ओलीले भनेझैं चुनावका बेला लागेको होइन केशव स्थापितलाई ‘मिटु’ आरोप

कतिपयले काठमाडौं महानगरपालिकाको मेयरका लागि एमाले उम्मेदवार केशव स्थापितविरूद्ध यौन दुर्व्यवहारको आरोप उनीविरूद्ध चुनाव प्रभावित गर्ने उद्देश्यले लगाइएको भनिरहेका छन्।

‘२५ वर्षअघिको घटना, त्यति बेलै कारबाहीमा नगएर चुनावका बेला ल्याइएको’ उनीहरूको प्रतिक्रिया छ। कतिले भने आरोप प्रमाणित नभएको भनिरहेका छन्।

त्यही कुरालाई अझ बल दिँदै बिहीबार एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने, ‘मिटु कति बेला आउँछ भन्दा चुनावका बेला, चुनाव आयो कि मिटु आउँछ। यस्ता बेलामा चरित्र हत्याका कुरा आउँछन्। मिटुको के जवाफ हुन्छ? हामी यस्ता कुरामा होइन, महान् विषयमा अगाडि बढेका छौं। महिला अस्मिताको सम्मानको सन्दर्भमा एमाले जति संवेदनशील अरू कोही छैन।’

तर स्थापितमाथि लागेको यौन दुराचारको आरोप ओलीले भनेझैं चुनावका बेला लगाइएको होइन। संसारभर मिटु अभियान चलिरहेका बेला झन्डै चा रवर्षअघि दुई महिलाले उनीमाथि यौन दुर्व्यवहारको आरोप लगाएका थिए। आफ्नो जीवनकालमा आफूमाथि भएका यौन दुर्व्यवहारदेखि बलात्कारका घटनासम्मका विषयबारे सार्वजनिक गर्ने अभियान मिटु अभियान हो।

त्यति बेला स्थापित बाग्मती प्रदेश सरकारका भौतिक तथा योजना मन्त्री थिए। उनी पहिलोपटक  मेयर हुँदा आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप महानगरकै पूर्व कर्मचारी रश्मिला प्रजापतिले लगाएकी थिइन्। त्यस्तै पत्रकार उज्जला महर्जनले पनि आफूलाई स्थापितले यौनजन्य दुर्व्यवहार गरेर धेरै दिन हैरान पारेको आरोप लगाएकी थिइन्।

उनीहरूले आरोप लगाएपछि सेतोपाटीले प्रश्न गर्दा स्थापितले आफू कानुनी कारबाहीमा जाने बताएका थिए। यी सबै पक्षलाई सोधेर त्यति बेलै सेतोपाटीले समाचार बनाएको थियो। कानुनी कारबाहीमा जान्छु भनेका स्थापित गएनन्। यस्तो आरोप लागेको महिनादिन नपुग्दै तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेललाई दुर्व्यवहार गरेका कारण स्थापित मन्त्री पदबाटै बर्खास्त भएका थिए।

झन्डै चार वर्षअघि मात्र उनलाई लागेको आरोपबारे एमाले र यसका अध्यक्ष जानकार नभएका होइनन्। तर एमालेले यति गम्भीर आरोपबारे छानबिन गर्ने चासो समेत देखाएन। कम्तीमा उसले काठमाडौंको मेयर बनाउने बेला स्थापितलाई लागेको यौन दुर्व्यवहारको आरोपबारे हेक्का राख्नुपर्थ्यो। त्यसैले अहिले यौन दुर्व्यवहारको आरोप लागेका स्थापितलाई कारबाही गर्नुको साटो ‘काठमाडौंको मेयर पुरस्कार दिएर’ पीडित महिलाहरूलाई अन्याय गरेको आरोप एमालेलाई लागिरहेको छ।

स्थापित आफूलाई उक्त आरोपबारे प्रश्न सोध्नेहरूसँग दुर्व्यवहार गर्न थालेका छन्। बिहीबार नेसनल कलेजमा भएको अन्तर्क्रियामा अभियन्ता भावना राउतले मिटुबारे प्रश्न सोध्दा स्थापितले उनलाई नै दुर्व्यवहार गरे।

जंगिदै उनले ‘यू आर नाइस लेडी तर थुतुनो ठिक भएन’ भने। उक्त मञ्चमा उनको शारीरिक हाउभाउ र प्रतिक्रिया दिने मौखिक शैली अस्वभाविक थियो। मिडियामा सार्वजनिक भएका भिडिओ हेर्दा उनले प्रश्नकर्तालाई धम्क्याएको, दुर्व्यवहार गरेको प्रस्टै देखिन्छ।

उता एमाले अध्यक्ष ओलीले चुनाव आयो कि मिटु आउँछ भन्दै यौन दुराचारको आरोप लागेका स्थापितको बचाउ गरे।

एमाले अध्यक्ष ओली र कतिपयले भनेजस्तो मिटु अभियान कसैलाई बदनाम गर्न आएको होइन। अमेरिकाका केही महिलाले यौन उत्पीडनविरूद्ध आवाज उठाउँदै पाँच वर्षअघि ‘ह्यासट्याग मिटु’ (#मिटु) अभियान सुरू गरेका थिए। यसमा हलिउडदेखि राजनीतिक क्षेत्रका ठूल्ठूला नाम यौन उत्पीडनको आरोपमा मुछिए।

महिलामाथिको यौनहिंसालाई लिएर ठूलो जवाफदेहिता सिर्जना भयो।

यही अभियान भारतमा समेत चर्चित भएको थियो। बलिउड, सञ्चार क्षेत्र, विज्ञापन एजेन्सीदेखि राजनीतिक क्षेत्रका दर्जनौं व्यक्ति यौन दुर्व्यवहारको आरोपमा मुछिएका थिए। विदेश राज्यमन्त्री तथा पूर्वपत्रकार एमजे अकबरले पदबाट राजीनामा दिए। आरोपित कलाकार तथा पत्रकारहरूले आफ्नो कामबाट बाहिरिनुपर्‍यो।

अभियानकै बेला नेपालमा पनि केही सार्वजनिक पदमा रहेका व्यक्तिहरूमाथि मिटु आरोप लाग्यो। यसमा कलाकार, प्राध्यापक, लेखकदेखि राजनीतिज्ञसम्म थिए। तर मिटु आरोप लागेका ती व्यक्तिहरू माथि अहिलेसम्म कुनै कारबाही भएको छैन।