चुनाव सार्ने तयारी, गठबन्धनका शीर्ष नेताहरु वकिलहरुसँग जुटे परामर्शमा !

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गम्भीर सूचना पाएको खुलासा भएको छ । चुनाव सार्नेगरी सत्तागठबन्धनले गोप्य रुपमा वकिलहरुसँग परामर्श गरिरहेको दाबी एमालेले गरेको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन सार्ने प्रयत्न अझै भइरहेको आरोप लगाएका छन् ।

स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता सकिएको भोलिपल्ट पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले चुनाव सार्ने प्रयत्न भइरहेको आरोप लगाएका हुन् । मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसमा मंगलबार सानेपामा बोल्दै ओलीले चुनाव सार्नका लागि कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतको गठबन्धन लागिपरेको बताएका हुन् ।

’यो गठबन्धन अपराधको श्रृंखलाबाट सिर्जना भएको अपराधी कुराबाट अपराधी तरिकाले सिर्जना भएर अपराधका लागि जन्मिएको यो गठबन्धन प्रतिगामी गठबन्धन भएको हुनाले यसले चुनाव सार्ने भरपूर कोसिस ग¥यो, अझै पनि मुद्दा हालेर चुनाव सार्न सकिन्छ कि भनेर परामर्श भइराख्या छ वकिलहरूसँग,’ उनले भने ।

एमालेले कुनै पनि हालतमा चुनाव सार्न नदिने ओलीले बताए । उनले भने, ’यसले चुनाव सार्न सक्दैन । अब चुनाव सार्ने कुरा हामी कुनै हालतमा मान्दैनौं, दिँदैनौं ।’

ओलीले चुनाव घोषित समयमा नै हुने र त्यसका लागि तयारीमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । उनले मतदाता वृद्धि गर्न र मतको रक्षा गर्न कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् ।

कार्यकर्ताहरूलाई धेरै भलादमी नबन्न पनि ओलीको भनाइ छ । ’साह्रै भलादमी हुने होइन, ठिक्क मात्रै भलादमी हुने । न्याय कसैले मार्न खोज्यो भने न्याय मार्न नदिने गरी ज्युँदो मान्छे बन्ने,’ कार्यकर्तालाई ओलीको निर्देशन थियो ।