रेनु दाहाल : विकासमा ‘रोलमोडल’

काठमाडौं। स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी तात्न थालेको छ। स्थानीय तहमा जिम्मेवारी प्राप्त गरेको पाँच वर्ष पुग्नै लाग्दा आम मतदातामा आफ्ना जनप्रतिनिधिले के गरे, के गरेनन् ? भन्ने बहससमेत सुरु भएको छ। मतदाताले अघिल्ला जनप्रतिनिधिले निर्वाचनमा गरेका वाचा सम्झिन वा अभिलेखहरू खोतल्न थालेका छन्।

बहुदलीय लोकतान्त्रिक प्रणाली भएका मुलूकहरूमा निर्वाचनको विजय वा पराजय मुख्यतः राजनीतिक पार्टीको बर्चश्व र लोकप्रियतामा निर्भर रहन्छ। नेपाल पनि त्यसबाट अछूतो छैन र हुन पनि सक्दैन। तर, निर्वाचनमा दलको वर्चश्व मात्र सबैथोक हुँदैन। दलले उठाएका उम्मेदवार र ती उम्मेदवारले बोक्ने एजेण्डामा पनि निर्वाचनको भविष्य अन्तरनिहित हुन्छ। उम्मेदवारले सही भूमिका खेल्दा हार्ने चुनावहरू जितिन्छन् र गलत भूमिका खेल्दा जित्ने चुनावहरू हारिन्छन्।

भरतपुर महानगरका मेयर रेनु दाहाल विगत पाँच वर्षदेखि लगातार चर्चाको शिखरमा छन्। चितवनमा भूगोलको राजनीति नगरेकी र लाभका पद खास रूचिसमेत नराख्ने दाहाल जब भरतपुर महानगरको उम्मेदवारका लागि तयार भइन्, त्यतिबेलादेखि नै उनको पक्ष र विपक्षमा मतविभाजन सुरु भयो। माओवादी पार्टीकै कतिपय ‘दिग्गज भनिएका’ नेता तथा ‘बुद्धिजीवीहरू’ले उनीबारे तीतो टिप्पणी गरेका थिए। विरोधीहरूका लागि त उनको उपस्थिति आकस्मिक र प्रतिशोधपूर्ण थियो नै। यद्यपि, उनी चुनावी अभियानमा होमिइन्।

गठबन्धनको सकसपूर्ण अवस्था पार गर्दै मेयरको उम्मेदवार बनेपछि पनि उनको यात्रा सहज थिएन। नियोजित ढंगले आक्रमण गर्नेदेखि राजनीतिमा उनको भूमिकालाई अवमूल्यन गर्दै जबरजस्ती ‘छोरी’को अलंकार भिराउनेसम्मका गतिविधिहरू आफ्नैहरूबाट समेत भए। तर, उनी निर्वाचनको मोर्चामा डटिरहिन्।

भरतपुरको भूगोलमा ‘खाएखेलेको’, विकासप्रेमी र दिग्गज भनिएका नेताहरू जब निर्वाचनमा पराजित भए, तब ‘रेनु लाभको पदका निम्ति मात्र भरतपुर आएको र खास काम गर्न नसक्ने’ विश्लेषणको वर्षा हुन थाल्यो। तर, जब रेनु आफ्नो वास्तविक छविसहित मैदानमा खडा हुन थालिन्, तब आलोचकहरूले आफूलाई पुनर्समीक्षा गर्नुपर्‍यो।

देशका महानगरका प्रमुखहरू गुमनाम रहँदा दाहाल भने अहोरात्र विकासका काममा सक्रिय छन्। ठूला पूर्वाधार निर्माणदेखि जनताका मसिना समस्या सम्वोधनमा उनी उत्तिकै सक्रिय छिन्। उनको कार्यकालमा पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन, सामाजिक सुरक्षा, सामाजिक विकासलक्षित कार्यक्रम, कृषिको प्रवर्धन, कृषिको यान्त्रिकीकरण, विविधिकरण र बजारीकरण, युवा सशक्तिकरण, सुशासन र प्रशासनिक सुधार, महिला तथा बालबालिकाको हित संरक्षण, शिक्षा क्षेत्रको सुधार र वैज्ञानिकीकरण लगायतका क्षेत्रमा उनको सक्रियता मित्रहरूका लागि ‘लोभलाग्दो’ र प्रतिस्पर्धीहरूका निम्ति ईश्यापूर्ण छ। दिन होस् वा रात, खुसी होस् वा दुःख, उनी हमेसा जनतासँग हुन्छिन्, जनताका सुखदुःख साझेदारी गर्छिन्।

