नेविसंघको स्थापना दिवसमा देउवा–पौडेल घम्साघम्सी !

काठमाडौँ – नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच गठबन्धन अघि बढाउने र पार्टीका भ्रातृ संगठनको पूर्णताको विषयलाई लिएर दोहोरी चलेको छ । मंगलबार नेपाल विद्यार्थी संघको स्थापाना दिवसका अवसरमा आयोजित कार्यक्रममा देउवा र पौडेलबीच दोहोरी चलेको हो । केही समय घम्साघम्सी नै परेको थियो ।

प्रधानमन्त्री देउवाभन्दा अगाडि बोलेको पौडेलले गठबन्धन देउवालाई प्रधानमन्त्री बनाउन नभई संविधान र व्यवस्था जोगाउन बनाएको बताएका थिए । साथै उनले नेविसंघको कार्यसमिति अपुर्ण रहेको भन्दै तत्काल पूर्णता दिनुपर्ने बताएका थिए । त्यसको जवाफमा प्रधानमन्त्री देउवाले नेविसंघको छिटो अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए । स्थानीय तह, प्रदेश र संघको निर्वाचन पछि गाउँ गाउँमा संगठन विस्तार गरी नेविसंघको अधिवेशन गराउन देउवाले निर्देशन दिए । ‘दुजाङको काम भनेको अधिवेशन गराउने हो । जो जित्छ उसैलाई नेतृत्व हस्तान्तरण गर्ने हो । भागबण्डा गर्दा झगडा मात्र हुन्छ यहाँ । भागबण्डाको रोग छ ,’ देउवाको भनाइ छ ।

पदाधिकारी बनाउँदा भागबण्डाको झगडा हुने उनको भनाइ थियो । ‘रामचन्द्रजीले पदाधिकारी बनाउने भन्नुभयो,’ उनले भने, ‘फेरि भागबण्डा गरी झगडा गरे हुन्छ । मेरो उपसभापति चाहियो, मेरो महामन्त्री चाहियो, मेरो उचाहियो, उ चाहियो त्यसैमा लडाइ हुन्छ ।’

देउवाले प्रधानमन्त्री बनाइदउ भनेर रामचन्द्र पौडेललाई नभनेको पनि बताए । ‘मलाई प्रधानमन्त्री बनाइदेऊ भनेर रामचन्द्रजीलाई भनेकै होइन । सबै साथीले बन् कि बन भन्नुभयो । के गर्ने ?,’ पौडेलतिर हेर्दै भने । प्रधानमन्त्री भएर आफुले के विगारेको छु भन्दै देउवाले पौडेललाई देउवाले प्रश्न गरे । ‘सबै ठाउँमा काँग्रेसलाई सरकारमा ल्याउने मेरो गल्ती हो भने भन्नुस् । प्रधानमन्त्री भएर मैले के विगारेँ । राम्रै गरेको छु त । रामचन्द्रजीले झन मलाई उहाँले धन्यवाद बधाई दिनुपर्नेमा ।’