आउनुहोस्, ‘कमरेड’ बनौँ

 

-इभान जोनस्टोन-

मैले ढाँट्नुहुन्न कि संगठित रूपमा म समाजवादी भएको एक दशकपछि मात्रै मैले यस शब्दलाई मन पराउन थालेँ। विगतमा मलाई पनि तपाईंलगायत अरु धेरैलाई जस्तै कसैले ‘कमरेड’ भनेर सम्बोधन गर्दा अक्सर नमज्जा लाग्थ्यो वा हाँस उठ्थ्यो, अथवा दुवै हुन्थ्यो।

यसो किन हुन्थ्यो भने उत्तर अमेरिकातिर यस शब्दको प्रयोग प्रायः व्यङग्यात्मक रुपमा हुन्छ। र, प्रायः कम्युनिष्टहरूप्रति सहानुभुति राख्नेहरूलाई होच्याउन या अपमान गर्नका लागि यो शब्दको प्रयोग गरिन्छ। र, संक्षिप्तमा भन्नुपर्दा, प्रायः विरासतमा प्राप्त भएको अन्य सांस्कृतिक पूर्वाग्रहसँगसँगै यो शब्द सुनिन्छ।

अमेरिकी राजनीतिक सिद्धान्तकार तथा कम्युनिष्ट लेखक जोडी डिनको पुस्तक ‘कमरेडः एन एसे अन पोलिटिकल विलङ्गिङ्’ मा उनले हामीलाई कमरेड शब्द के हो भनेर बुझाउने प्रयास गरेकी छिन्। डिनले यो शब्दको इतिहास र यसको ‘आदर्श वाचा’लाई नजिकबाट चिनाएकी छिन्। र, कमरेड शब्दलाई बुझाउने क्रममा उनी हामीलाई ‘राजनीतिक संघर्षको एउटै पक्षमा लड्ने’ क्रममा हामीले बनाउने, कायम राख्ने र हामीलाई आवश्यक पर्ने सम्बन्धको प्रकारकाबारे सोच्न आह्वान गर्छिन्।

खासगरी अमेरिकामा नविकृत समाजवादी आन्दोलन र ‘मुभमेन्ट अफ दि स्क्वायर, अकुपाई मुभमेन्ट र विभिन्न मुलुकमा वाम सुधारवादी सरकारको उदय’ पछि अन्तराष्ट्रिय रूपमा व्यापक स्थान पाएको व्यापक वामपन्थी बहसहरूको सन्दर्भमा उनले ‘कमरेड’को आकृतिलाई प्रष्ट पार्न खोजेकी छिन्। र, उनी सही छिन् भन्ने लाग्छ। कमरेडका बारेमा उनले लेखेका धेरैजसो कुराले पूँजीवादलाई उखेलेर फाल्नका लागि विश्वभरका मान्छेहरूले वर्षौंदेखिको सामूहिक संघर्ष, आनन्द, मुटु दुखाइ, निराशापन र तृप्तिको पूरै श्रृंखलालाई झङ्‍कृत गर्छ।

कमरेडको ढाँचा

सुरुमा कमरेड के होइन भन्नेबारे प्रष्ट पारौं। कमरेड एउटा परिचय होइन। र, हामीले केवल आफ्नैमात्र सामर्थ्यमा तय गर्ने कुरा पनि होइन ‘कमरेड।’ ‘कमरेड’ले नागरिक, दिदी वा बहिनी, अभियन्ता, अथवा लडाकुजस्ता कुनै सम्बन्ध तथा सम्बोधनलाई विस्थापन गर्दैन। न त यो उस्तै सामाजिक अभियानमा संलग्न या विषयगत संघर्षमा रहेका कसैसँग साथी हुनुजस्तो हो।

