पार्टीभित्र अराजकता, गुटबन्दी हावी भयो : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन गरेरमात्र चुनाव जित्न नसकिने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले गठबन्धनको आश गरेर चुनाव जित्ने सोंच नराख्न पार्टीपंक्तिलाई आग्रह गरेका हुन्।

उनले भने, ‘गठबन्धनको आश गरेर चुनाव जितौला र खाउँला भन्ने दिमागबाट हटाइदिनुस्। आफ्नै खुट्टामा, आफ्नै तागतको बलमा चुनाव जित्छौं भन्ने आत्मविश्वासको साथ हामी अगाडि बढ्नुपर्छ।’ एमसीसीका कारण माओवादीलाई सिध्याउन खोजेको उनको भनाइ छ।

‘एमसीसीले पार्टी फुट्ने भन्दै खुसी भएका थिए। तर, हामी सँगै कार्यक्रममा हिडिरहेका छौं। त्यसैले अहिले दिमागबाट गठबन्धन हटाइदिनुस्, बरु जनतामाझ जाउँ, घाइते, वेपत्ता, शहीद परिवारमा जाऔं। अबको दुई महिना हरेक दिन जनतामाझ जाने संकल्प गरौं,’ उनले भने।

प्रचण्डले पार्टीभित्र अराजकता, गुटबन्दी हावी भएकोसमेत बताए। पार्टीभित्र वैचारिक अस्पष्टता बढ्दै गएको र अराजकता, गुटबन्दीका साथै पदलोलुपता बढ्दै गएको उनको भनाइ छ। युद्धको समयमा शहादत दिन जान पाइएन भनेर झगडा गर्नेको जमात हुने गरेको स्मरण गर्दै प्रचण्डले अहिले पद पाइएन भनेर रुने, कराउने र भाग्नेको जमात बढेको धारणा राखे।

त्यस्तै उनले नेता कार्यकर्तामा देखिएको अवसरवादी प्रवृत्तिलाई सच्चाउन जरुरी रहेको उल्लेख गरे। संगठनको स्थिति र नेता कार्यकर्ताको वैचारिक स्तर तथा आचरण हेर्दा दिनप्रतिदिन कम्युनिस्ट आन्दोलनबाट विचलनतर्फ गएको महसुस भएको प्रचण्डको भनाई थियो।