महानगरमा पनि भत्कियो गठबन्धन, अपमानपूर्ण व्यवहार भएको भन्दै माधवको एसले लियो कठोर निर्णय

काठमाडौं । ललितपुर महानगरपालिकामा सत्ता गठबन्धन भत्किएको छ । अपमानपूर्ण व्यवहार भएको भन्दै माधव कुमार नेपाल नेतृत्वको पार्टी नेकपा एकीकृत समाजवादीले कठोर निर्णय लिएको हो ।

माधवको एसले यो महानगरमा छुट्टै उम्मेद्वारी घोषणा गरेको छ । ‘गठबन्धन भत्कियो । हामीले अलग्गै उम्मेदवारी दिने निर्णय गरेको छौं’, सहइन्चार्ज अमृत तिम्सिनाले भने ।

उनका अनुसार, महानगरको मेयरमा हरिकृष्ण थापा र उपमेयरमा उषा बज्राचार्य उम्मेदवार बन्ने भएका छन् । सत्तारुढ दलहरुबीचको सहमति अनुसार ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसको भागमा परेको छ भने उपमेयर माओवादी केन्द्रको भागमा परेको छ ।

ललितपुरका स्थानीय तहमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गर्ने भएका छन्।गोदावरी नगरपालिकाको प्रमुख र उपप्रमुख नै कांग्रेसले लिएको छ।महालक्ष्मी नगरपालिकाको प्रमुख नेकपा माओवादी केन्द्रलाई र उपप्रमुख कांग्रेसले लिएको छ।

कोन्ज्योसोम गाउँपालिका अध्यक्ष माओवादी केन्द्रलाई र उपाध्यक्ष कांग्रेसले लिएको छ।बागमती गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रले लिएको छ।महाँङ्काल गाउँपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रले लिएको छ। ललितपुर महानगरमा भने मेयर कांग्रेसलाई र उपमेयर माओवादी केन्द्रलाई दिने यसअघि नै सत्तागठबन्धनमा सहमति भएको थियो।

बागमती प्रदेश कांग्रेस सभापति ईन्द्रबहादुर बानियाँ र माओवादी केन्द्रका बागमती अध्यक्ष सरल सहयात्रीबीच कांग्रेस र माओवादीबीच मात्रै चुनावी तालमेल गर्ने सहमति भएको हो।