ओलीलाई इंगित गर्दै नेपालले भने- आफैँले जन्माएको सन्तान रावण भइदियो

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रावणको संज्ञा दिएका छन्। शनिबार गोरखामा एकीकृत समाजवादी पार्टीले आयोजना गरेको जिल्लास्तरीय भेला तथा प्रशिक्षणमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

अध्यक्ष नेपालले भने, ‘एमाले भत्काउने काममा मात्र लागेको विध्वंसकारी पार्टी भयो। उनले ओलीप्रति इंगित गर्दै भने, ‘आफैँले जन्माएको सन्तान रावण भइदियो।’

अबको चुनाव अग्नि परीक्षा रहेको बताउँदै उनले गोरखाका नेता कार्यकर्तालाई चुनाव केन्द्रित हुन, जनताको घरदैलोमा पुग्न र पार्टीको एजेण्डाबारे जानकारी गराउन निर्देशन गरे।

नेकपाको एकता ओलीको षडयन्त्रका कारण भंग भएको उनले आरोप लगाए। ओलीले एमालेलाई प्रालि जस्तो भएको बताए।

‘एमाले अब एमाले रहेन, बि माले, सि माले भयो,’ उनले भने, ‘पटक–पटक भनेको छु सूर्यमा ग्रहण लागिसक्यो, काम नगर्ने, गफ मात्रै गर्ने गफाडी त्यहाँ छन्।’