रुसद्वारा युक्रेनमा हाइपरसोनिक क्षेप्यास्त्र प्रहार, के हो हाइपरसोनिक ?

एजेन्सी। रुसले शुक्रबार युक्रेनमा पहिलो पटक आफ्नो सबैभन्दा नयाँ किन्जल हाइपरसोनिक मिसाइल युक्रेनको पश्चिममा रहेको हतियार भण्डारण स्थल नष्ट गर्न प्रयोग गरेको रक्षा मन्त्रालयले जनाएको छ।

‘हाइपरसोनिक एरोबलिस्टिक मिसाइलसहितको किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले इभानो-फ्रान्किभस्क क्षेत्रको डेलियाटिन गाउँमा मिसाइल र उड्डयन गोदाम भएको ठूलो भूमिगत गोदामलाई ध्वस्त पारेको छ,’ रुसी रक्षा मन्त्रालयले जनाएको छ।

राज्य समाचार एजेन्सी आरआईए नोवोस्तीले जनाएअनुसार किन्जल हाइपरसोनिक हतियारको पहिलो प्रयोग हो जसलाई मस्कोले पश्चिमी युक्रेन समर्थकमा ‘विशेष सैन्य अपरेशन’ भनेको छ। शनिबार रुसले प्रहार गरेको किन्झाल ब्यालेस्टिक क्षेप्यास्त्रको गति आवाज भन्दा १० गुणा बढी रहेको बताइएको छ। यो क्षेप्यास्त्र १८ सय किलोमिटर परबाट प्रहार गर्न सकिन्छ।

रुसले गत फागुन १२ गते युक्रेनमाथि आक्रमण गरेपछि दुवै देश युद्धमा रहेका छन्। रुसले आफ्नो सीमा जोडिएको युक्रेनको पूर्वी क्षेत्रको विभिन्न सहरहरुमाथि नियन्त्रण कायम गरिसकेको छ। युक्रेनलाई युद्धमा पश्चिम देशहरुले हतियार तथा आर्थिक सहयोग गरेर सघाउँदै आएका छन्।

के हो हाइपरसोनिक मिसाइल ?

हाइपरसोनिक मिसाइल अर्थात् आवाजभन्दा धेरै गुणा गति भएको। हाइपरसोनिक मिसाइलको गति यति छिटो हुन्छ कि यो हावामा आवाजको गतिभन्दा ५ गुणा बढीले ट्राभल गर्छ। हावामा आवाजको गति ३८३६एमपीएच हो।

हाइपरोसोनिक मिसाइल हाइपरसोनिक क्रुज मिसाइल र ग्लाइड भेकलमार्फत दुई किसिमका निर्माण भइरहेका छन्। हाइपरसोनिक क्रुज मिसाइल भनेको जेट इन्जिनमार्फत उच्च गतिमा आफ्नो टार्गेटलाई आक्रमण गर्छ। यो नन ब्लास्टिक मिसाइल प्रणालीभित्र पर्छ।

हाइपरसोनिक ग्लाइड मिसाइल भनेको पहिला मिसाइल आकाशमा लन्च गरेर हाइपरसोनिक गतिमा भुईंमा भएको टार्गेटलाई आक्रमण गर्छ। मिसाइलहरु सबसोनिक,सुपरसोनिक र हाइपरसोनिक छन्। सबसोनिक मिसाइलको गति आवाजकोभन्दा कम हुन्छ। यीनीहरु ७०५ एमपीचको गतिमा हुन्छन।

सुपरसोनिक आवाजको गतिभन्दा केही बढी हुन्छन्। २३०० एमपीएचसम्मको गति हुन्छ। यिनीहरु माच १,२ र ३ सम्मको गतिमा हुन्छन्। हाइपरसोनिक मिसाइलले माच ५ गतिलाई नाघ्छ। यिनीहरुको गति ३८०० एमपीएचभन्दा बढी हुन्छ। उच्च गतिमा हुने भएकाले संसारमा भएका विद्यमान अन्य डिफेन्स प्रणालीले पनि छेक्न नसक्ने भएकाले अहिलेका शक्तिराष्ट्रहरु हाइपरसोनिक मिसाइल निर्माणमा ध्यान दिएका हुन्।

अमेरिका, रुस, चीन, फ्रान्स र युके हाइपरसोनिक प्रविधिमा काम गरिरहेका छन्। हाइपरसोनिक मिसाइलमा शक्तिराष्ट्रहरुको ध्यान जानुको मुख्य कारण भनेको अहिले विश्वमा विद्यमान मिसाइल डिफेन्स सिस्टम फिक्का हुनु हो। अहिले विश्वमा हाइपरसोनिक मिसाइललाई लक्षित गरेर मिसाइल डिफेन्स सिस्टम निर्माण भएको छैन।