मुलुकका ६ मध्य २ महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीको दावी

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) ले मुलुकका ६ वटा महानगरपालिकाहरु मध्य २ वटामा मेयरको दावी रहेको जनाएको छ । सो पार्टीका का उपमहासचिव जगन्नाथ खतिवडाले यस्तो जनाएका हुन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खतिवडाले भने, “अहिले चार वटा वर्गका पालिका छन् ।

संगठनका हिसाबले कहीँ घटी, कहीँ बढी र कहीँ बराबर हाम्रो प्रतिनिधित्व छ । गठबन्धन गरेर जाँदा हरेकमा हाम्रो प्रतिनिधित्व हुनुपर्छ । ६ वटा महानगरको कुरा गर्ने हो भने सके दुइटा हुनुपर्छ, अन्यथा एउटा पाउनु अनौठो होइन । एउटाभन्दा तल संख्या छैन । एउटा भनेको त न्यूनतम कुरा हो नि ।”

आफ्नो पार्टीले नेपाली कांग्रेसको बैसाखीको भरमा चुनाव जित्ने नसोचेको पनि उनले बताए । उनले भने, “वस्तुगत विश्लेषण गर्ने हो भने भरखर जन्मेको पार्टी भन्नुभएन । हामीले कांग्रेसको बैसाखीमा मात्र चुनाव जित्ने होइन । कांग्रेसका नेताहरुले निहुँ खोज्ने, अन्डरमाइन्ड गर्ने, अपमान गर्न थाल्नुभयो भने के के हुन्छ, भन्न सकिँदैन । तर पोखराजस्ता महानगरलाई नेतृत्व दिने र जित्ने संगठन हामीसँग छ । कसैले दिने वा नदिने भन्दा पनि यो कुरा सहमतिमा हुनुपर्छ ।”

एमाले नेता घनश्याम भुसालले वामपन्थी गठबन्धनको कुरा गरे पनि त्यो सम्भव नभएको उनले बताए । खतिवडाले थपे, “हाम्रो पार्टीमा आएर पहल गरेको भए अर्कै कुरा हुन्थ्यो । नत्र वामपन्थी गठबन्धन मौसमको बाजा होइन । मैले त्यस्तो सम्भावना देखेको छैन ।”

नेता खतिवडाले अराजनीतिक भीड नेकपा एमालेमा प्रवेश गरिरहेको आरोप पनि लगाए । उनले भने, “पद होल्ड गर्ने स्वार्थका कारण कतिपय व्यक्ति सिद्धान्त, विचारको मतलब नगरीकन एमालेतिर लागेका छन् । एमाले नेतृत्वले अराजनीतिकरण भीड बढाउन पाए चुनावमा काम लागिहल्छ भन्ने बाहेक अरु कुनै सोचेको छैन । एकचोटि सौदाबाजी हुन्छ । आउँछु भन्नेलाई ल्याउनु परिहाल्यो । अवसरवादी नेताहरु त्यता लाग्नु अनौठो कुरा होइन ।”