रेणुले बालेनलाई समेत पछि पारिन्

भरतपुर – पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारकै सदस्य भएका कारण आलोचित हुदै आएकी भरतपुर महानगरकी मेयर रेणु दाहालले दोस्रो कार्यकालमा पनि राम्रो कामको छनक दिएकी छन् । रेणुले रेकर्ड बनाएकी हुन् ।

काठमाडौं महानगर लगायत सबै महानगरलाई उछिन्दै नगरसभाबाट आगामी आर्थिक बर्षको बजेट पास गर्ने पहिलो महानगरपालिका बनाएर रेणुले रेकर्ड बनाएकी हुन् । भरतपुरले सभा सुरु भएको दुई दिनमै नीति तथा कार्यक्रम र बजेट पास गर्ने पहिलो महानगर बनेको छ ।

भरतपुरले शुक्रबार सुरू भएको एघारौं नगरसभा नगर प्रमुख रेनु दाहालद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपप्रमुख चित्रसेन अधिकारीद्वारा प्रस्तुत ५ अर्ब ७४ करोड बराबरको बजेट पारित गर्दै आइतबार नगरसभा सम्पन्न भएको छ ।

नगरसभाले आर्थिक वर्ष ०७९–८० को बजेट अनुमोदनसँगै आर्थिक, विनियोजित विधेयक पारित गरेको छ । सो अवसरमा कार्यपालिकाका बैठकले गरेका निर्णयलाई परिमार्जनसहित अनुमोदन गरिएको छ ।

सभामा बोल्दै प्रमुख रेनु दाहालले महानगरपालिकामा राजनैतिक भेदभाव नहुने प्रतिवद्धता व्यक्त गरिन् । सबै जना जनप्रतिनिधिको एक मात्र उद्देश्य र संकल्प भनेको महानगरको विकास मात्रै भएकाले पार्टीगत राजनीतिबाट अलग रहनुपर्ने बताइन् ।

महानगरमा रहेका सबै समस्यालाई सबै जनप्रतिनिधिले समाधानको लागि सधै सल्लाह सुझाव ग्रहण गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त पनि गरिन् । अहिले वडामा रु २ करोड ५० लाखका दरले बजेट विनियोजन भएपनि समग्रमा २९ वटै वडामा बाँकी बजेट खर्च हुने बताइन् ।