एमालेले चिताएको सात दिनमा यो सरकारको जरो उखेलेर फालिदिन्छ : केपी ओली

बझाङ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभरि एमालेको पक्षमा जनलहर उर्लिएको बताएका छन् । एमालेलाई जिताउनका लागि जनता चुनावको प्रतीक्षामा रहेको उनको दाबी छ ।

बझाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले एमालेको सरकार केही समयका लागि मात्र ढलेको उल्लेख गरे ।

ओलीले भने, ‘परमादेशका माध्यमबाट सरकार अलिकति समयका लागि, तर जनताको मनबाट ढलेन, उखेलिएन । त्यसैले तपाईँहरू चुनावको प्रतीक्षामा हुनुहुन्छ, एमालेलाई जिताउनका लागि । आज देशभरि जनलहर उर्लिएको छ एमालेको पक्षमा ।’

उनले थपे, ‘एमाले सरकारमा छैन, प्रतिपक्षमा छ । एमालेले मन्त्री बनाउँदैन । कसैलाई राजदूत नियुक्त गर्दैन । तर, सत्तारुढ पार्टीका कार्यकर्ताहरू खोलो पहिरो भएर एमालेमा प्रवेश गरिरहेका छन् ।’ओलीले चुनाव रोक्न सरकारले धेरै कोसिस गरेको बताए । कानून परिवर्तन गरेर, अध्यादेश ल्याएर चुनाव पर सार्न खोजिएको उनको दाबी छ । उनले गठबन्धन सरकारलाई प्रतिगामी संज्ञा दिए ।

‘अहिलेका प्रधानमन्त्री जहिले सरकारमा जानुहुन्छ लोकतन्त्र बुझाउनुहुन्छ । म आग्रह गर्न चाहन्छु, यसपालि त्यस्तो प्रयास नगर्नुस्,’ उनले भने ।

ओलीले थपे, ‘म उहाँको लुट मण्डलीलाई चेतावनी दिन्छु । वैशाख ३० गतेको निर्वाचन व्यवस्थित र निर्विघ्न सम्पन्न होस भनेर धेरै कुरा सहेका छौँ ।

यो सरकारले आफूलाई अजम्बरी बुटी पाएको सरकार नसोचे हुन्थ्यो । एमालेको चिताएको सात दिनमा यो सरकारको जरा उखेलेर फालिदिन्छ । तर चुनाव नबिथोलियोस भनेर चुप बसेका छौँ ।’