नेप्लिज टाईम्सलाई बताए । उनका अनुसार भट्टराईको नयाँ पार्टीको नाम ‘नेपाल समाजवादी केन्द्र’ राख्ने मोटामोटी सहमति भएको छ ।

तर अहिले नै यहि नाम अन्तिम हो भन्ने नरहेको र पार्टीको नामबारे अझै छलफल भइरहेको उनले बताए । पार्टीको नाम समाजवादी केन्द्र राख्नेबारे सबै नेताहरुको एकमत रहेको र सम्भवतः ‘नेपाल समाजवादी केन्द्र’ नै रहने उनको भनाइ छ ।

यस्तै बाबुराम भट्टराईको नयाँ पार्टीको चुनाव चिन्हबारे पनि छलफल भइरहेको छ । धेरैजसो नेताहरुले नयाँ शक्ति पार्टीको ‘आँखा’ चुनाव चिन्ह राख्नुपर्ने सुझाव दिएका छन् । तर, यो चुनाव चिन्ह अर्कैले लिएको हुन सक्ने भएकोले यहि वरिपरि रहेर चुनाव चिन्ह राख्नेबारे छलफल भइरहेकाे ति नेताले बताए ।

भट्टराई र उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) आन्तरिक विवादका कारण फुट्ने निश्चित भएसँगै भट्टराईले नयाँ पार्टी गठनका लागि केही दिनभित्रै राष्ट्रिय भेला बोलाउने तयारीसमेत गरेका छन् ।

यस्तै जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई उपेन्द्र यादवसँगै रहने भएका छन् । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पार्टी छाडेपनि अशोक पक्ष उपेन्द्रसँगै रहने अशोक निकट एक नेताले बताए ।

‘अशोक सर उपेन्द्रसँगै रहनुहुन्छ । बाबुराम सर तत्कालिन नयाँ शक्तिको टिम लिएर जानुहुन्छ’ ति नेताले भने,‘नयाँ शक्ति बाहेक तत्कालिन संघीय समाजवादी फोरमको सिंगो टिम जसपामै रहन्छ ।’