गाेरखाका १० पालिकाका नवनिर्वाचित प्रमुखले लिए सपथ

गाेरखा- जिल्लाका १० स्थानीय तहका नवनिर्वाचित प्रमुखहरुले सथप ग्रहण लिएका छन् ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ मा गाेरखाका ९ स्थानीय तहमा निर्वाचित गाेरखा नगरपालिका, पालुङटार नगरपालिका र आठ गाउँपालिकाका प्रमुखहरुलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश दिनबन्धु बरालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

जिल्लामा निर्वाचित भइसकेका पालिकाका प्रमुखहरुमध्ये गाेरखा नगरपालिकाकाे प्रमुख कृष्णबहादुर रानामगर, पालुङटार नगरपालिकाकाे प्रमुख विवश चिन्तन, सिरानचाेक गाउँपालिकाकाे अध्यक्ष ज्ञानेन्द्र गुरूङ, अजिरकाेट गाउँपालिकाकाे अध्यक्ष दीपक देवकाेटा, बारपाक-सुलिकाेट गाउँपालिकाकाे अध्यक्ष बिष्णुप्रसाद भट्ट, भिमसेन थापा गाउँपालिकाकाे अध्यक्ष लाेकप्रसाद बन्जाराले सपथ लिए ।

त्यस्तै शहिद लखन गाउँपालिकाकाे अध्यक्ष रमेशबाबु थापामगर, गण्डकी गाउँपालिकाकाे प्रमुख दीपक तिमिल्सिना, आरूघाट गाउँपालिकाकाे अध्यक्ष राजु गुरूङ र धार्चे गाउँपालिकाकाे प्रमुख लक्ष्मण गुरूङले सथप ग्रहण लिएका हुन् ।

उत्तरी गाेरखाकाे चुमनुव्री गाउँपालिकाकाे भने केहि दिनपछि सथप हुने बताइएकाे छ । भाैगाैलिक हिसावले विकट रहेकाे चुमनुव्रीकाे शुक्रबार विहान मात्रै मतगणना सकिएकाे हाे ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत बरालले जनताको चाहना र भावनालाई शिरोपर गर्दै काम गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरे । साथै उनले नवनिर्वाचित सबै जनप्रतिनिधिलाई कार्यकाल सफलताको शुभकामना दिए ।

त्यस्तै, उपप्रमुख र उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र अन्य सदस्यले पनि पालिकामा खटिएका निर्वाचन अधिकृतबाट संयुक्तरुपमा शपथ लिएको थिए ।