रवि लामिछाने स्वतन्त्रबाट नउठ्ने

काठमाडौं । लोकप्रिय सञ्चारकर्मी रवि लामिछानेले आफ्नो राजनीतिक यात्राबारे घोषणा गर्न कार्यक्रम राखेको एकदिन अघि नै विभिन्न सूचनाहरु बाहिरीएका छन् । रविका दाई तथा सञ्चारकर्मी हरिशरण लामिछानेले आफ्ना भाईबारेका सूचना चुहाएका हुन् ।

सञ्चारकर्मी हरिशरण लामिछानेले इच्छुक स्वतन्त्र उम्मेदवारहरूको अलाइन्स बनेको घोषणा गरेका छन्। भाइ रविलाई उछिनेर हरिशरणले एकदिन अगाडि स्वतन्त्रको अलाइन्स घोषणा गरेपछि त्यसको चर्चा पाएको छ। रवि लामिछानेले पनि राजनीतिमा आउने घोषणा गर्दा आगामी संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकाहरूसँग पनि कुरा गरिरहेको र सबैलाई लिएर अघि बढ्ने बताएका थिए।

हरिशरणले सोमबार ‘स्वतन्त्रहरूको तर्फबाट’ प्रेस नोट जारी गर्दै आफू काठमाडौं–३ बाट, रन्जु दर्शना काठमाडौं–५, पुकार बम काठमाडौं–१ र सुमन सायमी काठमाडौं–८ बाट चुनाव लड्ने घोषणा गरेका छन्। उनले काठमाडौं बाहिर पनि अलाइन्सका उम्मेदवार उठ्ने बताएका छन्। विश्व साइकल यात्री पुष्कर शाह दोलखाबाट चुनाव उठ्ने उनले दाबी गरेका छन्।

प्रेस नोटमा रवि लामिछानेका बारे कुनै चर्चा गरिएको छैन। रविले राजनीतिमा आउँदा स्वतन्त्रहरूलाई जोड्ने बताएका थिए। उनले भनेका थिए– एक्लै स्वतन्त्र जाने सोच छैन। बरू भएका स्वतन्त्रहरूलाई जोड्ने योजना बनाउँदैछु। तीन दशक रेडियो नेपालमा काम गरेर राजीनामा दिएका हरिशरणले अब आफू सक्रिय राजनीतिमा होमिएको बताए। स्वतन्त्र उम्मेदवारी दिन चाहनेहरू एकै क्षेत्रमा नदोहोरिउन भनेर स्वतन्त्रहरूको सञ्जाल बनाएर छलफल गर्न थालिएको लामिछानेले बताए।

‘काठमाडौं–३ मा मैले उम्मेदवारी दिन्छु। आफू बसेकै ठाउँबाट उम्मेदवारी दिऔं भन्ने हो,’ लामिछानेले भने, ‘को कहाँबाट उठ्ने भनेर हामीले पटकपटक सामूहिक छलफल पनि गरेका छौं।’ उनको मतदाता नामावली काठमाडौं क्षेत्र नम्बर ३ मा छ। स्वतन्त्र रूपमा उम्मेदवारी दिन चाहनेहरूले यही असार १७ र १८ मा राष्ट्रिय भेला गर्ने उनले बताए। उनले आफू बहुदलीय राजनीतिक पार्टीहरू विरूद्ध भने नउभिएको बताए।

‘कुनै पेशामा लागेको व्यक्तिले अहिले फ्याट्ट एउटा पार्टीमा प्रवेश गरेर केही प्रगति हुन्न कि भनेर स्वतन्त्र रूपमा लागेका छौं,’ उनले भने, ‘राजनीतिमा अनेक सम्भावना हुन्छ। भोलि कसैले हामीलाई निर्वाचन क्षेत्र छाड्न पनि सक्छन्, हामी पार्टी खोल्न पनि सक्छौं। चुनाव आउन पनि समय छ।’ हरिशरण सुरूमा काभ्रेबाट चुनाव उठ्न चाहेका थिए। तर उनले काभ्रेभन्दा काठमाडौं–३ मै उठ्ने निर्णय गरेको बताए।

