मन्त्री भन्दा पहिला पार्टी छोड्छौ भन्दै १८ जना सांसदको नाम लिष्ट बोकेर किसान श्रेष्ठ कोटेश्वर पुगेपछि…

शेरबहादुर देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउँन नेकपा एमाले विभाजन गरेर बनेको नेकपा एस छोटो समयमै भताभुंग हुने अवस्थामा पुगेको छ ।

देउवालाई प्रधानमन्त्री बनाउँन आफुले प्रमुख भूमिका खेलेको भनेर पटक पटक बोल्दै आएका एस पार्टीका अध्यक्ष माधव कुमार नेपाल आफ्नै पार्टी भित्र दयनिय अवस्थामा पुगेका छन् । पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई फिर्ता बोलाउँनको लागी उनले गरेको निर्णय २४ घण्टा नबित्दै अलपत्र बन्न पुगेको छ ।

आइतबार बसेको एस पार्टीको सचिवालय बैठकले सरकारमा मन्त्री भएका विरोध खतिवडा , प्रेम आले , किसान श्रेष्ठ र रामकुमारी भाँक्रीलाई फिर्ता बोलाउँने निर्णय गरेको थियो तर अध्यक्ष नेपालले सचिवालय बैठकबाट गराएको निर्णय कार्यान्वयन हुन सकेन ।

मन्त्री पदकै लागी एमाले फुटाएको आरोप लाग्ने गरेका एस पार्टीका नेताहरुले माधव नेपाललाई पनि दबाव दिएर मन्त्री पद बचाउँन सफल भएको चर्चा चलेको छ । जम्मा २४ सांसद रहेको एसका १८ जना सांसदहरुले पार्टी निर्णयलाई चुनौती दिँदै बिद्रोहको चेतावनी दिए पछि मन्त्री फेर्ने निर्णयबाट माधव नेपाल व्याक भएको खबर छ ।

मन्त्री फेर्ने निर्णयबाट सबैभन्दा धेरै फायर भएका श्रम मन्त्री किसान श्रेष्ठले एस पार्टीका अध्यक्ष माधव कुमार नेपालसँग भेट गरि निर्णय प्रति आपत्ती जनाएका थिए । बजेटबारे उठेका प्रश्नको जवाफ समेत दिन नपाइ हटाउँन खोजिएको भन्दै विद्रोह गर्ने चेतावनी उनले दिएका छन् ।

श्रेष्ठले अध्यक्ष नेपाललाई आफुहरुको पक्षमा १८ सांसद रहेको हिसाब देखाउँदै जबर्जस्ती मन्त्रीबाट हटाएमा कडा कदम उठाउँने चेतावनी दिए पछि नेपला झस्किएको खबर छ । प्रधानमन्त्री देउवाले समेत मन्त्री फेर्ने एस पार्टीको निर्णय अस्विकार गरे पछि माधव नेपाल माथी गम्भिर नैतिक संकट उत्पन्न भएको छ ।

आफूहरूले राम्रो काम गरेकाले अहिले नै पदबाट हटाए १८ सांसद लिएर फेरि एमालेमै फर्किने समेत चेतावनी दिएका छन् । आफूहरुसँग कुनै सल्लाह नै नगरिकन सरकारबाट फिर्ता बोलाउने निर्णय गरेकोमा उनीहरु नेतृत्वसँग असन्तुष्ट बनेका हुन् । मन्त्री बनाउँदा खुशी भएर अध्यक्ष नेपालको गुणगाण गर्नेहरु अहिले उनै नेपालसँग भने फायर बनेका छन् । उनीहरु उस्तै परे विद्रोह गर्नेसम्मको तयारीमा पुगेका छन् ।

मन्त्रीबाट फिर्ता बोलाइएका र नयाँ मन्त्रीका लागि सिफारिश गरिएकाहरुको अलग समूह बनिसकेको छ । माधव नेपाल र झलनाथ खनाललाई आले र श्रेष्ठलगायतका नेता तथा सांसदले चुनौती दिइरहेका छन् । विरोध खतिवडा पनि यही समूहमा छन् ।