‘दिज्जू फेमिनिजम्’ अर्थात् भालेवाद

केही महिनाअघि नेकपा एमालेका एक नेताले एक सन्दर्भमा नेपाली फेमिनिस्ट(नारीवादी) हरूका दुई प्रकार रहेको बताउँदै – एउटा चाहिँ महिलाका सामाजिक कष्टहरूलाई साँच्चै बुझ्ने ‘वास्तविक फेमिनिस्ट’ र अर्कोचाहिँ सम्भ्रान्त-आत्मकेन्द्रित ‘दिज्जू फेमिनिस्ट’ रहेको बताएकी थिइन्। दिज्जू फेमिनिस्टहरू भन्नेबित्तिकै महिला आन्दोलनमा जोडिएका केही भाग्यमानी र सम्भ्रान्त महिलाहरूको चित्र मेरा दिमागमा नाच्न थाले।

सडकका छाप्रामा बस्ने महिला हुन् या ठूला बँगैचाभित्रका सम्भ्रान्त महलमा बस्ने हुन्, फरक लैंगिक परिचय भएकै कारण कुनै न कुनै रूपमा संसारभर महिला अझै पनि अपमानित र शोषित छन्। समाजमा रहेको मुलतः शोषक र शोषित वर्गका दुई बिम्ब हुन् छाप्रो र महल। समाजमा वर्गकै आधारमा सोपान (हाइरार्की) बन्छ, वर्गकै कारण मान्छेको चरित्र र स्वभाव पनि फरक हुन्छ। सम्पत्ति र सामाजिक पूँजीकै आधारमा समाजमा वर्गहरू निर्माण हुन्छन्। र, वास्तविक नारीवादी र दिज्जू नारीवादीहरू पनि वर्गीय समाजकै उत्पादनहरू हुन्।

समाजशास्त्रले समाजमा मूल रूपमा ४ खालका नारीवाद रहेको उल्लेख गर्छः र्‍याडिकल नारीवाद, मार्क्सवादी नारीवाद, उदारवादी नारीवाद र फरक नारीवाद (उत्तर आधुनिक नारीवाद)। यद्यपि इको फेमिजिजम्लगायतका अन्य केही नारीवादहरूको पनि अचेल चर्चा हुनेगर्छ। माथि उल्लेखित सबै खालका नारीवादीहरू हाम्रोमा भेटिएपनि नेपाली समाजमा भने ‘वास्तविक नारीवाद’ र ‘दिज्जू नारीवाद’कै प्रभाव देखिन्छन्। उसो त उग्रवादी नारीवाद, मार्क्सवादी नारीवाद, उदारवादी नारीवाद र उत्तरआधुनिक नारीवादका प्रभावहरू एकअर्कामा घुसेर बेग्लै खालको नारीवाद अर्थात् ‘हाइब्रिड नारीवाद’ पनि देखिने गरेको छ। जुनसुकै सिद्धान्तमा आधारित भए पनि नारीवादको ध्येय लैंगिक आधारमा हुने विभेदलाई कम गर्नु र निमिट्यान्न पार्नका लागि लड्नु हो, समता स्थापित गर्नु हो। सन्तुलित समाजका लागि लैंगिक विभेदविरोधी जुनसुकै आन्दोलन समाजको हितमै छ, समताको हितमै छ।

तर दिज्जू नारीवादले चाहिँ प्रकारान्तरले भालेसत्ताकै पृष्ठपोषण गर्ने भएकाले त्यसबारे टिप्पणी गर्न आवश्यक ठानिएको हो। र, नारीवादका अनेकौँ प्रकारहरूबारे विश्वविद्यायलका समाजशास्त्रीय कक्षामा छलफल हुने भएकाले यहाँ मौलिक ‘दिज्जू नारीवाद’बारे मात्रै चर्चा गर्न खोजिएको हो। सम्भवतः हाम्रोजस्तै वर्गीय र सामाजिक चरित्र भएका एशिया र अफ्रिकाका देशहरूमा पनि ‘दिज्जू नारीवाद’ अवश्य पनि कुनै न कुनै रूपमा अस्तित्वमा छ।

व्यक्तिकेन्द्रितभन्दा प्रवृत्ति केन्द्रित भइकन अब चर्चा गरौँः दिज्जू–फेमिनिस्टहरू को हुन् त? यो कस्तो नारीवाद हो? यसले के चाहन्छ? दिज्जू फेमिनिस्टहरू आत्केन्द्रित महिलावादीहरू हुन्, जो आफूले जीवनमा भोगेको स्त्रीद्वेसी व्यवहारहरूका कारणमात्र महिला र महिलाप्रति हुने केही असंवेदनशीलताप्रति संवेदनशील हुन्छन् र सस्तो भावुकताका कारण मात्रै महिला अधिकारको वकालत गर्ने गर्छन्। र, यिनीहरू मूल रूपमा समाजका सम्भ्रान्त र शासक जातिका हुने गर्दछन्। हाम्रो समाजमा ‘पुरुष महिलावादी हुन्नन्’ भन्ने चिन्तन प्रधान भएकाले दिज्जू फेमिनिस्टहरू भन्नेवित्तिकै प्रायः महिला नै हुने कुरामा कुनै सन्देह नहोला

