काठमाडौं क्षेत्र नम्बर १ वा ५ बाट चुनाव लड्छु, ओली र देउवालाई थर्काउन सकिन्छ : रमेश खरेल

काठमाडौँ – नेपाल सुशासन पार्टीका अध्यक्ष पूर्वडीआईजी रमेश खरेलले संसदमा जितेर जाने हो भने एक जना व्यक्तिले केपी शर्मा ओली र शेरबहादुर देउवालाई थर्काउन सक्ने बताएका छन् । खरेलले काठमाडौं क्षेत्र नम्बर १ वा ५ मध्येबाट आगामी साता प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गर्ने समेत खुलासा गरेका छन् ।

काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वडीआईजी खरेलले भने, ‘थर्काउने भनेको व्यक्तिलाई होइन, उनीहरुको दुस्साहसलाई थर्काउने हो । उनीहरुले गरेको व्यवहारलाई थर्काउने हो । उनीहरुले यो देशलाई गरेको अन्याय अत्याचारलाई थर्काउने हो ।’

खरेलले अगाडि भने, ‘हामी त्यो ठाउँ (संसद) मा गएर चेञ्ज मेकर, किङ मेकर हुने हो । हामी कहीँ पनि बिक्न सक्दैनौं । यो चाहिँ कन्फिडेन्सका साथ तपाईहरुलाई भन्छु, एकजना जाने हो भने थर्काउँछौँ । खड्गप्रसाद ओलीजीलाई थर्काउन सकिन्छ । शेरबहादुर देउवालाई थर्काउन सकिन्छ ।’

बालेनलाई छाडेँ, रञ्जु र पुकार छाड्न सक्दिनँ
पूर्वडीआईजी खरेलले काठमाडौं क्षेत्र नम्बर १ वा क्षेत्र नम्बर ५ मध्ये एक ठाउँबाट आफूले प्रतिनिधिसभामा उम्मेदवारी दिने बताए । स्थानीय चुनावमा बालेनले आफूसँग दुई तीनपटक भेटेर आग्रह गरेपछि उनलाई सघाएको खरेलले बताए ।

इनफ इज इनफका अभियन्ता पुकार बमले प्रकाशमानसिंहको चुनाव क्षेत्र काठमाडौं १ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यस्तै, रञ्जु दर्शनाले ईश्वर पोखरेलको निर्वाचन क्षेत्र काठमाडौं ५ बाट उम्मेदवारी दिने तयारी थालेकी छिन् ।तर, नयाँ पार्टी खोलेर अध्यक्ष बनेका पूर्वडीआईजी खरेलले पनि आफूलाई काठमाडौं १ वा ५ बाटै उम्मेदवारी दिन मन लागेको बताए ।

कार्यक्रममा बोल्दै खरेलले भने, ‘पुकारजीले अनाउन्स गर्नुभयो, रञ्जुजीले अनाउन्स गर्नुभयो, मैले पनि भनेको छु काठमाडौंबाट लड्छु, भ्रष्टाचारीसँग लड्छु छु । मेरो पनि जोड १ नम्बरमा छ, पाँच नम्बरमा छ । मिटिङ पोइन्ट भएन भने मैले पनि एनाउन्स गर्नुपर्ने हुन्छ ।’उनले थपे, ‘बालेनजी दुई–तीन पटक आउनुभयो, ठीक छ युवालाई दिउँ भनेर मैले छाडिदिएँ । अब अहिले त म छोड्न सक्दिनँ । रञ्जुजीलाई पनि सक्दिनँ, पुकारजीलाई पनि सक्दिनँ ।

आफ्नो राजनीति मूल्य र नैतिकतामा आधारित हुने बताउँदै खरेलले भने,‘दायाँ–बायाँ कसैलाई केही गरिँदैन, हामीले सिकेका छौँ बालेनजीबाट । एउटा संस्कार सिकेका छौँ । त्यो संस्कार यहाँ प्रयोग हुन्छ । फेरि भन्छु– मैले पनि यो हप्तामा एनाउन्स गर्नुपर्ने हुन्छ । एउटै प्लेटफर्ममा उभिऔँ, नयाँ शिराबाट जाऔँ । स्वतन्त्र उम्मेदवारलाई बोलाऔँ, बागीलाई बोलाऔँ ।

स्थानीय चुनावमा आफूले चितवन पुगेर बागी उम्मेदवार जगन्नाथ पौडेललाई सघाएको खरेलले सुनाए । उनले भने, ‘अस्ति चितवन पुगेँ । जगन्नाथ सरको घरमा गएँ । उहाँको कुरा बुझेँ । उहाँको बारेमा बोलेँ । नेपाल सुशासन पार्टीले उहाँलाई भोट दिन्छ भनेर बोल्यौँ हामीले ।

पूर्वडीआईजी खरेलले विवेकशील साझाका नेता रवीन्द्र मिश्रलाई पनि साथै लिएर अघि बढ्नुपर्ने बताए । कार्यक्रममा उनले भने, ‘लास्टमा भन्छु, नयाँ शिराबाट अगाडि बढौं । रविन्द्रजीलाई पनि लिएर जाऔं । उहाँले गलत गर्नुभएको होला, मैले पनि गलत गरें होला, रियलाइज गरौं ।’