ज्ञानेन्द्र शाहले श्रीपेच पाए !

काठमाडौं । स्थानिय चुनावको सरगर्मी बढिरहेकै बेला पूर्वराजा ज्ञानेन्द्र शाहले श्रीपेच र राजदण्ड पाएका छन् । सुनसरीको इटहरीमा नेपाली गहनाको डिजाइन तथा सुनचाँदी व्यवसाय गर्दै आएका कर्णबहादुर विश्वकर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफैंले बनाएको श्रीपेच र राजदण्ड उपहार दिएका हुन् ।

आइतबार झापाको चन्द्रगढी विमानस्थलमा उनले पूर्वराजालाई सो उपहार दिएका हुन् । झन्डै २ वर्षअघि कोरोना संक्रमण रोकथामका लागि भएको लकडाउनका बेला उनले ३ महिना लगाएर श्रीपेच र राजदण्ड निर्माण गरेका थिए । श्रीपेचमा सुन, चाँदी, मोती तथा बहुमूल्य रत्न लगायत जडान गरिएको छ ।

श्रीपेचका लागि ५ लाख रुपैयाँ हाराहारीको रत्न प्रयोग गरिएको विश्वकर्माले बताए । उनले आफू राष्ट्रवादी र राजसंस्थाको पक्षधर रहेको बताउँदै सो श्रीपेच पूर्व राजालाई दिनकै लागि बनाएको उल्लेख गरे । उनले भने–‘राजालाई उपहार दिने भनेर नै बनाएको थिएँ तर उहाँलाई दिनका लागि शुभ साइत मिलेको थिएन ।

झापा आउनुभएको अवसरमा मैले चन्द्रगढी विमानस्थलमा पुगेर उहाँलाई हस्तान्तरण गर्न पाएँ ।’ श्रीपेच लिँदै पूर्वराजा शाहले धन्यवाद दिएको र निकै हर्षित भएको विश्वकर्माले बताए ।