चुनावी दौरानमा घोषणा गरिएका कैयौं कामहरू अहिले पनि ‘पाइपलाइन’मा छन्। ओली नेतृत्वको नेकपा सरकारले राजनीतिक प्रतिशोध नसाँधेको भए भरतपुरले विकासमा अझै फड्को मार्न सक्थ्यो भन्नेहरू प्रशस्त छन्। तर, ओली र प्रचण्डबिचको राजनीतिक विवादमा ओलीले भरतपुरमाथि निसाना साँध्दै महानगरलाई स्मार्टसिटीको सूचिबाटै हटाइदिए। भरतपुरको विकास रोक्न उनले सक्नेसम्मका गतिविधि अगाडि बढाए। वामपन्थी भनिएकै सरकारले गरेको प्रतिशोधपूर्ण व्यवहारको शिकार दाहाल मात्र भइनन्, विकासको सुनौलो बाटो हिँडिरहेको भरतपुरसमेत पर्‍यो।

कांग्रेससँगको गठबन्धनमा निर्वाचनमा विजयी, एमालेसँगको सहकार्यमा नीति तथा कार्यक्रम तर्जुमा, फेरि कांग्रेससँग गठबन्धनको परिस्थितिले महानगरमा जुन अपेक्षाका साथ योजना अघि बढेको थियो, त्यसमा केही चुनौती थपिएको देखिन्छ। कतिपय अनुभवजन्य सीमा तथा साधन स्रोतको सीमितता पनि घोषित लक्ष्य हासिल गर्न चुनौतीका रूपमा देखिएका छन्। यद्यपि, भरतपुरमा पाँच वर्षमा जे भएको छ, देशले देख्नेगरि भएको छ, मतदाताले अनुभूत गर्नेगरि भएको छ, सिंगो देशले गौरव गर्नेगरि भएको छ, नयाँ पुस्ताले प्रेरणा लिनेगरि भएको छ।

वैशाख ३० गतेका लागि सरकारले स्थानीय तहको निर्वाचनको मिति तोकेको छ। आगामी निर्वाचनपछि भरतपुरमा विकासको गति रोकिने त होइन ? भन्ने स्थानीय मतदाताको चिन्ता देखिन्छ। रेनु मेयरमा नदोहोरिँदा उनले थालेका रणनीतिक महत्वका कामहरूको भविष्य के होला ? यस प्रकृतिको बहस पनि महानगरमा सुरु भएको छ। पहिलो कार्यकालमा थालिएका कामको पूर्णताका निम्ति पनि महानगरमा रेनु निर्बिकल्प भएको ठान्नेहरूको ठूलो जमात छ। यद्यपि, निर्वाचनमा यो जमातको भूमिका के होला, अहिल्यै भन्न सकिन्न। तर, सत्य यो हो कि उनी मेयरमा नदोहोरिँदा भरतपुरको विकासमा सुस्तता निश्चितजस्तै छ।

भरतपुरमा मात्र होइन, वामपन्थी आन्दोलनमा रेनुलाई विकासमा ‘रोलमोडल’ नेताका रूपमा चिन्न थालिएको छ। कुनै बेला ‘छोरी’को उपमा दिनेहरूसमेत उनलाई ‘मुुटुमाथि ढुंगो राखेर’ भए पनि विकासप्रेमी नेता भन्नुपर्ने बाध्यतामा छन्। वामपन्थी आन्दोलनमा रेनुको नेतृत्व क्षमता र विकासको सोंचले धेरैलाई आकर्षित गरेको छ। त्यसैले त नयाँ पुस्ताले भन्न थालेको छ, ‘‘विकास हेर्न भरतपुर जानू, मेयर त रेनुजस्तो हुनू।’’