भाइ रवि पनि यही क्षेत्रमा चुनाव लड्ने चर्चाबारे भने आफूलाई जानकारी नभएको हरिशरणले बताए। भाइसँग आफूले यसबारे कुराकानी गरेको हरिशरणले बताए। ‘भाइसँग हिजो पनि मैले छलफल गरेको हुँ। ऊ कहिले स्वतन्त्र उठ्छु, कहिले पार्टी खोल्छु भन्छ,’ उनले भने, ‘दाजुभाइ एकै क्षेत्रमा त भिड्ने होइन। सल्लाह भइहाल्छ। तर स्वतन्त्र सञ्जालमा अहिले ऊ आउन मानेको छैन। उसले पार्टी खोल्यो भने स्वतन्त्र हुने कुरा पनि भएन। उसका कुरा मलाई धेरै थाहा पनि हुँदैन।’

हरिशरणले भाइ रविले फिल्मी शैलीमा राजनीति गर्न खोजेको थिए। ‘राजनीति भनेको अर्कै क्षेत्र हो। सबै कुरा सोचविचार गर्नुपर्छ। उसले त अपर्झट टिभी छोडेको छ। फिल्मी शैलीले त राजनीति होलाजस्तो मलाई लाग्दैन,’ उनले भने। उनका अनुसार रविले पार्टी खोल्न सक्छन्।

‘मैले काठमाडौं–३ भाइलाई छोड्नुपर्ने हो भने त्यहीअनुसार भन्नुप¥यो,’ उनले भने, ‘मैले स्वतन्त्र सञ्जालमा कोर्डिनेसन गरिरहेको छु। यो भोलि पार्टी बन्न पनि सक्छ। पार्टी बन्यो भने युवाहरूलाई प्रत्यक्ष उम्मेदवार बनाएर म समानुपातिकमा पनि बस्न सक्छु।’

स्थानीय चुनावबाट काठमाडौं, धरान र धनगढीमा स्वतन्त्रले जितेकोले एउटा मुभमेन्ट आएको बेला देशभर कम्तीमा ८÷१० ठाउँमा युवाहरूले स्वतन्त्र रूपमा उम्मेदवारी दिनुपर्छ भनेर आफूहरूले तयारी गरिरहेको हरिशरण बताउँछन्। ‘स्वतन्त्र उम्मेदवारीले धेरै कुरामा असर पार्छ। जनताका आवाज बोल्न पनि यसले सहयोग पु¥याउँछ भन्ने हो,’ उनले भने। असार १७ र १८ मा भेला गरेर जिल्ला–जिल्लाका मानिसलाई पनि स्वतन्त्र सञ्जालमा जोड्ने उनले बताएका छन्।

‘हामीले कस्ता मुद्दा उठान गर्ने भनेर राष्ट्रिय भेला गर्न लागेको हो,’ उनले भने। राष्ट्रिय भेला प्रत्यक्ष प्रसारण गरिने पनि उनले बताएका छन्। उनले स्वतन्त्र उम्मेदवारीको चर्चा चलेसँगै विभिन्न पार्टीबाट अफरसमेत आउन थालेको दाबी गरेका छन्।

हरिशरणले घोषणा गरेको अलाइन्समा सुमन सायमी पनि छन्। सायमी गएको स्थानीय चुनावमा काठमाडौं महानगरको मेयरमा उठेका थिए। नेपाल भाषा, संस्कृति र यहाँका रैथानेहरूको भूमि संरक्षणसम्बन्धी मुद्दामा लामो समयदेखि आन्दोलन गर्दै आएका सायमीले काठमाडौंको मेयषरमा १३ हजार ७ सय ७० मत ल्याएका थिए।