नेपाली शासनसत्ता र यसका वरपर रजगज गरेका र सत्तामा तर मार्ने अवसर पाएका केही उच्च जातीय, शहरीया र त्यसमा पनि खासगरी राणा, शाह, बस्नेत र थापाका छोरीबुहारीहरू नै मूल रूपमा दिज्जू फेमिनिस्टहरू हुन्। आर्थिक र सामाजिक आधारमा व्यक्ति र संस्कृति बनेको हुन्छ भन्ने पनि यिनलाई ज्ञान हुँदैन। दिज्जू फेमिनिस्टहरूलाई समाजको वर्गीय चरित्र हुन्छ भन्ने थाहा भए नै पनि सो तथ्य स्वीकार्न उनीहरू चाहँदैनन्। किनकि समाजको हिजोको शासकीय विभेदको जगमा नै यस्ता ‘भाग्यमानी दिज्जू’हरू आज ऐश्वर्यको जीवन जिइरहेका हुन्छन्।

दिज्जू फेमिनिस्टहरू आम रूपमा भाग्यवादी र रहस्यवादी हुन्छन्। विज्ञानका व्याख्या जटिल हुने भएकाले यिनलाई विज्ञानको व्याख्या पटक्कै मन पर्दैन। कुनै दैवी शक्तिको परम् चेतनाले जड पदार्थको सिर्जना गरेको मत हुन्छ यिनीहरूको। त्यसो भएपछि स्वतः रहस्य र पूर्वजन्मका कथाहरूले यिनलाई सहजै छुने नै भयो। अतः आजको आफ्नो सम्मान र सान सौकात पनि पूर्वजन्मकै कर्मको फल हो भन्ने व्याख्या दिन पछि पर्दैनन् यिनीहरू। संरचनात्मक लाभांसकै कारण कोही जन्मले नै धनी, सम्पन्न हुन्छ र इज्जत प्राप्त गर्छ तथा अर्को जन्मैले गरीब र अपमानित हुन्छ भन्ने कुरो जान्ने र पढ्ने फुर्सद यिनलाई हुँदैन।

परम्पराका रूढीग्रस्त कथा र अवधारणालाई महिमामण्डन गर्ने यिनीहरू बलात्कारका पूराना र धार्मिक लोकथाहरूको समेत प्रतिरक्षा गर्छन्। ७० वर्षका बुढाले ७ वर्षको बच्चालाई बिहे गरेर गर्भिणी बनाएको कथालाई समेत अन्सन्ट तर्क गरेर सही सावित गर्ने प्रयास गर्छन्। लोककथाका बलात्कारी पात्रहरूलाई आदर्शीकरण गर्छन्, जायज ठहर्याउने यत्न गर्छन्। र, जब जब महिला हित र समताका पक्षमा गम्भीर बहसहरू हुने गर्छन्, दिज्जू फेमिनिस्टहरू प्रकारान्तरले बलात्कारी र महिलाद्वेसीहरूकै पक्षमा उभिन्छन्, जसरी अहिले बलात्कारको आरोप लागेका एक चलचित्र कलाकारका पक्षमा यिनीहरू लाग्दै भनिरहेका छन्, ‘बलात्कारबारेको नेपाली कानून व्यवहारिक छैन। १६ वर्षकालाई समेत वयस्क करार गर्दै कानूनमा सुधार गर्नुपर्छ।’

अतः यिनीहरूलाई प्रतिगामी–फेमिनिस्ट भन्दा पनि हुन्छ किनकि यिनीहरू पुराना कथामा त रमाउँछन् नै, यिनीहरूलाई पुराना प्रेत व्यवस्थाहरूप्रति पनि उत्तिकै आशक्ति छ। हिजोकै जमाना, संस्कार र परम्परा सही थियो र आज सबै बिग्रियो भन्ने भाष्य स्थापित गर्न यिनीहरू मरिहत्ते गर्छन्। यिनीहरू किनपनि यसो भन्छन् भने सम्भ्रान्त सत्ता, शासक वर्ग/जातिविरुद्ध आज हिजोभन्दा धेरै आवाजहरू उठ्ने गरेका छन्। हिजो हेपिएका र बहिस्करणमा परेका मैलाधैलाहरू अचेल मुन्टो उठाएर कुरा गर्न थालेका छन्। दिज्जू फेमिनिस्टहरू एकाध–महिला हितको त कुरा गर्छन् तर यिनलाई निम्छरा र दुब्ला मान्छेहरूले अधिकारको कुरा गरेको मन पर्दैन।