डिनले दिएका तर्कअनुसार कमरेडले ‘एउटा राजनीतिक सम्बन्ध र साझा उद्देश्यतर्फको कार्यका लागि अपेक्षाहरूको एउटा समूहलाई संकेत गर्छ।’ यसले एक समूहका मानिसको समानतालाई प्रकाश पार्छ। कमरेड तिनै मानिसहरूसँग उभिन्छ, जसको भिन्नताले केही फरक पर्दैन। सारमा भन्नुपर्दा, ‘कमरेडसिप’ ‘राजनीतिक संलग्नताको’ एउटा स्वरूप हो। ‘शोषण, दमन र कट्टरतामुक्त समाज’ देख्न चाहने सबैका लागि सँगसँगै काम गरिरहेकाहरूबीचको एउटा ‘अनुशासित’ सम्बन्ध हो कमरेडसिप। कमरेड त्यस्तो व्यक्ति हो, जोसँग तपाईंका साझा अपेक्षा र सिद्धान्तहरू हुन्छन्, जसले तपाईंलाई तपाईँको राजनीतिक कामको दौरान जिम्मेवार ठहर्‍याउँछ र जससँग तपाई भर पर्न र विश्वास गर्न सक्नुहुन्छ।

डिनले उनका धेरै उल्लेखनीय खण्डहरूमा लेखेकी छिन्, ‘तपाईँ तपाईंको कमरेडलाई निराश बनाउन चाहनुहुन्नः तपाईं तिनको आँखा र तपाईंहरूको सामूहिक आँखाको माध्यमबाट तपाईंको कामको मूल्य देख्नुहुन्छ।’ त्यसो भए के सबै मान्छेहरू कमरेड बन्न सक्छन्? एक तरिकाले भन्नुपर्दा सक्छन् झैं  लाग्छ। तर सबै जना कमरेड हुन सक्दैनन्। कमरेड ‘एउटा सामान्य व्यक्ति’ हो भन्ने कुरामा डिन जोड दिन्छिन्। जो ‘एउटा साझा उद्देश्यका बलियोसँग बाँधिएका हुन्छन्, उनीहरू नै कमरेडहरू हुन्।’ उनका अनुसार ‘जो जित्न चाहन्छन्, जसलाई जित्नु छ र त्यसका लागि सँगसँगै लड्नैपर्छ भनेर तिनीहरू आपसमा बाँधिन्छन्, तिनीहरू नै कमरेडहरू हुन्।

कमरेडको मूल गुणका बारेमा उल्लेख गर्दै डिन कमरेडसिपको लिंग (खासगरी पुरुष) वा नश्ल (खासगरी स्वेत) हुन्छ भन्ने पुराना आम मान्यताहरूलाई चुनौती दिन्छिन्। यी मान्यताहरू अमेरिकी कम्युनिष्ट पार्टीको इतिहासका केही उदाहरणहरूले कोरेका हुन्। क्राान्तिकारीहरूलाई सामाजिकीकरण गरिएका गहिरो संघर्ष तथा दमनका रुपहरूलाई कमरेडसिपले मेटाउने वा यसको दस्तावेजीकरण गर्ने उनको तर्क होइन। तर कमरेडले ‘त्यस्तो आकांक्षाको नाम दिन्छ, जुन सधैं पूर्ति हुँदैन, तर कमरेडले पहिचान गर्ने र त्यसलाई पूरा गर्ने प्रयास गर्ने आकांक्षाको भने अपेक्षा राखिन्छ।’

उनी अगाडि व्याख्या गर्छिन्,

‘कमरेड त्यस सम्बन्धको नाम हो, जुन लिंग र नश्लभन्दा माथि छ। यसले लैंगिकता र नश्लीयतासँग जुझ्ने र यसलाई समाप्त गर्ने अपेक्षा राख्छ। पितृसत्तात्मक–नश्लीय– पूँजिवादको व्यवस्थाको माध्यमबाट उत्पन्न भएको पहिचानको सार निकाल्दै, कमरेडले व्यवस्था परिवर्तनका लागि आफूलाई साथमा काम गर्नका लागि प्रतिबद्ध गरेकाहरूबीच राजनीतिक सम्बन्धलाई स्थान दिन्छ। संघर्षहरूबाट प्राप्त स्वतन्त्रताले एकै समूहमा समान रूपमा रहेकाहरूबीचको सम्बन्धको एक नयाँ रूपलाई सक्षम बनाउँछ।

यी सबैलाई एकैसाथ बाँध्ने अर्को एउटा महत्वपूर्ण तत्व छ। ‘कमरेडमाथि चार थेसिस’ नामक च्याप्टर– ३ मा डिन तर्क गर्छिन्, ‘कमरेडहरूबीचको सम्बन्धलाई उनी सत्यमाथिको निष्ठा भन्छिन्। त्यस सम्बन्धमार्फत एउटा समझदारी बन्छ र सो सत्य व्यवहारिक काममा अन्तरनिहित हुन्छ। र, यो व्यवहारिक काम एउटा क्रान्तिकारी पार्टीद्वारा संगठित र अनुशासित हुन्छ।’

