मन्त्रालयले विगतमा जस्तो भ्यू टावर निर्माण योजनामा राखेको छैन : मन्त्री झाँक्री

काठमाडौं १ असार । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं उपत्यकामा चार स्याटेलाइट सहर निर्माणको योजना अगाडी नबढेको बताएकी छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सहरी विकास मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री झाँक्रीले विगतमा स्याटेलाइट सहर निर्माण गर्ने भनेर कुरा भएको तर त्यसका लागि आवश्यक काम नभएको बताएकी हुन् ।

सहर निर्माणका लागि काम गर्नुपर्ने धारणा राखेकी उनले भनिन्, ‘काठमाडौं उपत्यकामा चारवटा स्याटेलाइट सिटी बन्ने भनेको थियो कहाँ पुग्यो भन्नुभएको छ । काठमाडौं उपत्यकामा चारवटा कुनामा स्याटेलाइट सिटी बनाउने भन्ने कुरा गफ धेरै भएको थियो तर धेरै काम भएको थिएन,उत्तरपूर्वी सिसान सहर र त्यहाँको नयाँ भौतिक योजना मन्त्रिपरिषद्ले पास गर्ने प्रक्रियामा नै छ । त्यसैले यो कार्यक्रम नयाँ कार्यक्रमका रूपमा आएको छ । अरु तीनवटाको सम्भाव्यता अध्ययन जारी छ ।’

साथै, संसदमा उनले काठमाडौं उपत्यकामा निर्माण गर्ने भनिएको बाह्य रिङरोडको योजना समेत अगाडी नबढेको भन्दै जुन ठाउँमा रिङरोड बन्ने भनिएको छ त्यसमा बन्छ या बन्दैन त्यसमा पनि आशंका रहेको बताइन् ।

बाह्य रिङरोड भनेर सर्भे गरिएको स्थानमा सरकारी भवन बनेका बताएकी उनले त्यसमा अध्ययनको पुन खाँचो रहेको बताएकी छन् ।

अनुत्पादक क्षेत्रमा राज्यले लगानी गर्दैन, विगतमा जस्तो भ्यू टावर निर्माणका योजना राखिएको छैन ।