नेपालका मात्रै होइन, संसारभरका महिलाहरू संस्कार र परम्पराका नाममा लादिएका कतिपय कुरितीकै कारण पीडित हुने गरेका छन्। प्रख्यात नारीवादी लेखक बेल हुक्सले त भनेकै छिन्, महिलामाथि सांस्कृतिक रूपबाट हुने सामूहिक शोषणको स्वरूपलाई चुनौती नदिइ र तिनलाई नबदली महिलाहरू आफ्नो वर्गका पुरुषहरूसँग बराबरी हुनसक्छन् भन्नु भ्रम हो। अश्वेत हुक्सले बारम्बार राजनीति र महिला अधिकारको कुरा सँगै लैजानुपर्छ भनेर महिला आन्दोलनलाई संसारका सबै शोषित पीडित महिलाको आन्दोलन बनाउने कुरा गरिन्।

अर्की अमेरिकन नारीवादी लेखक अन्ड्रे लर्डको यो लेख अंशको पनि हामीले यसै सन्दर्भमा ख्याल गर्नुपर्छ। उनी लेख्छिन्, ‘गरीब, काला जाति, तेस्रो विश्वका महिलाहरू, लेस्बियनलगायत आफ्नो छुट्टै पहिचान भएका महिलाहरूका बारेमा ध्यान नदिइएको तथा उनीहरूका कुरा नसुनिएको नारीवाद एक किसिमको प्राज्ञिक अभिमान मात्रै हो।’

तर दिज्जू फेमिनिस्टहरूलाई जस्तासुकै जड संस्कार र परम्पराको उधुमै माया छ। यिनीहरू पश्चिम नेपालको छाउपडी प्रथा सही होइन भन्छन् तर आफूचाहिँ छुई बार्छन्। छुई बार्ने कुरा सरसफाईसँग जोडिएको भन्दै त्यो सही परम्परा भएको दुहाई दिन्छन्। स्वास्नीले मात्रै लोग्नेको खुट्टा ढोग्ने कुराको तथाकथित शास्त्रीय परिभाषासमेत दिन अघि सर्छन्। ‘अधिकार पहिले कि संस्कार पहिले?’ भन्ने बहसमा दिज्जूवालाहरू पहिले संस्कारकै पक्षमा बहस गर्न तयार छन्। दिज्जूहरूलाई सत्ता धेरै विषयको निर्णायक हो भन्ने थाहा छ, त्यसैले सत्ता र शक्तिसँग यो या त्यो नाममा सहजै घुल्न सक्छन्। प्रायः सधैँ संस्थापनको पक्षमा उभिन्छन्। अमेरिका र युरोपका कतिपय गोरा–फेमिनिस्टहरूले दासप्रथा र रंगभेदलाई स्वभाविक मानेजस्तै दिज्जू नारीवादीहरू पनि दक्षिण एसियाको अत्यन्त अपमानजनक र लज्जास्पद जातीय व्यवस्थाको पक्षपोषण गर्छन्, त्यसबारे बिरलै बोल्छन्। किनभने यिनका लागि नारीवाद केबल शासक वर्ग र सम्भ्रान्तहरूको–बुद्धीविलास हो।

खासमा यिनीहरू फेमिनिस्ट नै होइनन्, जसरी आजका कतिपय कम्युनिष्टहरू नाममात्रैका कम्युनिष्ट हुन्। समाज परिवर्तनका लागि भन्दा पनि आत्मरंजना र मनोरंजनका लागि महिला आन्दोलनमा जोडिएका दिज्जूहरूका लागि महिला आन्दोलन केबल केही थान अन्र्तर्राष्ट्रििय सेमिनार हो, सुकिलामुकिलाहरूको जमघट हो, सपिङ होलिडेज् हो। बफे पार्टी हो र निरन्तर विदेश सयर हो। ठूलो बजेटको प्रोजेक्ट ल्याउने विषय हुन्। अतः बाहिरबाट हेर्दा महिलावादी देखिएपनि दिज्जू महिलावादीहरू महिलावादी नै होइनन्, प्रकारान्तरले भालेवादी हुन्, भालेवादी सत्ताका वफादार गेटपाले हुन्। यिनीहरु सुडो फेमिनिष्ट (छद्म नारीवादी) हुन्। त्यसो हुँदा महिला आत्मसम्मानका कुरा गर्ने र महिला विभेदविरुद्ध लड्नेहरूले यस्ता पश्चगामी दिज्जू-महिलावादीहरूबाट सधैँ सचेत रहनुपर्छ। किनकि बाख्राको छाला ओढेका ब्वाँसाभन्दा छाला नओढेकै ब्वाँसाहरू कम खतरनाक हुन्छन्। यो पनि :-

