गठबन्धनको भर परेर ढुक्कसँग नसुत्नुहोला : प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू बिग्रँदै गएको स्वीकार गरेका छन्। शनिवार सिन्धुलीमा आयोजित पार्टी भवनको उद्घाटन कार्यक्रममा प्रचण्डले अब चुनावमा आत्मसमीक्षा गरी माफी मागेर जनतामाझ जानुपर्ने बताए। यसअघि कमजोरी भयो, अब त्यसो गर्दैनौं भनेर जनताका घरघरमा जान कार्यकर्तालाई निर्देशन पनि दिए। जनतासँग माफी माग्न अफ्ठेरो नमान्न पनि उनले आग्रह गरे।

‘यो औपचारिक निर्वाचन मात्रै होइन, जनआन्दोलनका उपलब्धिका रक्षा गर्ने वा मर्न दिने भन्ने लडाइँ हो। हामी पहिला लडाइँमा जाँदा घाइते भइन्छ भनेर आफैँ स्ट्रेचर बोकेर, पक्कै मरिन्छ भनेर कोदालो बोकेर गइन्थ्यो खाल्डो खनेर पुर्नका लागि।’ उनले भने, ‘तर यता आइसकेपछि थाहै नपाईकन भेडासँग हिँड्दा हिँड्दै भ्या भ्या गर्न थालियो । हामी अलिकति बिग्रिएका छौं, सिंह हौं तर भेडासँग हिँड्दा हिँड्दै भ्या भ्या गर्न थालियो, अब फेरि एक पटक सिंह भएर गर्जनुपर्छ।’

जसले यो परिवर्तन ल्याएको हो त्यसले चाहिँ हार्नुपर्ने, र जो विरोधी हो उसले जित्ने चुनाव लोकतान्त्रिक नहुने उनको भनाई छ। उनले गुण्डागर्दी धाँधली र षड्यन्त्र गरेर चुनाव जित्नेहरूलाई परास्त गर्न डटेर लाग्न युवालाई आग्रह गरे।

‘२०६४ को चुनाव हामीले वाइसिएल आयो भनेपछि सातो जाने बनाएर जित्या हो, जनताले वाइसिएल आयो भनेपछि आफ्नै छोराछोरी आयो भन्ठान्थे, जाली फटाहहरु भाग्थे, अनि जनताले ढुक्कसँग माओवादीलाई भोट हालेका थिए,’ प्रचण्डले भने ‘अहिले त वाइसिएल पनि अलिअलि मुर्झायो कि भनेजस्तो देखेपछि जनता सुरक्षित हुन्नौं कि भन्ठान्छन्। गुण्डागर्दी अरूले गर्न थाले। त्यसलाई ठीक पार्न आजैदेखि तयारी गर्नुस्। लड्नका लागि के सहयोग चाहिन्छ हेडक्वार्टर तयार छ । तर हामीले जित्नै पर्छ।’

प्रचण्डले चुनावका लागि गठबन्धनको मात्रै भर गरेर नबस्न कार्यकर्तालाई सुझाए। उनले आफैँ जित्नेगरी तयारी गरे मात्रै गठबन्धन कामकाजी हुने बताए। ‘गठबन्धनको भर परेर ढुक्कसँग नसुत्नुहोला। आफैँ जित्ने गरी बनाइयो भने मात्रै गठबन्धन पनि कामकाजी हुन्छ। आफूले जित्ने तयारी नगरीकन गठबन्धनको भर गरियो भने भन्न सकिँदैन, भोलि बिहान के हुन्छ? त्यसकारण आफ्नो तयारी राम्रो गरौं। अनि मात्रै गठबन्धन पनि हामीलाई खोज्दै आउँछ। हामीले रगत बनाएर ल्याएको परिवर्तनलाई हामीले नै रक्षा गर्ने हो,’ उनले भने।