ओलीलाई थापाको कटाक्ष : मिर्गौला पीडितलाई ५ हजार दिने व्यवस्था छ, लिन आउनुस्

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे छलफल नै नगरेको भन्ने विपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति सत्यता नभएको दाबी गरेका छन् । थापाले भने, ‘छलफलका लागि प्रधानमन्त्रीले फोन गर्दा बाहिर छु भ्याउँदिन भन्नुभयो । त्यही कुरा हिजो सार्वजनिक कार्यक्रममा सरासर झुट बोल्नुभयो । त्यही कुरा मिडियाले स्थान दिए ।’

ओलीले केही दिनअघि प्रधानमन्त्री देउवालाई ‘वृद्धभत्ता लिन आउनुस’ भनेको भनाइप्रति महामन्त्री थापाले कटाक्ष समेत गरेका छन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई ७० वर्ष नाघिसक्नु भयो । उज्यालोमा आउँदा अफ्ठ्यारो होला अँध्यारोमा अब वृद्ध भत्ता लिनु भन्नुभयो । अनि मैले पनि उहाँलाई अहिले मिर्गौला पीडितलाई सरकारले ५ हजार दिने व्यवस्था गरेको छ । तपाईं पनि लिन आउनुस् भन्न मिल्छ ? हामी त्यो स्तरमा जान मिल्छ ?’

महामन्त्री थापाले आगामी निर्वाचनमा ओलीलाई ५ वर्षका लागि पाएको अवसर किन दुरुपयोग गरेको भन्दै प्रश्नसमेत गरेका छन् । ओलीप्रति प्रश्न गर्दै थापाले भने, ‘नेकपा सरकार हुँदा ओलीले ५ वर्ष सरकार चलाउने मौका पाउँदा किन विकास नगरेको पार्टी र संसद् किन तोडेको भनेर सोध्न सक्नुपर्छ ।’ स्थानीय तहको निर्वाचनमा तालमेलबारे पार्टीभित्र फरक मत राखेपछि पार्टीको निर्णय सबैले मान्नुपर्ने उनको भनाइ छ ।