बाँझोपनको निकास

पशुपतिनाथ मन्दिरमा पुगेर पूजा गर्ने क्रममा भैरवको मूर्तिसँग संसर्ग गरेपछि बाँझोपनको निकास भई सन्तान प्राप्ति हुन्छ भन्ने अन्धविश्वासका कारण त्यहाँ रहेको भैरव मूर्तिको शिरमा फूल चढाउने बहाना गर्दै निःसन्तान महिलाहरूले मूर्तिको लिङ्गमा आफ्नो यौनाङ्ग छुवाएर घर्षण गर्नु जस्तो निर्लज्ज अन्धविश्वास अरु के होला ? सन्तान प्राप्ति र सुख शान्तिका लागि भन्दै भारतको गयामा गएर नांगा बाबाले आफ्नो लिंगमा दलेर दिएको विभूति (खरानीको टीका) खोसाखोस गरेर शिरमा लगाउनु र त्यसबाट सन्तान प्राप्ती हुन्छ भन्ने विश्वास गर्नेहरू पनि हाम्रो समाजमा छन् । यो पनि कति ठूलो भ्रम हो सहजै अनुमान गर्न सकिन्छ ।

सन्तान कसरी प्राप्ति हुन्छ ? मानव समाजको श्रृष्टि कसरी हुन्छ ? भन्ने सम्बन्धमा विज्ञानले तथ्यसंगत विश्लेषण गरेको छ । जो मानिस आज विज्ञानका सिद्धान्त र सिपको प्रयोगबाट आविष्कार गरिएका वस्तुहरू मोवाइल, आइफोन, ल्यापटप, ट्याब्लेट आदिको प्रयोग गरेर र युट्युब, ट्वीटर चलाएर भरपुर आनन्द लिन्छन्, त्यस्तै गरी आधुनिक विमान चढी पच्चीस घण्टामा पूरै पृथ्वी चक्कर लगाएर जहाँकोतहीँ आइपुग्न सक्दछन्, त्यही मानिस सन्तान खोज्न कुनै जोगीको वा ढुङ्गाको लिङ्ग ढोग्न पुग्छन् । यो रुढीवादको पराकाष्ठा र अचेतन मानसिकताको उपज नै हो ।

कुनै जमानामा तिब्बतका दलाई लामाको दिसालाई बिष्टामृत मान्दै सेवन गरेपछि मुक्ति प्राप्त हुने विश्वासमा उनका अनुयायीहरूले तँछाडमछाड गरेर खानु, जताततै शिवको लिंग पार्वतीको योनीमा टाँसिएको ढुंङ्गाको आकार बनाएर राखिनु, त्यसमा चढाएको दूधलाई शिवपार्वती मिलनको पवित्र रस मानेर ग्रहण गर्नु तथा लिंगमा ढोग्नु सबै हद दर्जाका अन्धबिश्वास नै हुन् । दलाई लामाको विष्टा होस वा शिवपार्वतीको मिलन रसरूपी पदार्थ वा गाईको पिसाप (गहुँत) किन नहोस्, मलमूत्र भनेको मलमूत्रै हो । कुनै पनि धर्मको नाममा मानव विकार, अखाद्य, फोहरमैला खाद्यपदार्थ हुन सक्दैनन् । यो त मान्छेले मान्छेलाई कतिसम्म र कहिलेसम्म पटमूर्ख बनाउन सकिन्छ भनेर गरिएको एउटा परीक्षण मात्र हो । राजा रणबहादुर शाहले काठमाण्डौको त्रिपुरेश्वर मन्दिरको आफ्नो सालिकमा टाँसेको सुनको चरा ‘जबसम्म उडेर जाँदैन तबसम्म म मरेको हुन्न’ भनेर जनतालाई मूर्ख बनाए जस्तै हो यो ।

