एमालेमा प्रवेश गर्दै अभिनेत्री करिश्मा मानन्धरले भनिन्- ओलीकाे भाषण सुनेर थाक्दिनँ

काठमाडौं :

अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी छन् । काठमाडौंमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत गरेर भित्र्याएका हुन् ।

अभिनेत्री करिष्माले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी हुन् ।एमाले प्रवेश गर्दै अभिनेत्री करिश्माले आफू चलचित्र क्षेत्रमा सक्रिय रहँदै आए पनि यस क्षेत्रको विकासका लागि राजनीतिमा लागेको बताइन् ।

देशको विकास र समृद्धिका लागि एमालेबाट राजनीति गर्ने सोचका साथ पार्टी प्रवेश गरेको उनले जानकारी दिइन् । अध्यक्ष ओलीकाे भाषण सुनेर आफू कहिल्यै नथाक्ने बताइन् ।

एमालेमा प्रवेश गरेपछि उनले आफू कुनै पदको सौदाबाजी गरेर नभई नितान्त एमालेको कार्यकर्ता बन्न आएको बताइन् ।‘कुनै सौदाबाजी होइन, कुनै आग्रह पनि छैन, नितान्त एमालेको कार्यकर्ता भएर हजुरहरुसँग जोडिन आएको छु’ उनले भनिन् ।

 

आफू एमाले प्रवेश गर्दा वर्षौदेखि पार्टीमै रहेकाहरुले डराउनुनपर्ने करिश्माले बताइन् । उनले आफू नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीबाट प्रभावित भएर एमालेमा आएको बताइन् ।

आफू एमालेमा रहेर राजनीति गर्ने निर्णयमा पुगेको करिष्माले आज बताइन्। अरू धेरै पार्टीहरूसँग निकट भए पनि एमाले रोज्नुमा अध्यक्ष ओलीको क्षमता र प्रतिवद्धता रहेको उनले सुनाइन्।

‘मैले अध्यक्ष ओलीलाई फुर्काउन भनेको होइन। नेता भनेको जनतालाई भिजन देखाउने मानिस हो। त्यो म ओलीमा पाउँछु,’ उनले भनिन्, ‘छ महिनाको अवधिमा मैले ओलीसँग २ पटक भेटेँ। उहाँको कुरा सुनेर म कहिल्यै थाक्दिनँ। यति उत्साहजनक र प्रेरणादायी कुरा गर्नुहुन्छ।’

 

उनले एमाले भनेको अहिलेको अवस्थामा देशको पहिलो पार्टी रहेको र युवादेखि बुढासम्मले एमाले नै रोजेका कारण पनि आफू एमालेमा प्रवेश गरेको प्रस्ट पारिन्।