नेकपा एसका मन्त्री फेर्न प्रधानमन्त्री असहमत, पुरानैले निरन्तरता पाउने

काठमाडौँ — नेकपा एकीकृत समाजवादी (एस) ले आफ्नो पार्टीबाट सहभागी भएका मन्त्री फेर्न गरेको प्रस्ताव विवादमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नै त्यसलाई अस्वीकार गरिदिएका छन् ।

बजेटको विषयमा संसद्‍मा छलफल चल्दै गर्दा सम्बन्धित मन्त्रीलाई परिवर्तन गर्नु उचित नहुने भन्दै नेकपा एसका मन्त्रीहरुले प्रधानमन्त्री देउवासँग आग्रह गरेका थिए । यस्तै उनीहरुले आइतबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि भेटेर आफ्ना अध्यक्ष माधव नेपाललाई सम्झाइदिन दबाब दिएका थिए ।
त्यसपछि सोमबार बिहान यस विषयमा छलफल गर्न शीर्ष नेताको बैठक बोलाएका थिए । बैठकमा अहिले मन्त्री फेर्दा अन्य दलमा पनि फेरबदलको दबाब बढ्ने र त्यसले सत्ता गठबन्धनको निरन्तरतामै समस्या उत्पन्न हुनसक्ने जोखिमबारे समीक्षा भएको थियो । त्यसको असर बजेट पारित गर्ने कार्यमै पर्न सक्ने देखिएपछि तत्कालका लागि मन्त्रिपरिषद् पुनर्गठन नगर्ने निष्कर्षमा प्रधानमन्त्री पुगेका हुन् ।

बालुवाटार स्रोतका अनुसार आइतबार बिहान प्रधानमन्त्री देउवा र नेकपा एसका अध्यक्ष नेपालबीच कुराकानी भएको थियो । उक्त कुराकानीमा नेपालको आग्रहमा प्रधानमन्त्रीले सकारात्मक स‌ंकेत दिएका थिए । त्यसपछि नेपालले पार्टीको सचिवालय बैठकबाट बहालवाला मन्त्री फिर्ता बोलाई नयाँ पठाउने निर्णय गरेका थिए । त्यसका लागि चारजनाको नाम र मन्त्रालय समेत तोकेर प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

पार्टीको निर्णयपछि मन्त्रीहरुले आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई निर्णय रोक्न दबाब दिएपछि देउवा पछि हटेका हुन् । त्यसपछि सोमबार बिहान प्रधानमन्त्री देउवाले सत्तागठबन्धनको बैठक बोलाए । बैठकमा सत्तागठबन्धन र बजेटमा आउने स‌ंकट देखाएर देउवा तत्काल मन्त्री नबदल्ने निर्णयमा पुगेका हुन् ।

नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्यमन्त्री विरोध खतिवडाले बजेटको विषयमा छलफल चल्दै गर्दा मन्त्री हेरफेर अन्तराष्ट्रिय प्रचलन समेतको विपरीत हुने बताए ।

कान्तिपुरसँग कुरा गर्दै मन्त्री खतिवडाले भने संसदमा बजेटको विषयमा छलफल भैरहेको समयमा मन्त्री हेरफेर गर्ने विषयमा बजार हल्ला मात्रै भएको उल्लेख गरे । ‘बजेट अधिवेशन चलिरहेको समयमा बजेट प्रस्तुत गरेको मन्त्री परिवर्तन कुरा अन्तर्राष्ट्रिय प्रचलनभन्दा बाहिरको विषय हो । जिम्मेवारी पार्टी र नेताले यस्तो निर्णय गर्दैन’ खतिवडाले भने । खतिवडाले यस विषयमा पार्टी अध्यक्षसँग आफूहरुको कुराकानी नभएको बताए । ‘म पनि स्थायी कमिटीमा छु । रामकुमारीजी पार्टीको सचिव नै हुनुहुन्छ । कहाँ कता के भयो हामीलाई थाहा छैन’ खतिवडाले भने ।

यस्तै पर्यटनमन्त्री प्रेम आलेले पार्टीले गरेको भनिएको निर्णय अहिले कार्यान्वयन नहुने बताए । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले पनि अब पार्टीका मन्त्रीहरुले निरन्तर काम गर्ने बताए । ‘हामीले पार्टीको निर्णय नमान्ने होइन तर ८ महिना मन्त्री भएका हामीहरुसँग पनि त छलफल हुनु पर्छ होला नि ! हामीले के काम त्यस्तो गर्‍यौं र बदल्नुपर्‍यो?’ उनले भने ।

नेकपा एसको संसदीय दलभित्र हाल मन्त्री रहेका नेता र उनीहरु निकटको बाहुल्यता छ । त्यसैले मन्त्रीबाट हटाएको अवस्थामा पार्टी भित्रको सन्तुलनमै पनि खलबल हुने अवस्था छ । त्यसैले बालुवाटारमा सोमबार मन्त्री फेरबदल गर्ने निर्णय देउवाले कार्यान्वयन गर्न नमानेपछि अध्यक्ष नेपालले केही मन्त्रीहरुलाई बोलाएर छलफल गरेका छन् । छलफलमा अध्यक्ष नेपालले आफूले अन्यथा निर्णय नगरेको भन्दै काममा निरन्तरता दिन आग्रह गरेको एक मन्त्रीले बताए ।