विज्ञ टोलीले सिसडोलमा प्रदुषणको अध्ययन गर्यो, १ किलोमिटर परसम्मको पानीमा पनि प्रदुषणको मात्रा उच्च देखियो

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को विज्ञ टोलीले सिसडोलको अध्ययन गरेको छ । लिच्चड मिसिएर भएको प्रदूषणको अध्ययन डा. रवीन्द्र ढकाल, डा.टिस्टा प्रसाईँ जोशी, डा.सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठ सहितको नास्टको विज्ञ टिमले गरेको हो ।

लिच्चड मिसिनुभन्दा अगाडि, लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थान भन्दा ९२० मिटर पर गरेर ३ फरक फरक बिन्दुबाट पानीको नमुना संकलन गरेर अध्ययन गरेको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बताउनुभयो ।

सिसडोलबाट संकलित तीन वटा नमूनाहरुको तुलनात्मक अध्ययन गर्दा पानीमा प्रशस्त मात्रामा लिच्चड मिसिएको देखिएको उहाँले बताउनुभयो । स्रोतबाट १ किलोमिटर परसम्मको पानीमा पनि प्रदूषणको मात्रा उच्च देखिएको छ ।

यसबाट सो स्थानमा जलसम्बद्ध जीवजन्तुमा नकारात्मक असर परेको प्रारम्भिक अध्ययनले देखाएको छ । मेयर शाहका अनुसार विज्ञ टोलीले यो अवस्थालाई सकेसम्म चाँडो नियन्त्रण गर्न जरुरी रहेको बताउनुभएको छ ।

पानी तथा लिच्चडको पूर्ण रिपोर्ट आगामी केहि दिनमा थाहा हुने र पूर्ण रिपोर्ट प्राप्त भए पछि नास्टको टिमले नै त्यसको निरूपणको विधि पनि सुझाव गर्ने छ । नास्ट लगायत अन्य विज्ञहरूसँग समन्वय गरेर तत्कालै गर्न सकिने, मध्यमकालिन र दीर्घकालीन समाधानको बारेमा छलफल र अभ्यास गरिने उहाँले बताउनुभयो ।