मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय प्रधानमन्त्री देउवाले नसुनेपछि एमालेसँग सहकार्य गर्ने तयारीमा माधव–झलनाथ !

काठमाडौं, २३ जेठ । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउनेबारे गरेको निर्णय कार्यान्वयनमा प्रधानमन्त्री शेरबहादुर देउवा उदासिन देखिएको भन्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल आक्रोशित बनेका छन् । उनीहरु गठबन्धनबाट नै बाहिरिने र नयाँ समिकरण बनाउनेगरि छलफलमा जुटेका छन् ।

हिजो (आइतबार) एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने र उनीहरुको ठाउँमा नयाँ मन्त्री पठाउनेगरि प्रधानमन्त्री देउवासमक्ष नाम सिफारिश गरेको थियो । पार्टीको निर्णयअनुसार नयाँ मन्त्रीहरुको नाम बोकेर स्वयम अध्यक्ष माधवकुमार नेपाल नै बालुवाटार पुगेका थिए। तर, माधव नेपालको उक्त प्रस्तावप्रति प्रधानमन्त्री देउवा सकारात्मक सुनिएनन् ।

उनले अहिले मन्त्रीहरु हेरफेर गर्ने उपयुक्त समय नभएको भन्दै यो निर्णयमा पूनर्विचार गर्न सुझाए । यता, सरकारबाट फिर्ता बोलाईएका मन्त्रीहरुको पनि सक्रियता बढ्यो । उनीहरुमध्ये केहीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरे। भर्खरै संसद्मा बजेट प्रस्तुत भएको र बजेटमाथि छलफल चलिरहेको अवस्थामा कसरी सरकारबाट बाहिरिने ? भन्दै प्रश्न उठाएपछि दाहालले पनि माधव नेपाललाई अहिले यो कदमबाट पछि हट्न सुझाएका थिए।

आज विहान त फिर्ता बोलाईएका भनिएका मन्त्रीहरु नै प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगेका थिए । उनीहरुले देउवालाई तत्काल मन्त्रीहरु हेरफेर नगर्न आग्रह गरेको पाईएको छ। यसमा प्रधानमन्त्री देउवा पनि सकारात्मक सुनिए । उनले ती मन्त्रीहरुलाई तत्काल यस्तो कुनै निर्णय नहुने भन्दै काममा फर्कन निर्देशन दिएका थिए । आज विहानमात्रै बालुवाटारमा सत्ता गठबन्धनका प्रमुख घटकहरु कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेताहरु छलफलमा बसेका थिए ।

सो बैठकमा पनि मन्त्रीहरु हेरफेर गर्ने समाजवादीको प्रस्तावबारे छलफल भएको थियो । त्यसमा प्रधानमन्त्री देउवा र प्रचण्डले अहिले मन्त्रीहरु फेर्न हतारो नगर्न सुझाव दिएका थिए । माधव नेपाल यसमा कन्भिन्स भएपनि पार्टीका सम्मानित नेता झलनाथ खनाल भने सहमत भएनन् । उनले गठबन्धनको सरकार भएकोले सरकार गठबन्धनको मर्म र भावनाअनुसार चल्नुपर्नेमा जोड दिए ।

उनले आफ्नो पार्टीले गरेको निर्णयअनुसार मन्त्रीहरु हेरफेर नगरे गठबन्धनबाट अलग्गिने र एमालेसहितको नयाँ समिकरण बनाएर जानेसमेतको चेतावनी दिएका छन् ।हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा कांग्रेस इमानदार नदेखिएको भन्दै अध्यक्ष नेपालसहित समाजवादीका शीर्ष नेताहरु नै असन्तुष्ट छन् । पछिल्लो समय खनालले त वाम एकताको कुरा उठाउन थालेका छन् ।

गठबन्धनभित्र विवाद चुलिरहेको र पार्टीले गरेको निर्णय कार्यान्वयनमा प्रधानमन्त्री देउवा उदासिन देखिएसँग नेपाल–खनाल अहिले एमालेसहितको नयाँ समिकरण बनाउनेतर्फ अग्रसर देखिएका छन् । यसको लागि एमाले र एकीकृत समाजवादीका दोस्रो तहका नेताहरु पनि सक्रिय भएका छन् । गठबन्धनभित्र असन्तुष्टि र विवाद चुलिएको मौका छोपेर उनीहरु आगामी संघीय संसद्को निर्वाचनलाई लक्षित गरेर नयाँ समिकरण बनाउनेतर्फ सक्रिय भएका छन् ।