त्यसैले सामाजिक आन्दोलनमा राजनीतिक रूपले संलग्न हुनुमात्रै होइन, गैरसरकारी संस्थामा साझा अपेक्षा वा व्यापारिक संघको सामुहिक अनुशासनको विषय पनि होइन। कमरेडसिप एउटा बन्धनमुक्त समतावादी राजनीतिमा संगठित राजनीतिक पार्टीको एउटा प्रतिबद्ध सदस्य हुनु हो। साथै कमरेडसिपमाथि ‘दमितको संघर्षमा सहभागी हुने, क्रान्तिका लागि संगठित र अभियानका लागि एउटा निश्चित एकता कायम राख्ने’ अपेक्षा गरिन्छ।

डिनले आफ्ना अघिल्ला पुस्तकहरू: दि कम्युनिष्ट होराइजन(२०१२) र क्राउड एण्ड पार्टी(२०१६) मा उल्लेख गरेका तर्कहरूलाई यो पुस्तक ‘कमरेड’ले विस्तार गर्ने काम गर्छ। तर कमरेडमा उल्लेख गरिएका तर्कहरूलाई बुझ्नका लागि तपाईंलाई उनका कुनैपनि अघिल्ला पुस्तक पढ्नुपर्दैन।

दर्शन अथवा आलोचनात्मक सिद्धान्तमा मजबुद पृष्ठभूमि नभएका पाठकहरूका लागि केही चुनौतीका बावजुद यो पुस्तक एक सुलभ पठनीय सामग्री बन्छ। त्यहाँ ज्याक्स् ल्याकेन, एलेन बाडिउ र स्लाभोज जिजेककाहरूका छरिएका अनेक सन्दर्भहरू छन्। ती निश्चित रुपले साम्यवादका विचारहरूका विषय हेर्नेहरूका लागि भने रुचीको विषय हुनेछ। तर उनले प्रत्येक पाठमा उल्लेख गरेका बुँदाहरू बुझ्नका लागि कुनै अप्ठ्यारो छैन।

कमरेडसिपका प्रतिज्ञा

डिनले आफ्नो पुस्तकमाफर्त गरेका केही हस्तक्षेपहरूको सम्बन्ध ‘सहयोगी मोडल’(एलाइसिप मोडल)का सीमाहरूको बहससँग पनि रहेको छ। तर उनको तर्कको त्यो पक्षलाई न्याय गर्न पूर्ण रूपमा फरक समीक्षाको जरुरी छ। डिनले आफ्ना पुस्तकका यस पक्षमाथि छोटा आलेखहरू अन्यत्र पनि प्रकाशन गरेकी छिन्। साथमा केही कुराकानीहरू पनि अनलाइनमा उपलब्ध छन्। त्यसैले म यस बहसमा रुची राख्ने जो कोहीलाई उनले यस विषयमा भन्न खाजेका कुराबारे मन्थन गर्न प्रोत्साहित गर्छु।

कमरेडसिपबाट च्युत हुनुको अर्थ के हो भन्ने

विषयसँगै यो पुस्तक टुंगिएको छ। निष्काशन, राजीनामा र यसबाट टाढिनु लगायत कमरेडसीपको अन्त्यका विभिन्न तरिकाका बारेमा पनि उनले खुलस्त पारेकी छिन्।

यीमध्ये एउटा तरिका, निष्काशनका विषयमा अझै स्पष्ट पार्न उनले सन् १९३१ मा अमेरिकन कम्युनिष्ट पार्टीका सदस्य अगस्ट योकिनेनको हार्लम मुद्दाको उदाहरण पेश गर्छिन्। जसले ‘निग्रो कामदारको अधिकारको रक्षाका लागि एउटा निर्णायक अडान’ लिने कुराको उपेक्षा गरेका थिए। श्वेत वर्चश्व कायम राखेकोमा उनलाई पार्टीले दोष लगायो। हार्लमको फिनिश क्लबको नृत्यमा अश्वेतहरूको सहभागीताको विषयलाई लिएर सो घटना भएको थियो।