प्रकृतिजन्य पदार्थको पूजा

धर्ममा विश्वास गर्नेले नै पनि ढुंगाको मूर्ति, पीपलको वृक्ष, कुस, तुलसीजस्ता बनस्पतिलाई पुजिरहँदा यो बुझ्न जरुरी छ कि (प्रकृतिजन्य पदार्थ मानवहितका लागि) उपयोगी गुणलाई सापेक्षित महत्व दिएर ग्रहण गर्ने कुरा छुट्टै हो । धार्मिक ग्रन्थहरूले ती वस्तुको गुणलाई प्राकृतिक गुणको रूपमा स्थापित गर्नुभन्दा कुनै देवदेवीका काल्पनिक नामले पुकारेर प्रस्तुत गरेका छन् भन्ने कुरा बुझ्नु जरुरी छ । विष्णु पुराणलगायत अन्य धार्मिक ग्रन्थहरूमा लेखिएअनुसार जालन्धरकी पत्नी वृन्दालाई झुक्याएर विष्णुले सतित्व हरेपछि विष्णुलाई उनले श्राप दिएकी थिइन्– ‘तिमीलाई घाँस, झार, वृक्ष र पत्थर हुनु परोस्’ । त्यही श्रापका कारण विष्णु यी चार चीज हुनुपर्यो रे । एक असल महिलाको सतित्व लुट्ने बलात्कारीलाई दिएको श्रापको प्रतिफल विभिन्न रूपको पदार्थ वा वनस्पतिलाई त्यही विष्णुको प्रतीक मानेर पूजा गर्नु कसरी स्वाभाविक मान्न सकिन्छ ? के आज कुनै बलात्कारी पुरुषलाई बलात्कृत महिलाले न्यायको लागि दिएको मुद्दामा अदालतको फैसलाले बलात्कारी ठहर गरी सजाय खान ऊ बसेको जेललाई उसैको स्मारक, स्थल बनाउनुपर्दछ भन्ने प्रस्ताव राख्यो भने त्यस्तो प्रस्ताव कुनै महिलालाई स्वीकार्य होला ? स्वीकारियो र त्यही स्मारकमा फूल चढाएर ढोग्न लगाइयो भने न्याय खोज्नेलाई त्योभन्दा महाअन्याय के होला ?

ग्रहण लाग्दा

सूर्य वा चन्द्र ग्रहण लाग्दा सार्कीले सूर्य वा चन्द्रलाई कष्ट दिएको भनेर ‘छोड चमार’ भन्दै एउटा जाति वा समुदायलाई गाली गर्नुजस्ता परम्पराहरू विद्यमान छन् हाम्रो समाजमा । सूर्य, चन्द्र र पृथ्वी एउटै सरल रेखामा पुग्दा एउटा पिण्डको छायाँ अर्को पिण्डमा पर्दछ । त्यही छायाँ परेर छोपिएको भागलाई ग्रहण लागेको भनिन्छ । ग्रहका गतिका कारण ग्रहण लाग्ने हो भन्नेबारे विज्ञानले सप्रमाण सावित गरेको सयौँ वर्ष भइसकेको छ । आजको युगमा आएर पनि काल्पनिक कथाको आधारमा एक जातिसमुदायका श्रमजीवी मानिसहरूलाई आैँल्याएर ‘चन्द्र वा सूर्यलाई कष्ट किन दिइस् ?’ भन्दै गालीगलौज गर्नु, कुटपिटसम्मको ज्यादती गर्नु कति घृणित मानसिकताको उपज हो ?

भूकम्प रोक्न पूजा

अझै पनि ‘भूकम्प र पराकम्पन ल्याउने र रोक्ने कैलाशपति, पशुपति, अग्निदेव, वायुदेव, बारादेव हुन् अर्थात उनै महादेव हुन्’ भन्दै शिवको पूजा गर्ने चलन छ । भूकम्प आउनुको कारण दैत्य जागेर हो भन्दै परालका पुतला दहन गरेपछि दैत्य मरेको अभिनय गरिन्छ, त्यसपछि भूकम्प नआउने विश्वास गरिन्छ । कस्तो भ्रम छ समाजमा ?

२०७२ साल वैशाख १२ गते गएको भूकम्पपछि आएका पराकम्पन रोक्न भन्दै नेपाल ज्योतिष परिषद जस्ता संस्थाहरूले ठूलो धनराशी खर्चेर शान्ति यज्ञ लगाएको घटना पनि यसै सन्दर्भमा उल्लेखनीय छ । यदि हिन्दू आराध्यदेवले भुँइचालो ल्याइदिएको हुन्थ्यो भने यी देवहरू नमान्ने वा नभएका

भूगर्भ वैज्ञानिकहरूले पृथ्वीको भित्री भागलाई तीन भागमा बाँडेका छन् । केन्द्रभाग तथा सबैभन्दा भित्र अत्यन्त तापमानयुक्त तरल पदार्थ छ; त्यसमाथि बीचमा लेदो रुपी अत्यन्त तातो म्यान्टलको तह; त्यसमाथि पनि पृथ्वीको बाहिरी तहको रुपमा ठोस र कडा प्रकारको क्रष्टको तह । पृथ्वीको क्रष्ट तहमै जमिन र समुद्री पिँध रहेको छ । त्यही क्रष्ट भागमा मुख्य १५ वटा टेक्टोनिक प्लेटहरू छन् । यिनै प्लेटमाथि जमिन र समुद्री पिँध रहेका छन् । टेक्टोनिक प्लेटहरू चलायमान छन् । कुनै एक अर्कामा टकराइरहेछन् भने कुनै एक अर्काबाट टाढिँदै छन् । कुनैकुनै टेक्टोनिक प्लेटहरू एकअर्कामा छेउछेउबाट घिस्रिँदै विपरित दिशामा सरिरहेछन् । यसरी हुने टेक्टोनिक प्लेटहरूको चालको कारणले तिनीहरुबीचका सिमानाहरुमा पैदा हुने अत्यधिक दबावलाई थेग्न नसक्दा जमिनमुनि चट्टानमा धाँजाहरु फाट्ने र त्यही क्रममा उत्पन्न हुने तरङ्गले नै भूकम्प पैदा गर्ने हो । टेक्टोनिक प्लेटहरूको चालले पृथ्वीमा सुनामी आउने र ज्वालामुखी फाट्नेसम्मका हलचल पैदा हुन्छन् ।

