मेयर बालेनलाई आरजुको प्रश्न- रूटिन अफ नेपाल बन्दलाई कतिमा ‘हायर’ गर्नुभयो? (भिडिओ)

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रूटिन अफ नेपाल बन्दलाई पैसा तिरेर चुनावी प्रचार गरेको दाबी गरेकी छन्।

बालेनले रूटिन अफ नेपाल बन्दलाई कन्सल्टेन्सीका रूपमा प्रयोग गरेको आरजुको भनाइ छ।

सोमबार पोखरामा नेपाल तरूण दलले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी आरजुले स्वतन्त्रहरूले एउटा-एउटा गुण पहिचान गरेर जित्न सफल भएको बताइन्।

‘अहिले जति पनि स्वतन्त्रले जितेका छन् नि, उनीहरू एउटा-एउटा गुण पहिचान गरी नेता बनेका हुन्,’ उनले भनिन्, ‘म ओपन्ली त भन्न चाहन्न, तर सोसल मिडिया रूटिङ अफ नेपाल बन्द बालेनले कतिमा ‘हायर’ गर्नुभयो?’

स्वतन्त्र उठेर जितेकाहरूले कस्तो काम गर्छन् त्यो हेर्न बाँकी रहेको उनले बताएकी छन्।

‘उनीहरूको काम कस्तो हुन्छ हेर्न बाँकी छ,’ उनले भनिन्, ‘अहिले त स्वतन्त्र उम्मेदवारी दिने लहर नै छ। पत्रकार पनि पत्रकारिता छाडेर राजनीति गर्न आएका छन्। हुन त राम्रो हो, रमाइलो हुन्छ विभिन्न विचार बोकेका मानिस राजनीतिमा आउँदा!’

फरक प्रसंगमा उनले प्रधानमन्त्री हुन सजिलो भए पनि काम गर्न गाह्रो भएको बताइन्।

‘उहाँ (शेरबहादुर देउवा) पाँच पटक सत्ता सम्हालिसक्नुभयो। सत्ताको कुरा के हो भने, पद पाउन सजिलो छ तर त्यहाँ बसेर काम गर्न जनतालाई भनेअनुसार काम गर्न गाह्रो छ,’ उनले भनिन्, ‘कर्मचारीतन्त्रको दुनियाँ अर्कै छ, राजनीति गर्नेको दुनियाँ अर्कै छ। मिलाउन एकदमै गाह्रो छ।’

उनले सयको स्पिडमा काम गरिहालौं भन्ने नेताको सोच भए पनि काम भने १० को स्पिडमा पनि नहुने गरेको बताइन्।

उनले प्रधानमन्त्रीलाई उठेदेखि सुत्नेबेलासम्म फुर्सद नहुने बताइन्।

‘म पदमा त बसेको छैन। मैले देख्छु कि प्रधानमन्त्री हुन पनि गाह्रो छ। उठेदेखि सुतेसम्म त्यो घोडालाई दौडाएजस्तै दौडाएको छ, दौडाएको छ,’ उनले भनिन्, ‘मिटिङ, सेमिनार, राजदूत, मन्त्री, को-को हो के हो।’

स्थानीय तहमा बसेर काम गर्न झन् गाह्रो रहेको उनले बताइन्। उनले आफूलाई सुशासनबारे चिन्ता लागेको उल्लेख गरेकी थिइन्।