म यससम्बन्धी पूरै कहानी यहाँ बताउँदिन। तर गहिराइमा, पार्टी सदस्यहरूले कति गम्भीर रूपमा जातिवाद/नश्लवादलाई लिन्छन् र एउटा पार्टी सदस्यका रूपमा कमरेडलाई उनको कर्तव्यप्रति जिम्मेवार बनाइन्छ भन्नेबारे सो घटना सन्देशमूलक थियो भन्न चाहन्छु। अन्त्यमा, योकिनेन दोषी ठहर्‍याइए। तर आफ्नो गल्ति सुधार्दै पुनः आफ्नो पार्टीमा आवद्ध हुने मौका पनि उनलाई दिइयो। आफ्ना ठोस गतिविधिहरूमार्फत अश्वेत श्रमिकको हितलाई अघि बढाउने र श्वेत कट्टरवादको सामना गर्ने प्रतिबद्धतासहित उनलाई पुनः पार्टी प्रवेश गराइएको थियो।

‘कमरेड’मा प्रस्तुत गरिएका तर्कहरूबाट वामपन्थीहरू सबै आश्वस्त हुन सक्दैनन्। किनकि पुस्तकले सामाजिक लोकतन्त्र वा पूँजीवादविरोधी कुनै पनि कमजोर स्वरुपहरूको सट्टा ‘वामपन्थी राजनीतिको क्षितिजको रुपमा रहेको साम्यवाद’ प्रति प्रतिबद्ध रहेकाहरूका लागि बोलेको छ।

यदि पहिले नै तपाईंको राजनीतिक अवधारणामा साम्यवाद, पार्टी र क्रान्ति छैन भने यो किताबले तपाईंको मनस्थितिलाई बदल्ने छैन। यदि तपाईं एक दिन कमरेडसिपको अनुशासन, आनन्द, उत्साह र साहसको मूल्य देख्नुहुन्छ भने यसले अझैपनि त्यस्तो राजनीतिक सम्बन्धको एक सम्मोहक विवरण प्रदान गर्छ।

कमरेडको छविलाई अगाडि बढाउनेबारे केके चुनौती छन् तथा आज कमरेडसिपको विषय किन महत्वपूर्ण भएको हो बारे लेखकले चर्चा गरेकी छन्। उनी लेख्छिन्, ‘विश्वले भोगिरहेका समस्याहरू साम्यवादको माध्यमबाट मात्रै सम्बोधन गर्न सकिन्छ र, कमरेड भएर हेर्दा, आजको वर्गसंघर्ष एउटा भविष्यका लागि लडाइँ हो।’

स्प्रिङम्याग डट सिएबाट अनुवाद। यो पनि :

नेकपाएमालेका नेता घनश्याम भूसालको कान्तिपुर दैनिकमा चैत्र २ गते प्रकाशित एक लेखले नेपालका कम्युनिष्ट पार्टीहरुबीच एकता हुन नसके आसन्न निर्वाचनमा पराजय मात्र होइन , नेपालको कम्युनिष्ट आन्दोलन नै सत्यानास तर्फ लाग्ने सम्भावना देखाइएको छ। सो लेखपछि भूसालले इमेज च्यानलको हटसिट कार्यक्रममा वामपन्थीहरुको एकताका बाधा र बाधकहरु बारे केही आग्रह गरेका छन्। यसपछि उनको आग्रहको पक्षमा कार्यकर्ताहरु र विपक्षमा नेतृत्व बहसमा उत्रिएका छन्। यो बहस कुन दिशामा डोहोरिन्छ या कता डोहोर्‍याउनु पर्ने हो, त्यसको निष्कर्ष निस्कियोस् भनेर नेपाल रिडर्सले मतअभिमतमा बहस चलाउन चाहेको छ। सोही अनुसार यो चर्चा यहाँ प्रस्तुत गरिएको छ (सं.)।

