कुलमानको नाम प्रयोग गरेर माओवादीको चुनावी प्रचारप्रसार

काठमाडौं – सत्तारुढ नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखेर चुनावी सामग्री बनाएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको चुनावी पोष्टरमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको पनि तस्बिर राखिएको हो ।

अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मासँगै माओवादीले घिसिङको तस्बिर राखेर ‘अध्याँरोबाट उज्यालोतर्फ’ उल्लेख गर्दै चुनावी पोष्टर सार्वजनिक गरेको हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङले माओवादी केन्द्रले चुनावी प्रचारमा आफ्नो तस्बिर राखेर दुरुपयोग गरेको बताएका छन्।

माओवादीले स्थानीय तह निर्वाचनमा कुलमान घिसिङसहितको चुनावी प्रचार अभियानको पोस्टर सार्वजनिक गरेपछि उनको चौतर्फी आलोचना भइरहेको छ। माओवादी केन्द्रले निर्वाचन आचारसंहिताविपरीत सरकारी कर्मचारीको पोष्टर सार्वजनिक गरेको छ। आयोगले स्थानीय तह निर्वाचनको आचारसंहिता लागू गरिसकेको छ।

कुलमानले आफ्नो सहमतिबिना तस्बिर राखिएको बताए। उनले भने, ‘मेरो तस्बिर नराख्नु भनेको थिएँ। मेरो सहमतिविपरीत उहाँहरूले तस्बिर राख्नुभएछ। त्यसमा मेरो विमति छ।’

घिसिङ कार्यकारी निर्देशक नियुक्त हुने वर्षमा सुक्खायाममा १८ घण्टासम्म पनि लोडसेडिङ गर्नुपर्ने अवस्था थियो। घिसिङ नेपाल विद्युत प्राधीकरणको प्रवन्ध निर्देशक पदमा सेप्टेम्बरमा नियुक्त भए भने नियुक्त भएको दोस्रो महिना अर्थात् अक्टोबर-३० (२०७३ कात्तिक १४- लक्ष्मी पूजा) मा काठमाडौँबाट लोडसेडिङ मुक्त गर्ने कार्य परीक्षणको रूपमा शुरु गरे । सो परीक्षण सफल भएको आधरमा २०७३ चैत्र १ देखि देशव्यापी रूपमा लोडसेडिङ्ग अन्त्य गर्न उनी सफल भए ।

चार वर्षअघि करिब ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण कुलमानको नेतृत्वमा आर्थिक वर्ष २०७६/७७ मा सरकारी संस्थानमध्ये सबैभन्दा बढी नाफा कमाउने कार्यालय बनेको थियो। चार वर्षअघि प्रणालीमा रहेको करिब २६ प्रतिशत विद्युत् चुहावटलाई १५ प्रतिशतमा झार्नु घिसिङ कार्यकालको अर्को उपलब्धि हो।