ओलीलाई अर्थमन्त्री शर्माको मुखाभरीको जवाफ- देश श्रीलंका हुन्छ भन्नु राष्ट्रघात हो

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको अवस्थालाई लिएर अनावश्यक राजनीति गर्न खोजिएको आरोप लगाएका छन्।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वअर्थमन्त्रीहरूसमेत रहेका एमाले नेताहरूले दिएका अभिव्यक्तिप्रति लक्षित गर्दै उनले मुलुक श्रीलंकाजस्तो हुन्छ भन्नु राष्ट्रघात भएको बताए।

ओलीका भनाइलाई अर्थमन्त्री शर्माले अफवाह भनेका छन्।

‘यस्ता अफवाह जोड्दै जोड्दै देश श्रीलंका हुन्छ भन्नेतिर लैजान खोजिँदैछ, त्यो राष्ट्रघात हो,’ अर्थ मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै उनले भने, ‘देशलाई राम्रो बनाउनुपर्‍यो नि, देशलाई श्रीलंका बनाउन उहाँहरूलाई किन चासो भइरहेको छ? मलाई अचम्म लाग्छ।’

उनले स्थानीय तह चुनावका लागि बजेटको अभाव नहुने बताए।

‘चुनावका लागि हामीले बजेटको व्यवस्था गरेका छौं। जुन दिन चाहिन्छ त्यही दिन भुक्तानी दिन सकिन्छ,’ उनले भने, ‘आजै पनि ट्रेजरीमा ६७ अरब पैसा छ।’