कान्तिपुर दैनिकमा चैत्र २ गते प्रकाशित कमरेड घनश्याम भूसालको लेखले नेपालका कम्युनिष्ट पार्टीहरुका बीच एकताको सम्भावना बारे फेरि बहसको माग गरेको छ। (यहाँ कम्युनिष्टहरुका कुरा नगरेर कम्युनिष्ट पार्टीहरुका कुरा मात्र गरिने छ) २०१९ यता निरन्तर विभाजन र एकताको गोलचक्करबाट गुज्रिरहेका कम्युनिष्टहरुका बीच सबैभन्दा शक्तिशाली ध्रुविकरण २०७४ को आम निर्वाचनका समयमा भएको थियो। नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी मसालको खुला मोर्चा राष्ट्रिय जनमोर्चाका बीच चुनावी तालमेल गरेर जाने सहमतिले कम्युनिष्ट पार्टीलाई मत दिने र दिदै आएका मतदाताहरु, ती पार्टीका समर्थक, शुभेच्छुक र कार्यकर्ताका बीच उत्साह छाएको थियो। निर्वाचन परिणामले यो सहकार्यको औचित्य पुष्टि गरेको थियो। कम्युनिष्ट पार्टीकै झण्डा बोकेर संघीय संसद र सात मध्ये ६ प्रदेशमा बहुमत हासिल भएको थियो। यो समकालीन विश्वका कम्युनिष्ट पार्टीहरुका लागि र तिनको राजनीति हेरिरहेकाहरुका लागि पनि आश्चर्यजनक सफलता थियो। नेपालमा त्यसको पर्याप्त आधार थियो।

निर्वाचनको ६ महिनापछि एमाले र माओवादी केन्द्रका बीच एकता भयो। एकता पछिका अनुभवहरु त्यति उत्साहजनक रहेनन्। गतवर्ष माओवादी र एमाले फेरि आफ्नै घर—गोठमा फर्के। एमालेमा समेत विभाजन आयो र अहिले नेकपा एकिकृत समाजवादी बनेको छ। कठिन देखिएको एकता हुन जति सजिलरी भयो, विभाजन त्यतिकै सहज ढंगले भयो।

यसले दुइवटा कुरा देखाउँछः
पहिलो, नेपालका कम्युनिष्ट घटकका समर्थक, कार्यकर्ता र तिनका मतदाता कम्युनिष्टहरुका बीच एकता होस्, मिलेर आउन् भन्ने चाहन्छन्। एकताबद्ध भएर जाँदा तिनको तागत ह्वात्तै बढ्छ।

दोस्रो, कम्युनिष्ट पार्टीको नेतृत्व एकतामा भन्दा विभाजनमा बढी रमाउँछ, विचारधारा भन्दा वैयक्तिक आग्रह, दिर्घकालीन हित भन्दा अल्पकालीन स्वार्थले कम्युनिष्ट नेताहरुलाई हिँडाउँछ।

अहिले निर्वाचनको मुखमा नेकपा एमाले नेतृत्व एक्लै निर्वाचन सामना गर्ने रनाहामा छ, दौडाहामा छ। अरु कम्युनिष्ट पार्टीहरु कतै न कतै चुनावी गठबन्धनको खोजीमा छन्। दुवैतिरको मनोविज्ञान बुझ्न सकिन्छ।

तर मैले केही महिना यता जे जति कम्युनिष्ट कार्यकर्ता र जिल्लास्तरका नेतालाई भेटेको छु तिनमा एउटा समान धारणा देखिन्छः कम्युनिष्टहरुका बीच एकता नहुँदा काँग्रेसलाई फाइदा पुग्छ। नेपालका कम्युनिष्ट पार्टीहरुलाई वामपन्थी मान्ने हो भने उनीहरुको विकल्प दक्षिणपन्थी या मध्य दक्षिणपन्थी शक्तिहरु नै हुन्। यद्यपि विचार र व्यवहारले नेपालका मुख्य कम्युनिष्ट घटकहरु मूलतः मध्यपन्थी अथवा मध्य दक्षिणपन्थीजस्ता देखिन्छन्। तैपनि नेपाल र विश्वभर नै यिनीहरुलाई कम्युनिष्ट नाम भएकै कारणले पनि होला वामपन्थी नै मानिन्छ।