जिब्रो छेदन

दसैँको नवमीको दिनमा जिब्रो छेदन गरेमा मुक्ति पाइन्छ भन्ने अन्धविश्वास छ हाम्रो समाजमा । २०७१ सालको दुर्गापूजाको दिन नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा ५० जनाले जिब्रो छेडे (अनलाइन खबर, २०७१, असोज १५ गते ।) जजसले जिब्रो छेदन गरे, के तिनले मुक्ति पाए ? त्यसबाट सुख, शान्ति, सम्बृद्धि केही भयो ? अहँ, बरु उनीहरूले कष्ट पाए, यातना भोगे, उपचारमा पैसा खर्च भयो, बेकारको क्षति भयो ।

छोराछोरीलाई दलितको नाम

जन्मेका छोराछोरी बाँचेनन् भने अछुत वा बिटुलो मानेर कालले लैजाँदैन भन्दै सार्की, कामी, दमै, गाइने, पोडे, मेत्तर, बादी आदि नामाकरण गर्ने चलन जो छ, त्यो पनि अन्धविश्वासको हद हो । के सार्की, दमाई, कामी, पोडे आदि कथित निम्न जातका बच्चाहरू अजम्बरी हुन्छन् ? दलित समुदायका बालकहरू स्वयम् मर्दछन् भने शुद्र प्रतीक नक्कली नाम राखेर कालको नजर पर्दैन भन्ने कस्तो भ्रम बोकेको छ हाम्रो समाजले ?

अपमानको शृङ्खला

घरबाट निस्कँदा दलित देखिएमा साइत बिग्रियो भनेर थुक्ने, गालीगलौज तथा हातपातसम्म गर्ने चलन पनि समाजमा अझै चालु छ । यो चलन अर्को अति अपमानजन्य चलन हो । जसले बनाएको जुत्ता पाउमा छ, जसले निर्माण गरेको औजारले उब्जाएको अन्न पेटमा छ, जसले सिलाएको कपडा ज्यानमा छ, जसले बनाएको गहना शीरमा छ, साँच्चै साइत मान्ने भए ती सिर्जनशील श्रमजीविलाई देख्दा शुभ साइत पो हुनुपर्ने हो । उल्टो, साइत बिग्रने रे ?! कस्तो उल्टो संस्कार ? “ढोल, गवार, पशु, शुद्र, नारी, यी हुन् सबै ताडनका अधिकारी ।” यो भनाइ तुलसीकृत रामायणको भनाइ हो । “उखु, तिल, शुद्र, त्रीपान, चन्दन, दही, सुवर्ण र पृथ्वी यी वस्तुलाई जति मर्दन गर्न (पीडा दिन, सताउन) सकियो, उति गुणवान हुन्छन् ।” यो भनाइ चाणक्य नीतिमा छ (पृ. ५४) ।

जात, वर्ण र वर्गरूपी विभेद रचेर एकै घर–घरानाका मानिसले मानिसलाई धार्मिक नियम नै बनाएर पशुलाई जसरी पिट्ने, बाजालाई जसरी ठोक्ने, उखुसरी पेल्ने, तिलसरी पिस्ने, पानसरी चपाउने, चन्दनसरी घोट्ने, दहिसरी मथ्ने आदि प्रचलन बनाएर प्रताडित गरे । फलस्वररूप एकै घरकी महिला, एकै समाजका दलित तथा श्रमिक वर्गलाई लगातार यातना र प्रताडना भोग्न वाध्य पारियो । यो धर्म र संस्कृतिले सिर्जना गरेको अन्धविश्वासको ज्वलन्त पक्ष हो । ती उत्पीडित समुदाय के अझै पनि यसलाई स्वीकारेर अचानो बनिरहने त ? यदि त्यो सह्य छैन भने अथवा त्यस्ता ताडना र बञ्चनाबाट बच्ने हो भने अब सधैँ अचानो बन्ने र बनाउने होइन । बरु अचानोलाई खुकुरीको बिँड बनाउनु जरुरी छ । बलियो बिँड भएको खुकुरी बनेर अन्धविश्वास र परंपराका आडमा टिकेका कुसंस्कारलाई चिर्नु ।

