जुही चावलालाई पनि गएको थियो ‘ह्रस्व दीर्घ’को अफर, हरिहरको ‘आमा’ बन्न गरिन् १ करोडको डिमान्ड !

काठमाडौं । अभिनेत्री नीता ढुंगानाको महत्त्वाकाङ्क्षी प्रोजेक्ट ‘ह्रस्व दीर्घ’ मा एकपछि अर्को दक्षिण भारतीय कलाकारहरू जोडिँदै छन् ।

गजनीका खलनायक प्रदीप रावतपछि पुष्पाका खलनायक सुनिल बर्माको पनि यस चलचित्रमा इन्ट्री भएको छ । स्रोतकाअनुसार अझै केही नामहरू खुलासा हुन बाँकी छन् ।

त्यसो त नीताले आफ्नो चलचित्रमा बलिउडकै एक चर्चित अभिनेत्रीलाई पनि भित्र्याउने प्रयास गरेकी थिइन् । उनको यो प्रयास भने सफल भएन । ती अभिनेत्री हुन् जुही चावला ।

कुनै जमानाकी चर्चित नायिका जुहीको अहिले बलिउडमा खासै डिमान्ड छैन । तर, उनले नेपाली चलचित्रबाट अफर आउँदा भने चर्को डिमान्ड राखिन् ।

हिरोकी आमाको भूमिकामा अभिनयको प्रस्ताव गर्दा उनले झण्डै १ करोड मागेको स्रोतले बतायो ।

धान्नै नसक्ने डिमान्डपछि नीता हच्किएकी छन् । चलचित्रमा हिरोकी आमाको भूमिका शक्तिशाली भएकाले यसमा चर्चित अभिनेत्रीलाई नै खेलाउने उनको चाहना छ । अब सम्भवतः उनले नेपालकै अघिल्लो पुस्ताकी कुनै नायिकालाई अनुबन्धित गर्नेछिन् ।

ह्रस्व दीर्घ अहिलेसम्मकै महँगो बजेटमा बन्न लागेको नेपाली चलचित्र हो । यो चलचित्रको निर्माण लागत झण्डै १० करोड पुग्ने बताइएको छ ।

भारतीय कलाकारहरूलाई खेलाएर उनले आफ्नो चलचित्र भारतमा समेत प्रदर्शन गर्ने योजना बुनेकी छन् । यसमा कति सफल हुन्छिन् त्यो चाहिँ भविष्यले बताउने छ । यदि सफल भइन् भने नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरणका लागि नयाँ ढोका खुल्न सक्छ ।

चलचित्रको निर्देशन चन्द्र पन्तले गर्दै छन् । चलचित्रमा नीता र उनका रियल जोडी हरिहर अधिकारीको मुख्य भूमिका रहने छ ।