विश्वभरको प्रवृत्ति केलाउँदा के देखिन्छ भने हरेक देशको जनमतको ४० देखि ४५ प्रतिशत वरपर यस्ता अनेक रङका वामपन्थी भनिनेहरुको पक्षमा र अर्को ४० देखि ४५ प्रतिशत चाँही उदारवादी, या दक्षिणपन्थी अनुदारवादीहरुको पक्षमा रहेको हुन्छ। बाँकी जनमत एजेण्डाले या लोकप्रियताले डोहोरिन्छ र निर्वाचन परिणाम बदलिइरहन्छ।

नेपालका कम्युनिष्ट पार्टीहरुले गत निर्वाचनमा ल्याएको मत र गैरवामपन्थीले ल्याएको मत हेर्दा देखिएको/देखिने पनि त्यही हो। हालै इञ्जिनीयरहरुको संगठनको निर्वाचनमा आएको मतको प्रवृत्तिले त्यही कुरालाई पुष्टि गर्छ।

यसरी हेर्दा अहिले एमाले सबैभन्दा ठूलो राजनीतिक दलका रुपमा रहेको र एक्लै निर्वाचन लड्न हिँडेको भएपनि गत आम निर्वाचनमा उसले पाएको मतको हिस्सा त्यही ४० देखि ४५ प्रतिशत हो । स्मरण गर्नुपर्ने के छ भने त्यो हिस्सा वरपरबाट अरु कम्युनिष्ट घटकलाई पनि हिस्सा दिएर प्राप्त भएको हो। अहिले एमाले अध्यक्ष कमरेड केपी शर्मा ओली अरु राजनीतिक दलका नेता भन्दा लोकप्रिय रहेको देखिएका छन्। उनको नेतृत्वकै कारण गैरवामपन्थी मतदाताको एउटा हिस्साले पनि एमालेको पक्षमा मतदान गर्न सक्छ। दक्षिणपन्थी शक्तिले पाउने मत घट्न सक्छ।

यसमा ध्यान दिनु पर्ने कुरा गत निर्वाचनमा प्राप्त शक्ति सुरक्षित राख्न नसकेको र विभाजित पनि भएकोले त्यसको मार एमालेलाई पर्ने निश्चित छ। यसको परीक्षण यसै निर्वाचनले गर्नेछ। अरु कम्युनिष्ट पार्टीले पनि राम्रो प्रदर्शन गरेर एक्लै शक्ति आर्जन गर्ने सम्भावना देखिन्न। यसको अर्थ हुन्छ कमसेकम कम्युनिष्ट पार्टीहरु एउटै मोर्चामा उभिए भने तिनले सहजै जीत हासिल गर्लान्। अन्यथा सोलोडोलोमा दक्षिणपन्थीहरुको हात माथि पर्छ।

तर भूसालले भन्नुभए जस्तो तत्काल कम्युनिष्ट एकता र सहकार्यको सम्भावना म चाहीं देख्दिन। स्थानीय निर्वाचनका सन्दर्भमा पालिकास्तरमा कतै कतै तालमेल होला, हुन सक्ला तर विभाजनका मुख्य कारण र अन्तर्यहरुले देखाउने कुरा चाहीं के हो भने अहिलेकै नेतृत्वका बीच तत्काल एकीकरण असम्भव छ। भूसालको भाषामा ‘काँग्रेस चढेको सुनको पाल्की बोकिरहेका कम्युनिष्ट नेताहरु र पाल्की अर्कालाई चढ्न दिएर परबाट जिस्क्याइरहेका’ एमालेका नेतृत्वबाट कथंकदाचित एकताका कुरा भइहाले भने पनि त्यो अल्पकालीन स्वार्थका लागि एक अर्कालाई उपयोग गर्ने हदसम्म सिमित हुनेछ। मेरो विचारमा विगतमा एमाले र माओवादीमा आएका विभाजन र एकता पछिका प्रवृत्तिहरुलाई हेर्दा, आगामी निर्वाचनसम्म यी सबैले अलग अलग बाटो हिँड्ने र ठक्कर खाएकाहरुले एकताको बाटोको  उपाय खोज्लान्।

तर एकता गरेर बाहेक यी सबैले लामो समय कम्युनिष्ट झण्डा बोकेरै राष्ट्रिय राजनीतिमा भूमिका पाइरहने कुरामा मलाई चाहीं विश्वास छैन। यसकारण पार्टी बाहिरबाट भएपनि कम्युनिष्टका बीच एकताको बहस चाहीं अहिले नै थालेको राम्रो।