जसले धनको खातिर पढ्छ र शुद्रको अन्न (भान्सा) खान्छ, ऊ विनाकामको विषहीन सर्प समान हुन्छ (उही, पृ. ५३) । पढेर धन नकमाउने कुन चाहिँ पण्डित भए ? नारी, शुद्र र श्रमजीवी वर्गले अन्न नउब्जाए कसले उब्जाएको अन्न खान्छन् ? यो सब श्रमजीवी मनिसलाई घृणा, दमन, र सदाकाल शोषण गर्न सामन्ती समाजले रचेको प्रपञ्च हो भन्ने भेद आफै खुलेन र ? ब्राह्मणको बल विद्यामा, राजाको बल सेनामा, वैश्यको बल धेरै भएजस्तै शुद्रको बल द्विजाति (माथिल्ला वर्णका जाति)को सेवामा हुन्छ । (उही, पृ. १२) यदि माथिल्ला भनिने जातिको सेवा गरेर शुद्र बलिया हुनेभए पुस्तौँपुस्ता सेवामा लीन दलितहरू आजसम्म को बलिया भए ? कसले के पाए ? उही बहिष्कार, उही तिरस्कार होइन ? उनैका उदाहरण भन्नुपर्दा के चन्दन जति घोट्यो उति ठूलो हुन्छ ?

केही प्रचलित उखान टुक्का

आफ्ना जुँगामा ताउ लगाउने, उत्पीडित समुदायलाई होच्याउने केही प्रचलित उखान टुक्का यस्ता छन् :

‘फरियाको नाता’ : के नारी नभै नाता हुन्छ ?

‘गाइनेको घोडा’ : के दलितले घोडा चढ्न नहुने ?

‘धोबीको कुकुर जसरी पछिलाग्ने’ : के अरुको कुकुर मालिकको पछि हिँड्दैन ?

‘पौउनीको बोली’ : के यो समाजका गैरपौउनी भनिनेहरू सबै वचनका पक्का छन् ? त्यसो भए यो देशका नेता, मन्त्री तथा शासक सबैले कति वाचा पूरा गरेका छन् ?

‘पाए अन्त, कहीँ नपाए कामीको जन्त’ : जोसुकैको किन नहोस् विवाहको दिन भनेको महत्व दिनुपर्ने एउटा अवसर हो । यो अवसर समेतमा दलितले अपमान खेप्नु पर्ने

‘काले कामी र कामी काले भन्नु एउटै कुरा हो’ : के एउटा सज्जनले यस्ता कुरा वकिरहँदा कसैको जातीय स्वाभिमानमा चोट पर्ला भनेर सोचेका हुन्छन् ? भाषाको बनौट नै तयार गर्ने हो भने ‘काले बाहुन र बाहुन काले भन्नु एउटै कुरा हो’ अथवा ‘काले क्षेत्री र क्षेत्री काले भन्नु एउटै कुरा हो’ भन्न पनि सकिन्थ्यो नि ?

‘६ रूपियाँकी क्षेत्रिनी, सय पैसाकी सार्किनी, दुई पैसाकी दमिनी, विनाकामकी कमिनी’ : के नारीलाई यसरी नगद मूल्यमा नाप्न मिल्छ ? त्यसमाथि पनि जातीय आधारमा होची अर्घेली गर्न मिल्छ ?

‘अर्ति लिनु बूढाको, आगो ताप्नु मुढाको’ : पुरुषकेन्द्रित हाम्रो समाजमा श्रेष्ठकामको भागीदार पुरुषलाई नै बढी बनाइन्छ । मातृसत्तात्मक समाजको युगदेखि शासन चलाउने र आजसम्म घर चलाउने आमा वा हजुरआमा, नाम आउने चाहिँ बाउको वा हजुरबाउको ! भनिन्छ । मान्छेको ‘पहिलो कुल घर, पहिलो गुरु आमा’: आमा र हजुरआमाको नाम किन नआउने ? ‘अर्ति लिने बुढीको, बार लाउने सिउँढीको’ भने पनि हुन्थ्यो होला । बरु नारीलाई त नकारात्मक उखानमा उभ्याइन्छ ।

‘आफैं बोक्सी, आफै सुँडिनी’ : अस्पतालको सुविधा नभएको अवस्थामा आफ्नो अनुभवको आधारले सेवा गरेर ज्यानै बचाउनेसम्मको काममा समर्पित हुँदासमेत अब्जसको पुन्तरो झुण्ड्याइन्छ महिलाको स्वाभिमानमा ।त्यसमाथि महिलालाई हुँदै नभएको बोक्सीको बिल्ला पनि छँदैछ।

