यौन हिंसाका पीडकलाई अनुसन्धानको दायरामा ल्याउन गगन थापाको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सामाजिक सञ्जालमा एक युवतीले ८ वर्ष अगाडि बलात्कृत भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै अभियोग लागेको व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन सरकार समक्ष माग गरेका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापाले यस्तो माग गरेका हुन् ।

सांसद थापाले बलात्कारको घटनाको हदम्यादको सम्बन्धमा पनि पुर्नविचार गर्नुपर्ने बताए । उनले भने, ‘सम्माननीय सभामुख महोदय, हिजो साँझ घर जाँदाखेरी श्रीमती र दुईवटा साना–साना छोरीहरु सामाजिक सञ्जालमा आएको एउटा नौजवान युवतीको एउटा भिडियो जसमा ८ वर्ष अगाडी आफुलाई वलात्कार गरेको घटनाको उनले बताइरहेकी थिइन् । त्यो हेरिरहेको, त्यसको प्रतिक्रिया उनीहरुको अनुहारमा परेको, मेरो छोरी डराएको म त्यो क्षण अहिले सम्झिरहेको छु ।’

उनले थपे, ‘त्यसैले म यो विषयमा प्रवेश गर्नुभन्दा पहिला सम्माननीय सभामुखमार्फत् नेपाल सरकारलाई यत्रो विषय सार्वजनिक भइसके पछाडी तत्कालै जसलाई अभियोग लागेको छ, तत्कालै अनुसन्धानको दायरामा ल्याउनको निम्ति हार्दिक आग्रह गर्न चाहान्छु । र यही संसदबाट बनाएको वलात्कार सम्बन्धी कानून हाम्रो फौजदारी संहिताको खासगरी हदम्याद सम्बन्धी विषयको सम्बन्धमा पुर्नविचार गर्न पनि सरकारलाई निर्देशन दिनका लागि सम्माननीय सभामुखलाई हार्दिक अनुरोध गर्न चाहान्छु ।’

एक युवतीले केही दिन अघि सामाजिक सञ्जालमार्फत् आफुलाई ८ वर्ष अघि सुन्दरी प्रतियोगिताको आयोजकबाट वलात्कार भएको घटना सार्वजनिक गरेकी थिइन् । उनले सो घटनामा केही व्यक्तिहरुको संलग्नता देखाएकी थिइन् ।

उनको न्यायको लागि सामाजिक सञ्जालमा चर्को आवाजहरु आएका छन् भने पीडकलाई कानूनी दायरामा ल्याउन माग गरिएको छ । सोही विषयले आज संसदमा पनि प्रवेश पाएको हो ।