‘हेलाकी बुहारी पाहुनासित सुत’ : यस्ता उखान टुक्काले नारीको अस्मितामा कति ठूलो प्रहार गरेको छ ? त्यस्तै हो भने ‘मेरो छोरीलाई हेला गर्ने ज्वाइँ कुकुर्नीसित सुत’ भन्दिए पनि हुन्थ्यो होला । त्यस्तो उखान चाहिँ नबन्ने ।

गाउँखाने कथामासमेत नारीलाई नकारात्मक जोकमा उभ्याइएको छ ।

जस्तै ‘काली बुढी ठाडठाडै मुत्छे, ठाडी बुढी छलछली मुत्छे’ = (कोल) (नेपाली उखान र गाउँखाने कथा, पृ. २२२)

यस्ता कतिपय स्थानमा पुरुषलाई राखे पनि के फरक पर्थ्यो र ? महिलाकै हुर्मत लिनुपर्ने किन ? पुरुषलाई भने सकारात्मक उखानमा उभ्याइन्छ ।

‘आयुको छोरालाई बायुले खाँदैन, आँटी छोरालाई बाघले लाँदैन’ (उही, पृ.६२/६८)

रुढिगत सामन्ती संस्कारले भरिएको मानसिकताबाट वर्गभेद, लिङ्गभेद, जातिभेद पलायो भन्दैमा के रोगले, बाघले पनि त्यस्तै विभेद सिकेका होलान् ?

‘चुरा पोते उपहार’ : कसैले कसैलाई नामर्द वा लाछी सावित गर्न पर्दा चुरापोते उपहार पठाएर व्यङ्ग्य साँध्ने चलन राजनीतिक वृत्तमा समेत छ । के नारी साँच्चिकै कमजोर हुन्छन् त ? त्यसो भए पौराणिक कालका बाघ चढेर लडाइँ लड्ने दुर्गा, युद्धा‚ त्रिसूलधारी चण्डी, आधुनिककालका संसारको सर्वशक्तिमान् मानिएका अंग्रेज कम्पनी सरकारको सेनाप्रमुख स्टिर गार्डनलाई ढालेर युद्ध लड्दै राष्ट्ररक्षाको इतिहास कायम गर्ने भारतकी देशभक्त लक्ष्मी बाई, विश्वप्रसिद्ध नोबेल पुरस्कारले दुईपटक सम्मानित हुने पोलेण्डकी महिला वैज्ञानिक म्याडम क्युरी, अमेरिकाको युनिभर्सिटीसमेतमा पाठ्यपुस्तक बन्ने कृति रचयिता नेपालकी साहित्यिक धरोहर मदन पुरस्कार विजेता पारिजात, हररर आकाशमा जहाज उडाउने नेपालकी प्रथम महिला विमान चालक रक्षा राणा, सगरमाथाको चुचुरो चुम्ने नेपालकी प्रथम महिला आरोही पासाङ ल्हामु सेर्पा, सशस्त्र शाही सेनासँग घरेलु हतियार लिएर लड्दै बन्दुक र बम कब्जा गरी जनमुक्ति सेनालाई बुझाउने कालिकोटका दलित महिलाजस्ता विरङ्गनालाई बिर्सेर उनका श्रृङ्गारलाई कमजोरीको प्रतीक बनाउन मिल्छ ? (विश्वप्रशिद्ध ३५ महिला : पृ. २६,३६,११३)

यस्ता उखानटुक्का वा कथनहरू जोडेर श्रमजीवि जनता, महिला, दलितलाई होच्याउने, आक्षेपित गर्ने, उपेक्षित गर्ने समाजमा व्याप्त प्रचलन छ । आजकाल नै पनि यी बोली कतिपय सभ्य, शिक्षित भन्नेहरूबाट समेत जानेर वा झुक्किएर प्रसंगवश फुत्किन्छ । उनीहरूलाई यसले सम्बन्धित समुदायको मुटुमा बाण लाग्छ भन्ने हेक्कै हुँदैन । गरिब उत्पीडित समुदायका मानिस संगठित हुन र समानताको हक खोज्न लागे भने वा शोषक वर्गविरुद्ध विद्रोह गर्न लागे भने तिनलाई दबाउन र मनोबल खस्काउन यस्नता उखान बनाइए :

‘आछ्युँ खाएँ बछ्युँ खाएँ झुसे बारुलो’

‘सुँगुरले ‚वर्ग देख्न सक्तैन’

‘कस्ता–कस्ता कहाँ गए मुसाका छोरा दरबार’

‘पाँच औँला पनि बराबर हुन्नन्, जातमा बराबरी हुन्छु भनेर हुन्छ ?’

‘लेखेको मात्रै पाइन्छ, देखेको पाइन्न’

‘कुहिनाले हानेर पहरो भत्कन्न’

(दर्शन र दृष्टिकोण : पृ. ७१/७२)-इमूल्यांकन